८ महिनामै ५ लाख ७८ हजार ७५३ फुटबल आयात, खरिद मूल्य ९९ रुपैयाँमात्रै !



काठमाडौं । बजारमा सामान्य गुणस्तरको फुटबल खरिद गर्दा पनि ५ सय रुपैयाँ पर्छ । ब्राण्डेड फुटबलको मूल्य त झन् तीन/चार हजार रुपैयाँ पर्न जान्छ ।

तर, भन्सार विभागको तथ्यांकअनुसार नेपालमा एउटा फुटबल ९९ रुपैयाँ खरिद लागत देखाएर भित्रिने गर्छ ।

चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा ५ लाख ७८ हजार ७५३ गोलो आकारमा बल आयात भएका छन् । गोलो आकारमा ठुलो बलमा फुटबल, भलिबल र बास्केटबल पर्ने भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार गोलो आकारको बललाई एउटै समुहमा राख्ने गरिन्छ ।

विभागको तथ्यांक अनुसार यो वर्ष गोलो आकारको बल आयात गर्न ५ करोड ७९ लाख ३९ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सरकारले बल आयातबाट १ करोड ४३ लाख रुपैयाँ राजस्वसमेत असूल गरेको छ ।

भन्सार विभागमा खरिद मूल्य ९९ रुपैयाँमात्रै देखाएर आयात हुने बलको मूल्य बजारमा भने धेरै हुने गर्छ ।

भन्सार विभागका अधिकारी आन्तरिक राजस्व विभाग र वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन नगर्दा खरिद मूल्य भन्दा उच्च दरमा विभिन्न बस्तु बजारमा बिक्री भइरहेको बताउँछन् ।

‘हामीले खरिद बिलबिजकका आधारमा भन्सार लिने गर्छौं । राजस्व छलि गर्न खरिद मूल्य घटाएको पनि हुन सक्छ,’ भन्सार विभागका अधिकारी भन्छन्, ‘तर हामीले खरिद मुल्य पुष्टी गर्न नसक्दा व्यवसायीले भनेको मूल्यमा भन्सार लिने गर्छाैं । बजार अनुगमनको जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागले बजार अनुगमन नगर्दा व्यवसायीले मनलाग्दो मुल्यमा सामान बिक्री गरेका छन् ।’

नेपालमा कानून अनुसार कुनै पनि व्यवसायमा २० प्रतिशतभन्दा बढी मुनाफा दिन पाइँदैन । जसले गर्दा व्यवसायीले कुनै पनि सामान बिक्री गर्दा बिल दिन मान्दैनन् । न्यूरोडमा फेन्सी पसल सञ्चालन गर्ने एक व्यवसायीका अनुसार भन्सार छली गर्न खरिद मुल्य घटाउने प्रचलन निकै सामान्य भएको बताउँछन् ।

‘सरकारी निकायले बजार अनुगमन गर्दै व्यवसायीले सामान बिक्री गर्दा बिल काटे/नकाटेको हेर्ने मात्रै हो भने कर छली गर्ने व्यक्ती कानूनी दायरामा हुने आउने थिए’ ती व्यवसायी भन्छन्, ‘तर, सरकारी निकायले नामको मात्रै बजार अनुगमन गर्छन् । जसले गर्दा भन्सारमा मूल्य घटाउने र बजारमा उच्च मूल्यमा सामान बिक्री गर्ने विकृत्ति बढ्दो छ ।’

आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य विभागका कार्यालयले नियमित बजार अनुगमन गर्ने गरेको दाबी गर्छन् ।

‘भन्सार विभाग र हामीले संयुक्त बजार अनुगमन समेत गर्ने तयारी गरेका छौँ,’ शाक्य भन्छन्, ‘नियमित अनुगमन र अनुसन्धान हुँदा समेत केही ठाउँमा दृश्यसमेत नपुगेको हुनसक्छ । हामी सुधार गर्ने प्रयास गर्नेछौं ।’

यदि शाक्यले भने जसरी विभागका कार्यालयले नियमित बजार अनुगमन गर्ने भए सस्तो मुल्यमा फुटबल ल्याएर विक्री गर्दा व्यवसायी काराबाहीको दायरामा आउने थिए ।

आयकर ऐन अनुसार कुनै पनि व्यवसायीले बिक्री मूल्यको १३ प्रतिशत मुल्य अभिबृद्धि कर तिर्नु पर्छ । त्यसरी बिक्री मुल्यमा कर तिर्दा आफुले खरिद गर्दा तिरेको कर भने व्यवसायीले घटाउन पाउँछन् ।

व्यवसायीले फुटबल आयात गर्दा ९९ रुपैयाँमात्रै १३ प्रतिशत कर तिर्ने गर्छ्न् । बजारमा एक दुई हजारमा फुटबल बिक्री गरिए पनि मूल्य अभिबृद्धि बिजक जारी गर्दा भने बिक्री मुल्य खरिद मूल्यमा ५ देखि ७ प्रतिशत देखाउने गरिन्छ ।

फुटबलमात्रै नभई प्राय खेलकुदका सामानहरु आयात गर्दा निकै कम मूल्य देखाउने र बिक्री गर्दा चर्काे मुल्य लिइने गर्छ । तर, सरकारी अधिकारीको असक्षमता र मिलमेतोले बार्षिक करोडौँ राजस्व छलि भइरहेको छ ।


क्लिकमान्डु