शतप्रतिशत मार्जिनले केराको मूल्य उच्च, दर्जनकै २ सय रुपैयाँ



काठमाडौं । सरकारले उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएपछि विभिन्न चरणमा ४७ वटा वस्तुको आयातमा कडाइ गरेको छ ।

सरकारले ४३ वटा वस्तुको आयातमा शतप्रतिशत प्रतितपत्र (एलसी) र ४ वटा वस्तुको आयातमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरी कडाइ गरेको हो । तर, उक्त वस्तुको आयातमा कडाइ गरे पनि मासिक रुपमा आयात हुने वस्तुमा भने खासै कमी देखिएको छैन ।

सरकारले कडाइ गर्ने नीतिले मासिक रुपमा आयातित वस्तुको कमी नआएपछि ४७ वटै वस्तुमा एलसी रोक्न राष्ट्र बैंकले बैंकर्स संघलाई निर्देशन दिएको थियो ।

राष्ट्र बंकले निर्देशन दिएसँगै गत चैत २१ गते बैंकर्स संघले एलसी रोकेको छ । जसले गर्दा आगामी दिनमा उक्त आयातित हुँदै आएको वस्तुमा प्रभाव देखिने सबैले अनुमान गरेको छ ।

सरकारले एलसी लागू गरेको ४७ वस्तुमध्ये दोस्रो चरणमा एलसी लागू भएको वस्तु हो केरा । केरामा शतप्रतिशत मार्जिन लागू हुँदा अहिले प्रत्यक्ष असर देखिएको छ ।

एलसीमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले विस्तारै असर देखिन थालेको अवस्थामा सरकारले थप एलसी रोक्ने निर्देशनले केरा आयातमा थप समस्या निम्तिएको व्यवसायीहरूले बताएका छन् ।

एलसी नखोल्ने निर्णय गरेको दिन मात्रै कालीमाटी फलफूल तथा तरकारी विकास समितिले औसतमा प्रतिदर्जन केराको मूल्य ११० रुपैयाँ तोकेको थियो ।

जसमा चैत २१ गते अधिकतम मूल्य १२० रुपैयाँ तोकेको थियो । तर, सरकारले एलसी रोक्ने निर्णय गरेसँगै करिब दुई हप्ताको अन्तरालमा दर्जनमै ४० देखि ५० रुपैयाँ बढेको छ

हाल बजारमा दैनिक रुपमा कालीमाटीले तोकेको मूल्यअनुसार प्रतिदर्जन अधिकतम मूल्य १५० रुपैयाँ र १६० रुपैयाँ तोकेको छ ।

कालीमाटीले आइतबार केराको औसतमा प्रतिदर्जन १४५ रुपैयाँ तोकेको छ । जसमा अधिकतम मूल्य भने प्रतिदर्जन १५० रुपैयाँ तोकेको छ ।

गत वर्षको सोही अवधिमा कालीमाटीले अधिकतम मूल्य १२० रुपैयाँ तोकेको थियो । तर, अहिले सरकारले आयातमा कडाइ गर्ने नीतिले उपभोक्ताले महंगोमा केरा किन्न बाध्य भएका छन् ।

राष्ट्र बैंकले उच्च आयात भएको भन्दै ४७ वटा वस्तुको आयातमा बैंकर्स संघलाई एलसी नखोल्न निर्देशन दिएको थियो । सोहीअनुसार बैंकर्स संघले एलसी नखोल्ने निर्णय गरेको थियो ।

निर्णय गरेको एकदिन नबित्दै केराको मूल्य प्रतिदर्जन १० रुपैयाँ बढेको थियो । जसमा चैत २१ गते औसतमा ११५ रुपैयाँ तोकेकोमा २२ गते प्रतिदर्जन १२५ रुपैयाँ तोकेको थियो । जसमा अधिकतम मूल्य १२० रहेकोमा चैत २२ गते १३० पुगेको थियो ।

त्यसैगरी, चैत २३ र २४ गते कालीमाटीले केराको प्रतिदर्जन अधिकतम मूल्य १४० रुपैयाँ, २५ गते २१० रुपैयाँ, २६ गते ११० रुपैयाँ, २७, २८ र २९ गते १२० रुपैयाँ, ३० गते १६० रुपैयाँ तोकेको थियो । त्यस्तै, वैशाख १ गते १५० रुपैयाँ, २ गते १६० रुपैयाँ ३ गते र ४ गते १५० रुपैयाँ मूल्य तोकेको छ ।

कालीमाटी बजारले नै उक्त मूल्य तोकेकोले खुद्रा बजारमा भने प्रतिदर्जन नै करिब २ सय रुपैयाँमा बिक्री भइरहेको छ । हाल सामान्यतया खुद्रा बजारमा १८० रुपैयाँदेखि १९० को हाराहारीमा केरा बिक्री भइरहेको खुद्रा व्यवसायीहरूले बताएका छन् ।

सरकारले एलसी रोक्न निर्देशन दिएसँगै चैत २१ गतेबाट निरन्तर केराको मूल्यमा उकालो लागेको देखिन्छ । साथै, पछिल्लो समय कायम भएको केराको मूल्य हालसम्मकै उच्च रहेको कुलेश्वर फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँ बताउँछन् ।

उनकाअनुसार सरकारले एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले खासै असर पारेको थिएन । तर, थप यसमा मार्जिन नखोल्न निर्देशन दिएसँगै आयात गर्न नसक्दा मूल्य ह्वात्तै बढेको हो ।

‘सरकारले एलसी खोलेर मात्रै आयात गर्न पाइने व्यवस्थाले गर्दा समस्या आयो,’ उनले भने, ‘एलसी खोल्न नसक्दा बोर्डरबाट सहजै गाडीहरू भित्रिन सकेन । उक्त आयात सहज नहुँदा बजारमा केराको मूल्य बढ्न गएको हो ।’

बजारमा धेरै रकम भएकाहरूले केरा आयात गर्न सक्यो । तर, साना व्यवसायीहरूले भने आयात गर्न नसकेको उनले बताए ।
त्यसैले, बजारमा सहज तरिकाले केरा आपूर्ति हुन नसक्दा पनि मूल्य बढ्ने एउटा कारण रहेको उनले उल्लेख गरे ।

नेपालको उत्पादनको अवस्था निकै कमजोर भएकाले आयातित केराको मूल्य निकै बढ्ने उनले जिकिर गरे ।
‘हामी उत्पादन, ग्रेडिङ तथा प्याकेजिङमा पनि निकै कमजोर छौं,’ उनले भने ।

नेपालमा उत्पादन भएको केरा आगामी असारदेखि कात्तिकसम्म पर्याप्त मात्रामा आउँछ । त्यसपश्चात मंसिरदेखि जेठसम्म आयात हुने गरेको उनले जानकारी दिए ।

‘असारदेखि कात्तिकसम्ममा पर्याप्त नेपाली केरा उत्पादन हुने सो समयमा भारतबाट निकै कम केरा आयात हुन्छ,’ उनले क्लिकमाण्डूसँग भने ।

अहिले नेपाली व्यवसायीहरूले केरा ल्याउनुपर्यो भने बजारसम्म पुग्नका लागि करिब एक हप्ता समय लाग्छ । व्यवसायीहरूले केमिकलरहित केरा उत्पादन गर्ने भएकाले पनि महंगो हुन पुगेको उनको भनाइ छ ।

अहिले सरकारले केरामा लागू गरेको एलसी खुल्ला गरेमा आगामी २ हप्ताभित्रमा केराको मूल्य घट्ने उनको दाबी छ ।
नेपालमा वार्षिक १६ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ भने ६ हजार मेट्रिक टन केरा आयात गर्नुपर्ने हुन्छ ।

त्यस्तै, नेपालले चालु आथिक वर्षको ८ महिनाको अवधिमा १ अर्ब १६ करोड १९ लाख रुपैयाँ बराबरको ३ करोड ८३ लाख ३५ हजार ८ सय केजी केरा आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।


क्लिकमान्डु