तरलता अभावले जीवन बीमा कम्पनीको नयाँ व्यवसाय प्रभावित, ७% ले घटेर २५ अर्बमा सीमित



काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको प्रभाव बीमा व्यवसायमा पनि परेको छ । तरलता अभावका कारण देशको समग्र अर्थतन्त्रमा समस्या पर्दै गर्दा बीमा व्यवसायमा पनि यसको असर देखिन थालेको हो ।

बजारमा भइरहेको तरलता अभावका कारण बीमा कम्पनीहरुको नयाँ व्यवसाय प्रभावित भएको छ ।

बीमा कम्पनीहरूको आम्दानी नयाँ व्यवसाय र नवीकरणबाट हुन्छ । अहिले भइरहेको तरलता अभावको कारण बीमा कम्पनीहरूको नयाँ व्यवसायमा प्रभाव पारेको छ । तर, नवीकरण व्यवसायमा भने यसको असर देखिएको छैन ।

जीवन बीमा कम्पनीहरूले पोलिसी बिक्री गरेको शुरूवातको किस्ता वापत प्राप्त हुने रकम प्रथम बीमाशुल्क हो भने बीमा कम्पनीहरूले दोस्रो वा सोभन्दापछि संकलन गर्ने बीमाशुल्क नवीकरण बीमाशुल्क बीमाशुल्क हो ।

चालु आवको ८ महिनाको अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले ९२ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा कम्पनीहरूले २५ अर्ब ९१ करोड ४२ लाख रुपैयाँको मात्रै नयाँ व्यवसाय गरेका छन् । जुन गत आवको यसै अवधिको तुलनामा ७.७५ प्रतिशतले कमी हो । गत आवको यसै अवधिमा कम्पनीहरूले २८ अर्ब ९ करोड रूपैयाँको नयाँ व्यवसाय गरेका थिए ।

यस्तै, फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरूले नवीकरणीय बीमाशुल्कबाट ६६ अर्ब २८ करोड ९६ लाख रूपैयाँ रकम संकलन गरेका छन् ।

गत आवको फागुन महिनासम्ममा जीवन बीमा कम्पनीरूले कुल ८२ करोड २० लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए । चालु आवको फागुन महिनासम्ममा आइपुग्दा जीवन बीमा कम्पनीहरूमा सो रकम बढेर ९२ अर्ब २० करोड ३९ लाख रूपैयाँ पुगेको छ ।

गत आवको तुलनामा जीवन बीमा कम्पनीरूको कुल बीमाशुल्क १२.१० प्रतिशतले बढेको छ । तर, जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क बढे पनि नयाँ व्यवसाय भने घटेको हो ।

तरलताको अभावले गर्दा जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसायमा असर पुर्याएको बीमकहरूको भनाइ छ । तरलता अभावकै कारणले जीवन बीमा कम्पनी बीमा कम्पनीरूको नयाँ व्यवसाय खुम्चिएको उनीहरूको तर्क छ ।

जीवन बीमक संघका अध्यक्ष निर्मल काजी श्रेष्ठ तरलता अभावले देशको समग्र अर्थतन्त्रलाई असर पार्दा बीमा क्षेत्रमा पनि त्यसको प्रभाव परेको बताउँछन् ।

‘अहिले तरलता अभावका कारण सबै क्षेत्रमा प्रभाव पारेको छ । देशको समग्र अर्थतन्त्रमा तरलता अभावको असर पर्दा बीमा क्षेत्रमा पनि यसको असर देखिएको हो,’ क्लिकमाण्डूसँग श्रेष्ठले भने ।

बैकिङ प्रणालीमा बढ्दै गएको तरलता अभावको असर नयाँ व्ययवसायमा परेको उनले बताए ।

समितिबाट उपलब्ध तथ्यांक अनुसार गत आवको तुलनामा अधिकांश बीमा कम्पनीको प्रथम बीमाशुल्क घटेको छ । यस अवधिमा १० वटा जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क घटेको हो ।

नेपाल लाइफ, एलआइसी, एशियन लाइफ, गुराँस लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, यूनियन लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफको प्रथम बीमाशुल्क घटेको हो ।

समितिको तथ्यांकअनुसार यस अवधिमा सन नेपाल लाइफको प्रथम बीमाशुल्क धेरै प्रतिशतले बढ्दा सबैभन्दा धेरै प्रतिशतले घट्ने कम्पनीमा गुराँस लाइफ छ ।

जीवन बीमा कम्पनीतर्फ सन नेपाल लाइफसँगै सिटिजन लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ र आईएमई लाइफको प्रथम बीमाशुल्क संकलन बढेको छ ।

यस्तै, पूराना जीवन बीमा कम्पनीतर्फ भने नेशनल लाइफ, मेट लाइफ, राष्ट्रिय बीमा संस्थानको मात्रै प्रथम बीमाशुल्क बढेको छ ।
चालु आवको माघ मसान्तसम्ममा सन नेपाल लाइफको प्रथम बीमाशुल्क १७७.९२ प्रतिशतले बढेर एक अर्ब ६६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा सन नेपाल लाइफले प्रथम बीमाशुल्कबाट ५५ करोड रुपैयाँ संकलन गरेको थियो ।

फागुन महिनासम्मको अवधिमा गुराँस लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क ६२.१५ प्रतिशतले घटेर ४५ करोड ४१ लाखमा सीमित भएको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले प्रथम बीमाशुल्कबाट एक अर्ब २० करोड रुपैयाँ संकलन गरेको थियो ।

यस्तै, गुराँस लाइफपछि धेरै प्रतिशतले प्रथम बीमाशुल्क घट्ने कम्पनीमा यूनियन लाइफ परेको छ ।

यूनियनको लाइफको प्रथम बीमाशुल्कमा ३२.१४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले यस अवधिसम्ममा प्रथम बीमाशुल्क संकलनबाट एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले प्रथम बीमाशुल्कबाट दुई अर्ब ३५ करोड रुपैयाँ संकलन गरेको थियो ।

यस अवधिमा एशियन लाइफको प्रथम बीमाशुल्क संकलन रकम १०.१८ प्रतिशत, सूर्या लाइफको १७.६१ प्रतिशत, प्राइम लाइफको ९.२९ प्रतिशत, ज्योति लाइफको ७.१५ प्रतिशत, रिलायन्स लाइफको २८.८७ प्रतिशत र सानिमा लाइफको ८.६२ प्रतिशतले घटेको छ ।

यस्तै, नेपाल लाइफको प्रथम बीमाशुल्क संकलन रकम २७.८७ प्रतिशतले घटेर ४ अर्ब ३८ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले प्रथम बीमाशुल्कबाट ६ अर्ब ८ करोड रुपैयाँ संकलन गरेको थियो ।


क्लिकमान्डु