श्रीमतिसँग १० हजार ऋण लिएर व्यवसाय शुरु गरेका नारायण मूर्तीले इन्फोसिसलाई बनाए ८० खर्बको कम्पनी



सफलताको उच्चतम विन्दुबाट फ्ल्यास ब्याकमा शुरुवाती दिन सम्झँदै गर्दा नारायण मूर्ती यति ठूलो कम्पनी बन्छ भनेर सायदै कल्पना गरेका थिए ।

चार दशकभन्दा अघि श्रीमतिसँग १० हजार भारु ऋण लिएर इन्फोसिस नामक कम्पनी शुरु गरेका मूर्ती र उनका अन्य ६ जना इञ्जिनियर साथीहरुको कम्पनीमा आज ३ लाखभन्दा बढीले काम गर्छन् ।

इन्फोसिसमा हरेक वर्ष २० लाखभन्दा बढी जब एप्लिकेशन आउँछन् । जुन भारतका ९५ प्रतिशत सहरमा भएको जनसंख्याभन्दा बढी हो ।

इन्फोसिसलाई नारायण मूर्ती तथा उनका साथीहरु नन्दन निलेकणि, एसडी शिबुलाल, क्रिस गोपालकृष्णन, अशोक अरोडा, एनएस राघवन र दिनेशले शुरु गरेका थिए । यी सबै तत्कालीन समयमा पाटनी कम्प्युटर सिस्टमका कर्मचारीहरु थिए । जागिरबाट राजीनामा दिएर उनीहरुले इन्फोसिस शुरु गर्ने निर्णय गरेका थिए ।

मूर्तीले सन् १९८१ मा कम्पनी शुरु गर्ने निर्णय गरेका थिए । तर उनीसँग त्यसका लागि पर्याप्त पुँजी थिएन । यस्तो अवस्थामा श्रीमतीको बचतमा भएको १० हजार भारु ऋण लिएर कम्पनी शुरुवात गरेका थिए । उनले भारतको पुणेमा कम्पनी शुरु गरे । र, नाम राखे इन्फोसिस कन्स्लटेन्ट । शुरुवातमा कम्पनी नारायण मूर्तीको घरकौ एउटा कोठामा राखिएको थियो ।

कम्पनी शुरुवात गरे पनि नारायण मूर्ती भने कम्पनीका चौथो कर्मचारी हुन् । कम्पनी स्थापना भएको एक वर्षसम्म उनी पाटनी कम्प्युटर्स सिस्टममै काम गरिरहेका थिए । फुसर्दको समयमा उनले इन्फोसिसमा काम गर्दै आएका थिए ।

आइटी कम्पनी भए पनि उनीहरुसँग २ वर्षसम्म कम्प्युटर पनि थिएन । बीचमा एक समय कम्पनी बन्द हुने अवस्थामा समेत पुगेको थियो ।

कम्पनीले सन् १९९३ मा आइपीओ निष्कासन गरेको थियो । तत्कालीन समयमा १० हजार रुपैयाँको आइपीओ आजका दिनमा १८ करोड रुपैयाँ पुगेको छ । तत्कालीन समयमा कम्पनीको आइपीओ १३ प्रतिशत कम सब्स्क्राइब भएको थियो । शुरुवाती दिनमा कम्पनीको एक कित्ता सेयरको मूल्य ९५ रुपैयाँ भारु थियो ।

आज कम्पनीमा करिब ३ लाख कर्मचारी छन् । करिब १ लाख करोड भारु वार्षिक आम्दानी छ । ८ लाख करोड भारु बजार पुँजीकरण छ । इन्फोसिस आजका दिनमा भारतको दोस्रो ठूलो आइटी कम्पनी बनेको छ ।


क्लिकमान्डु