१०/१५ दिनपछि उद्योगमा बिजुली आपूर्तिमा समस्या हुँदैनः कुलमान घिसिङ



काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूलला उद्योगमा केही दिन बिजुली कटौती हुने भए पनि १० देखि १५ दिनभित्र समस्या समाधान हुने बताएका छन् ।

इन्डियन इनर्जी एक्सचेञ्ज (आईआइई)बाट पर्याप्त बिजुली पाउन नसक्दा ठूला उद्योगमा चौबीस घण्टा बिजुली दिन नसकिने घिसिङले बताए ।

हरेक दिन बेलुका ६ बजेभित्र कुनकुन ठूला उद्योगमा अर्को दिन बिजुली कटौती हुने हो भन्ने विषयमा जानकारी दिइने घिसिङको भनाइ छ ।

उद्योगीका अनुसार गत चैतदेखि ठूला उद्योगले नियमित बिजुली पाएका छैनन् ।

‘भारत सरकारसँग भएको सम्झौता अनुसार ढल्केवर र टनकपुरबाट बिजुली आएन । बिहार सरकारले पनि केही दिन बिजुली दिन नसक्ने भनेको छ,’ घिसिङले भने, ‘हामीले आईआईईबाट ५१० मेगावाट बिजुली किन्न बिडङ गरेका थियौं । तर मंगलबार हामीले ८० मेगावाट मात्रै बिजुली पायौं जसले गर्दा उद्योगमा बिजुलीको आपुर्तीमा समस्या हुने देखिएको छ ।’

नेपालमा हिउँ पग्लिने क्रम शुरु भएकाले बिद्युत अनियमित हुने समस्या धेरै लामो नजाने घिसिङले जानकारी दिए।

‘गत वर्ष हामीले ८०० मेगावाट आयात गर्नु परेको थियो घिसिङले भने, ‘तामाकोसी जलविद्युत आयोजना निर्माण भएकाले चालू आर्थिक वर्षमा ३०० मेगावाट बिजुली आपूर्ति भएको थियो ।’

हाल १८.५५ भारतीय रुपैयाँभन्दा महँगो मूल्यमा बिजुली खरिद नगरिएको घिसिङको भनाइ छ।

‘यो वर्ष पुसदेखि हामीले बिजुली आयात गर्न शुरु गरेका थियो । त्यसबखत औषतमा प्रतियुनिट ३.५३ भारतीय रुपैयाँ हाराहारीमा बिजुली खरिद गरेका थियौं,’ घिसिङले भने, ‘तर फागुनपछि भारतमा बिजुलीको माग बढ्नुको साथैं उत्पादन समेत घटेकाले चैतमा औषतमा खरिद मूल्य ४.५० रुपैयाँ पुग्यो । वैशाखमा झनै बढ्यो र १२ रुपैयाँसम्म खरिद मूल्य पुग्यो ।’

हालसम्म नेपालमा बिजुली आयात गर्दा औसतमा ५.२० खर्च गरिएको घिसिङको भनाइ छ ।

वैशाखमा महँगो मूल्यमा बिजुली खरिद गर्दा समेत औसत मूल्य बिहारसँग बिजुली खरिद गर्ने सम्झौताभन्दा औसत मूल्य बढी नहुने घिसिङको भनाइ छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा ४ रुपैयाँमा बिजुली बिक्री गर्दै ३८ रुपैयाँमा खरिद गरेको भन्दै आलोचना गरेपछि रक्षात्मक भएका घिसिङले ओलीको नाम नलिई महँगो मूल्यमा बिजुली खरिद गरिएको साँचो नभएको बताए ।

‘हामीले भारतमा बिजुली बिक्री गर्दा बजारमा बिजुलीको पर्याप्त सप्लाई थियो । त्यसैले हामीले बिजुली खेर फाल्नुभन्दा पनि बिक्रि गर्ने उद्देश्यले केही सस्तो मूल्यमा बिक्री गरेका हौं,’ घिसिङले भने ।

उनले ३९ मेगावाट बिजुली बिक्री गर्दा औसतमा प्रतियुनिट ३.५ रुपैयाँ पाएको बताए ।


क्लिकमान्डु