८ महिनामा वाणिज्य बैंकले कमाए ४७ अर्ब नाफा, गत वर्षभन्दा साढे १२ प्रतिशतबढी



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकले ४६ अर्ब ८६ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा १२.४१ प्रतिशत बढी हो । गत आवको फागुनसम्ममा वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब ६८ करोड ९० लाख रुपैयाँ थियो ।

चालु आवको शुरुदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)को अभाव कायमै छ । तरलता अभावका कारण बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा पनि बैंकहरुको नाफा भने बढेको छ ।

तरलता अभावका कारण बैंकहरुले दीर्घकालिन कर्जा प्रवाह न्यून गरेको भएपनि तत्कालै प्रतिफल दिने खालका कर्जा लगानी गरेका कारण नाफा बढेको बैंकर्सहरुको तर्क छ ।

बैंकमा तरलता अभाव अहिले तत्कालै देखिएको समस्या होइन । यो समस्या चालु आवको शुरुदेखि नै देखिन थालेको थियो । जुन अहिले पनि कायमै छ । तै पनि बैंकहरुको नाफा भने घटेको छैन । कोरोना महामारी न्यून भएपछि तरलताको अभावमा पनि बैंकको नाफा बढ्न ब्याजदरले सहयोग पुगेको बैंकर्सहरुको भनाइ छ । बैंकको ब्याजदर पुस यता निकै बढेको छ ।त्यसको असर नाफामा देखिएको हो ।

यस अवधिा सबैभन्दा बढी नाफा कमाउने बैंकमा ग्लोबल आइएमई छ । बैंकले ३ अर्ब ४६ करोड २४ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै धेरै नाफा कमाउने बैंकको दोस्रो र तेस्रो क्रमशः एनआईसी एशिया बैंंक र नलिब बैंक रहेका छन् । एनआईसी एशिया बैंकको नाफा ३ अर्ब २९ करोड ५४ लाख ६० हजार रुपैयाँ र नबिल बैंकको नाफा ३ अर्ब ४ करोड १८ लाख ४० हजार रुपैयाँ छ ।

यस अवधिमा ३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने यी तीन वटा बैंक मात्रै हुन् । बाँकी बैंकको नाफा यसभन्दा कम छ ।

२ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउनेमा ६ वटा बैंक छन् भने १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने १६ वटा बैंक छन् । बाँकी २ वटा बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा कम छ ।

१ अर्ब रुपैयाँभन्दा कम नाफा कमाउने बैंकमा सेञ्चुरी कमर्शिलय बैंक र सिभिल बैंक छन् । सेञ्चुरीले ९२ करोड ६७ लाख ४० हजार रुपैयाँ कमाउँदा सिभिल बैंकले ७३ करोड ६१ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ ।


क्लिकमान्डु