डाबरको कारोबार बाउन्स ब्याक, नेपालको कुल निर्यातमा ४.९% हिस्सा



काठमाडौं । कोभिड–१९ का कारण खस्किएको डाबर नेपाल प्रालिको कारोबार बाउन्स ब्याक भएको छ । सन् २०२० मा कोभिड–१९ ले गर्दा २२ प्रतिशतले घटेको कारोबार सन् २०२१ मा बाउन्स ब्याक भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२० मा कोभिडले गर्दा ८ अर्ब ९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०१८ मा १० अर्ब १ करोड र सन् २०१९ मा १० अर्ब २५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । त्यस्तै, कम्पनीको आम्दानीमा बाउन्स ब्याक हुँदा सन् २०२१ मा १० अर्ब ६९ करोड ५० लाख रुपैयाँ कारोबार गरेको छ ।

कम्पनीअनुसार सन् २०२१ मा २९ प्रतिशतले आम्दानी बढ्दा आम्दानीमा बाउन्स ब्याक भएको जनाएको छ । जसमा पहिलो चरणको कोरोना महामारीमा घरमा बढी उपभोग वस्तुको माग भएकाले राम्रो आम्दानी गर्न सफल भएको कम्पनीको भनाइ छ । सो अवधिमा बढी खानाको प्रकार, जुस, नन–फुडको प्रकार र हेल्थ र ओरल केयर क्षेत्रमा राम्रो सुधार गरेको हो ।

त्यस्तै, कम्पनीले सन् २०२२ को पहिलो अर्धवार्षिकमा ७ अर्ब बराबरको आम्दानी गर्ने अनुमान गरेको छ । अघिल्लो वर्षको भन्दा २२ प्रतिशतले कारोबार बढेको कम्पनीले जनाएको छ ।

डाबर इन्टरनेशल लिमिटेड अन्तर्गतको डाबर नेपालको सेयर ९७.५० प्रतिशत रहेको छ । डाबर भारत लिमिटेडको पूर्ण स्वामित्वमा रहेको डाबर इन्टरनेशनल सहायक कम्पनीको रुपमा रहेको छ । भारतको उपभोग्य वस्तुको सबैभन्दा अग्रणी स्थानमा रहेको डाबर कम्पनीले ३१ मार्च २०२१ (१२ महिनाको अवधि) मा ९५ अर्ब भारु बराबरको वस्तु बिक्री वितरण गरेको कम्पनीको भनाइ छ ।

१३६ वर्ष अनुभव र गुणस्तरीय उपभोग्य वस्तु उत्पादन गर्दै आएको डाबर एक आयुर्वेदिक वस्तु उत्पादनमा पहिलो स्थानमा रहेको छ । विश्वका सयभन्दा बढी देशमा आफ्नो बजार स्थापित भएको कम्पनीले २५० भन्दा बढी हर्बल÷आयुर्वेदिक वस्तु उत्पादन गर्दै आएको छ।
त्यसैगरी, ३० वर्षदेखि नेपालमा उत्पादन र व्यापार गर्दै आएको डाबरको नेपालभर ३ सय भन्दा बढी विक्रेता र १ लाखभन्दा बढी खुद्रा व्यवसाय रहेको छ ।

कम्पनीले १० अर्ब बढी आम्दानी गर्दा १४.३९ प्रतिशतले नाफा कमाएको छ । सन् २०२० मा ११.४० प्रतिशत मात्रै नाफा कमाएको थियो ।
डाबर कम्पनीले उपभोक्ताका लागि फलफूलको जुस, च्यावानप्रास, ग्लुकोज, टुथ पेस्ट, हेयर तेल र टाइजेस्टिभ वस्तु (हजमोला), मह आदि उत्पादन गरी विक्री वितरण गर्दै आएको छ । उक्त ब्रान्डका वस्तु स्थानीयदेखि विश्व बजारमा ब्रान्डको रुपम परिचित रहेको कम्पनीको दाबी छ ।

कम्पनीले ‘रियल’ ब्रान्डका जुससँगै करिब ४० वटा प्रकारका रियल, एक्टिभ र ब्रस्ट जुस पनि उत्पादन गर्दै आएको छ ।
व्यक्तिगत केयर क्षेत्रमा बाटिका ब्रान्डका वस्तु, स्वास्थ्य क्षेत्रमा डाबर ब्रान्डका डाइजेस्टिभ वस्तु हजमोला, चकलेट र ट्याबलेट उत्पादन गर्दै आएको छ ।

डाबर नेपालले आन्तरिक बजारमा मात्रै नभएर उल्लेख्य निर्यात गर्दै आएको छ । कम्पनीले वार्षिक ६ अर्बभन्दा बढी रकम बराबरको निर्यात गर्दै आएको छ ।

नेपालको वैदेशिक व्यापारमा ठूलो योगदान रहेको डाबर नेपाल एक प्रमुख निर्यातकर्ता रुपमा रहेको छ । सन् २०२१ मा डाबरको मात्रै ६ अर्ब ८५ करोड २० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । जुन नेपालले सन् २०२० मा निर्यात गरेको वस्तुको ४.९ प्रतिशत हिस्सा हो ।

कम्पनीका अनुसार सन् २०२१ मा ३१ प्रतिशतले आफ्नो निर्यात बढेको जनाएको छ । डाबर नेपालले सन् २०२१ मा मात्रै ६० प्रतिशत निर्यातबाट आम्दानी गरेको उल्लेख गरेको छ ।

कम्पनीको खानाको प्रकारबाट ७० प्रशितत आम्दानी भएको छ भने बाँकी व्यक्तिगत केयर, हेल्थ केयर, डाइजेस्टिभबाट आम्दानी गरेको छ । कम्पनीले मुख्य जुस र डाइजेस्टिभ वस्तु निर्यात गर्दै आएको छ ।

त्यस्तै, रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ६ अर्ब ६० करोड रुपैयाँ अल्पकालिन कर्जाका लागि रेटिङगरेको छ । जसमा केयर रेटिङले, एवान प्लस रेटिङ दिएको छ ।


क्लिकमान्डु