बीमा कम्पनीहरू मर्जरमा गए पनि पुँजी वृद्धि गर्नुपर्छः अध्यक्ष सिलवाल



काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको निर्णय बमोजिम बीमा कम्पनीहरूले स्वस्फूर्त रूपमा मर्जरमा गएर भए पनि चुक्ता पुँजी वृद्धि गर्नुपर्ने बताएका छन् ।

बीमा समितिमा आयोजित बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले बीमकको जोखिम क्षमता वृद्धि गर्न पुँजी वृद्धिको निर्णय गरेको बताउँदै कम्पनीहरूले स्वस्फूर्त रूपमा मर्जरमा गएर भएपनि चुक्ता पुँजी वृद्धि गर्नुपर्ने बताए ।

अध्यक्ष सिलवालले पुँजी वृद्धि गर्न नसके एक वर्षपछि फोर्स मर्जरमा जानुपर्ने अवस्था आउन सक्ने बताए ।

‘बीमा कम्पनीको सङ्ख्या घटाउन, पुँजी वृद्धि गर्न, बीमकको जोखिम धारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरिएको हो,’ उनले भने बीमा कम्पनीहरूले स्वस्फूर्त रूपमा मर्जरमा गएर भएपनि चुक्ता पुँजी वृद्धि गर्नुपर्छ ।’

कम्पनीले पुँजी वृद्धि गर्न नसके एक वर्षपछि फोर्स मर्जरमा जानुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

‘बीमा कम्पनीहरूसँग ३० दिनभित्र पुँजी वृद्धिको योजना मागेका छौं । पुँजी वृद्धि गर्नुपर्छ । पुँजी वृद्धि गर्न नसके मर्जरमा जानुपर्छ,’ अध्यक्ष सिलवाले भने, ‘यसमा आवश्यक सहजीकरण एवम् सहयोग गर्न समिति तयार छ । कम्पनीले पुँजी वृद्धि गर्न नसके एक वर्षपछि फोर्स मर्जरमा जानुपर्ने अवस्था आउनसक्छ।’

बीमा व्यवसायलाई स्थापित रूपमा अगाडि बढाउनका लागि राष्ट्रिय बीमा नीति ल्याउन समितिले पहल गरिरहेको उल्लेख गरे ।

राष्ट्रिय बीमा नीति आएपछि प्रदेश र स्थानीय तहमा पनि बीमा नीति बन्ने र दीर्घकालीन योजनाका साथ बीमा व्यवसाय सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष सिलवालले विभिन्न जिल्लामा रहेका बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ता लगायतलाई तालिम दिनका लागि सातवटै प्रदेशमा तालिम संचालन गर्न इन्सुरेन्स इन्ष्टिच्युट नेपाललाई निर्देशन दिइएको जानकारी समेत दिए ।

बीमाप्रतिको विश्वास बढाउन, सरेण्डरको अवस्था आउन नदिन र बीमा व्यवसायलाई सफल बनाउन सबै लाग्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच बढाउनका लागि बीमा समितिले प्रादेशिस्तरमा शाखा कार्यालय स्थापना गर्न लागेको उल्लेख गरे ।

समितिको प्रयासबाट बीमा क्षेत्रमा सुशासनमा केही सुधार भएको, बीमाको दायरा सरकारले लिएको लक्ष्यभन्दा पनि बढेको र विभिन्न प्रदेशहरूमा बीमाको फोकल पर्सन तोक्ने कार्य समेत भएको जानकारी दिए ।

कार्यक्रममा बीमक सङ्घका अध्यक्ष, जीवन बीमक सङ्घका अध्यक्ष, बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू र बीमा समितिका कर्मचारीहरूको सहभागिता रहेको थियो ।


क्लिकमान्डु