सूर्य टोबाको, प्राधिकरण, सिमेण्ट र स्टील उद्योगलाई सेयर बजारमा भित्र्याउछौं



कोभिड महामारी सुरु भएयताको छोटो अवधिमै सेयर बजारको आकार निकै फराकिलो भइसकेको छ । यसमा जोडिने मान्छेको संख्या असामान्य रुपमा बढेको छ । प्रविधिको प्रयोग बढेको छ । डिजिटलाइजेशन पनि बढेको छ । यसलाई अझै धेरै मान्छेको पहूँचमा पुर्याउनु छ ।

संस्थागत क्षमता बढाएर स्वायत्ततालाई अझै फराकिलो पार्नु छ । यसका लागि भौतिक पुर्वाधार बढाउने, नियामकीय सामथ्र्य बढाउने, सूचना र सञ्चारको क्षमता विस्तार गर्ने र अन्त्यमा बजारलाई नियन्त्रण र सन्तुलनमा राख्नसक्ने गरी सुपरिवेक्षण क्षमता विकास गर्नु आवश्यक छ ।

उत्पादनमुलक क्षेत्रका कम्पनीहरुलाई सेयर बजारमा भित्र्याउनु हाम्रो चूनौति र अवसर दुवै हो । वास्तविक क्षेत्रका कम्पनीहरु सूचीकृत नभएसम्म धितोपत्र बजारले मुलुकको अर्थतन्त्रलाई राम्रोसँग चित्रित गर्न सक्दैन । रियल सेक्टरका कम्पनीहरु सूचीकृत भइसकेपछि सरकारको राजस्व पनि बढ्छ ।

सरकारलाई आफ्नो बजेट अनुमान गर्न पनि सजिलो हुन्छ । रोजगारी पनि केही हदसम्म बढ्छ । मुख्य कुरा दोस्रो बजारका लगानीकर्ताको जोखिम कम हुन्छ । अहिले हाम्रो सेयर बजारमा बैंक र बीमा कम्पनीको मात्रै बढी हिस्सेदारी छ । यसलाई वास्तविक क्षेत्रका कम्पनी बढाएर बजारको विविधिकरण गर्न सकिन्छ । उत्पादनमुलक उद्योग, पर्यटन र सेवा क्षेत्रका थुप्रै कम्पनीलाई हामीले सेयर बजारमा भित्र्याउनु आवश्यक छ ।

संसारमा धेरै प्रविधिको विकास पहिलो र दोस्रो विश्वयुद्धपछि भएका छन् । आवश्यकता र चूनौतिले नै नयाँ अवसर दिन्छ र नवप्रवर्तन गराउँछ । नयाँ आविष्कारहरु गराउँछ । हाम्रा लागि पनि अहिले देखिएका चूनौतिहरु नयाँ अवसरका ढोका हुनसक्छन् । नेपाली बजारमा गर्नुपर्ने अर्को काम कमोडिटि बजारको विकास हो । यसका लागि नियमावलीहरु बनाउनु पर्ने छ । तीन वटा नियमावली मन्त्रिपरिषदबाट पारित भएपछि हामी कमोडिटी बजारलाई नियमन गर्ने अवस्थामा पुग्छाैं । अहिले नेपालमा कमोडिटिज मार्केट नियमन बेगर नै चलिरहेको छ भन्ने बुझिन्छ । अब उनीहरुलाई नियमनको दायरामा ल्याउनु पर्छ ।

अहिलेजस्तो सामाजिक सञ्जालमा हल्ला गरेर, क्लबहाउसमा छलफल गरेर भोलि बजार घट्छ की बढ्छ भन्ने अवस्था आउनु हुँदैन । हल्लाले बजारलाई दपेट्नु, भेट्नु भएन । उनीहरुलाई सरकारले कडाइ गर्न आवश्यक हुन्छ

मानिसहरुसँग छरिएर रहेको पूँजीलाई एकत्रित गरेर नयाँ पूँजी निर्माणमा लगानी गर्न धितोपत्र बजारको ठूलो योगदान रहन्छ । त्यसकारण घरघरमा भएको बचतलाई ल्याएर उद्योगहरुलाई चलाउन दिने, अर्थतन्त्रलाई चलायमान बनाउने काम पूँजीबजारको हो । यो हुनका लागि पूँजी बजारमा रियल सेक्टरका कम्पनीको सहभागिता बढ्नुपर्छ ।

रियल सेक्टरका कम्पनीको भार बढ्न थालेपछि बजारले स्थायित्व हासिल गर्छ । लगानीकर्तालाई पनि लगानी बढाउने भरोसा बढ्छ । पूँजी निर्माणमा जनसहभागिता बढ्छ र रोजगारी एवम् उत्पादनमा पनि वृद्धि हुन्छ । यसले लगानीका क्षेत्रहरु विस्तारित हुन्छन् । जसका कारण सरकारी ढुकुटीमा जम्मा हुने राजस्व बढ्छ । त्यसबाट पुनःलगानी हुन्छ र नयाँ पूँजी संकलन हुन्छ । यसरी नै चक्रिय प्रणालीबाट अर्थतन्त्रको विस्तार छिटो हुन्छ ।

पूँजी बजारका नयाँ उपकरणहरुको खोजी गर्ने र भित्र्याउने पनि गर्नुपर्छ । यो काम रातारात हुँदैन । यसका लागि पनि केही अध्ययनहरु अघि बढाइएको छ । बजारको जोखिम घटाउने (रिस्क हेजिङ) प्रयोजनका लागि नेपालको माटो सुहाउँदा योजनाहरु अघि सार्नुपर्छ । सेयर बजारबाहेक फ्युचर्स अप्सनहरुले अहिलेको केन्द्रिकृत सेयर बजारको जोखिम घटाउन मद्दत गर्ने छन् । बजारमा नयाँ उपकरणहरु ल्याउने, त्यसमार्फत् बजार जोखिम घटाउने, नियामकीय सुधार गर्नेजस्ता काम गर्न केही समय लाग्छ । तर यसले हाम्रो बजारलाई दिगो, व्यवस्थित र न्यून जोखिमयुक्त हुन्छन् । यसका लागि प्रभावकारी वित्तीय साक्षरता चाही आवश्यक छ ।

सूर्य टोबाको, नेपाल विद्युत् प्राधिकरण, ठूला सिमेण्ट र जगदम्बा, हिमाल स्टीलजस्ता ठूला स्टीलका उद्योगहरुलाई हामीले सेयर बजारमा भित्र्याउन खोजेका हौं । यस्ता उद्योगहरु आए भने यसले राजस्व परिचालन पनि बढ्छ । पारदर्शिता बढ्छ

घरघरमा वित्तीय साक्षरता पुर्याउन सकेमात्रै उनीहरुले सुसूचित भएर निर्णय लिनसक्छन् । अहिलेजस्तो सामाजिक सञ्जालमा हल्ला गरेर, क्लबहाउसमा छलफल गरेर भोलि बजार घट्छ की बढ्छ भन्ने अवस्था आउनु हुँदैन । हल्लाले बजारलाई दपेट्नु, भेट्नु भएन । उनीहरुलाई सरकारले कडाइ गर्न आवश्यक हुन्छ । तर यसोगर्दा नयाँ तरिकाहरु अपनाउन सक्छन् । त्यसकारण आमरुपमै यस्ता गलत अभ्यासलाई निरुत्साहित गर्ने प्रयत्न गर्नुपर्छ । भनेको, हामीले हल्लाबाजहरुको बजार सुकाउनु पर्छ । यसका लागि वित्तीय साक्षरता नै मुख्य हो । हल्लाको भरमा चल्ने बजारले देशको प्रगति पनि गर्दैन, लगानीकर्ताको प्रगति पनि गर्दैन । हल्ला गराउन सक्ने मान्छेको मात्रै प्रगति हुन्छ । तर हामीले चाहेको त्यस्तो बजार होइन, जहाँ हल्ला गराउन सक्ने मान्छेकोमात्रै प्रगति होस् । हामीले चाहेको, प्रगति सबैको होस् ।

हरेक नेतृत्वले आफ्नो दृष्टिकोण अनुसार अध्ययन गर्नुपर्छ । धितोपत्र बोर्डमा कर्मचारीहरुले वर्षौंको अनुभव संगालिसकेका छन् । यसले उनीहरुलाई बजार नियमन गर्न सक्षम बनाएको छ । बरु अहिले उपलब्ध जनशक्ति अपुग छ । अभाव भएको जनशक्तिलाई परिपूर्ति गर्न जनशक्ति वृद्धि गर्ने, तिनीहरुलाई उचित तालिम दिने र त्यो सिपको सदुपयोग गर्ने प्रयास भइरहेको छ । उचित र निष्पक्ष प्रयास गर्ने हो भने छोटो समयमा पनि ठूलो सुधार गर्न सकिन्छ ।

रियल सेक्टरका कम्पनीलाई पूँजी बजारमा ल्याउँदा त्यसको उचित मूल्यांकन हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता हो । नेपालमा पनि बुक बिल्डिङलाई संस्थागत नगरेसम्म रियल सेक्टरका कम्पनीहरु आउन सक्दैनन् । तर नेपालमा विगतमा बुक बिल्डिङको प्रक्रियामा भएका केही घटनाले बजारलाई एक किसिमले झस्काएको हुनसक्छ । तर यो नराम्रो होइन । यसलाई स्वस्थ रुपमा सञ्चालन गरेर रियल सेक्टरका कम्पनीलाई भित्र्याउनु पर्छ । यसका लागि हामी आफैं अग्रसर भएर कम्पनीहरुलाई तान्नुपर्ने अवस्था छ । हामी मानसिक रुपमा यसका लागि तत्पर पनि छौं ।

भिजन

बजारलाई स्वस्थ र सबल बनाउनका लागि के–के कुरा गर्न सकिन्छ भनेर लेखाजोखा भइरहेको छ । यसका लागि हाम्रो क्षमता बढाउन नियामकीय सामथ्र्य बढाउने, वित्तीय साक्षरताको अभियानलाई अघि बढाउने, लगानीकर्तालाई सुसूचीत निर्णय लिनसक्ने बनाउने, सामाजिक सञ्जालका नकारात्मक प्रभावहरुलाई नियन्त्रणमा लिने, बजारको विविधिकरण गर्ने, हेजिङ र कमोडिटिज एक्सचेञ्जलाई सञ्चालन गर्ने, बजारलाई निरीक्षण र सन्तुलनमा राख्नसक्ने पुर्वाधार विकास गर्ने, रियल सेक्टरका कम्पनीलाई आकर्षित गर्ने र बजारको जोखिम घटाउनेजस्ता काम नै हाम्रा आगामी योजना हुन् ।

रियल सेक्टरका कम्पनी भनेको हामीसँग भएका ठूला कम्पनी हुन् । सूर्य टोबाको, नेपाल विद्युत् प्राधिकरण, ठूला सिमेण्ट र जगदम्बा, हिमाल स्टीलजस्ता ठूला स्टीलका उद्योगहरुलाई हामीले सेयर बजारमा भित्र्याउन खोजेका हौं । यस्ता उद्योगहरु आए भने यसले राजस्व परिचालन पनि बढ्छ । पारदर्शिता बढ्छ ।

अहिले लघुवित्त कम्पनीहरु, सानासाना जलविद्युत् कम्पनीहरुजस्ता कम पूँजी भएका कम्पनी (यसलाई अमेरिकातिर पेनस्टक भनिन्छ)मा खेल्नलाई मानिसहरुलाई बढी सजिलो हुन्छ भन्ने बुझाइ छ । त्यसकारण यस्ता कम्पनीमा विदेशतिर पनि नियामक निकायले बढी चासो राखेको हुन्छ । यस्ता सेयरको मूल्य अप्राकृतिक हिसाबले चलेको छ की ? भनेर हेर्ने गरिएको छ । ठूला कम्पनीहरु ल्याउँदा त्यसले बजारलाई दिगो र स्थायित्वयुक्त बनाउँछ ।

नविन प्रविधि, डिजिटल क्रान्ति, सामाजिक सञ्जालका राम्रा नराम्रा प्रभाव सबै कुरालाई हाम्रो कानूनले सम्बोधन गर्न सकेको छैन । ती कुराहरुलाई विचार गरेर हामीले अहिलेको समयानुकूल हुने गरी ऐन नियमहरुको परिमार्जन गर्नुपर्ने आवश्यकता छ । यसका लागि अध्ययनहरु भइरहेका छन्

सामाजिक सञ्जालले सेयर बजारलाई प्रभावित पार्ने अहिलेको नकारात्मक परिवेश हो । हामीकहाँ मात्रै होइन, अहिले संसारभर नै सामाजिक सञ्जालमार्फत् मानिसहरु देखिएर, नदेखिएर विभिन्न सन्देशहरु द्रुत प्रवाह गर्ने र त्यसबाट बजारलाई प्रभावित पार्ने ठूलो समस्या बनेको छ ।

कतिपय मानिसले धितोपत्र बोर्डको अनुमति नै नलिई यस्ता आश्वासन र लालसा देखाएर ठगी गर्न थालेको भन्ने पनि सुनिएको छ । त्यस्ता गतिविधी गर्नेलाई कारवाही गर्न धितोपत्र बोर्डले सरकारसँग मिलेर काम गरिरहेको छ । सामाजिक सञ्जालको प्रयोग गरेर सीमित वर्ग वा संख्याका मानिसलाई मात्रै फाइदा पुग्ने गरी जेजस्ता काम भइरहेका छन्, त्यसो हुनु हुँदैन । गलत अभ्यासको नियन्त्रणका लागि हामीले हाम्रो शक्ति र सामथ्र्य पूर्ण रुपमा प्रयोग गर्नुपर्छ ।

सेयर बजार एउटा ठूलो रोजगारीको अवसर सिर्जना गर्ने ठाउँ पनि हो । सरकारले धेरै रोजगारी दिन सक्दैन । निजी क्षेत्रले पनि अधिक रोजगारी दिने अवस्था नेपालमा छैन । यस्तो बेला सेयर बजारलाई नै रोजगारी बनाएर नाफा आर्जन गर्नु राम्रो हो । यसले नेपालीलाई गरिबीको रेखाबाट माथि उठ्न सघाउँछ । तर यस्ता काम पूर्ण पारदर्शी हुनुपर्छ र ठगी नगरिकन धनी हुने बाटो खोजिनुपर्छ ।

आफ्नो क्षमता र बुद्धि लगाएर कसैले सेयर बजारबाट पैसा कमाउँछ भने त्यसले स्वयम् व्यक्ति र राज्यलाई पनि लाभ दिन्छ । उसले हरेक कारोबारमा कर तिरिरहेको हुन्छ । कानूनको दायरामा बसेर, नियमपूर्वक काम गरेर, सम्पत्ती कर तिरेर कमाउनु कुनै पनि व्यक्तिको सफलता हो । त्यसरी पैसा कमाएकोमा कसैले पनि अन्यथा लिनु हुँदैन ।

स्थानीय पुर्वाधार विकासमा लगानी गर्ने वातावरण बनाउन सकिन्छ । यसलाई एकैपटक लागू गर्न खोजियो भने दुर्घटना हुनसक्छ । तर विस्तारै अघि बढाइयो भने यो नयाँ अवसर हुनसक्छ

पूँजी निर्माणमा सघाउ पुर्याउन नियामक निकायको भूमिका हुन्छ । यसको उद्देश्य भनेको बजारलाई दिगो र स्वच्छ बनाउने हो, जसका कारण बजारप्रति मान्छेहरुको भरोसा बढोस् । भरोसा बढेपछि एकले अर्कालाई ठग्ने प्रवृत्ती रहँदैन । यो काम वित्तीय साक्षरतामार्फत् हुनसक्छ । हल्लाको बजार सुक्नुपर्छ ।

पूँजी निर्माण गर्नका लागि नयाँ र थप उपकरणहरु ल्याउनु जरुरी छ । अहिले खालि सेयरको मात्रै कारोबार हुने भएकाले धेरै पूँजी निर्माण हुन सकिरहेको छैन । अहिलेभन्दा धेरै पूँजी निर्माण गर्न सक्ने सामथ्र्य हामीसँग छ । कुनै पनि देशको पूँजी बजार विश्वसनीय र सुचालित छ भने लगानीकर्ताको मनोबल बढ्छ । त्यसपछि देश भित्र र बाहिरबाट लगानी भित्रिन थाल्छन् । त्यस्ता लगानीले पुर्वाधार आयोजनालाई सघाउँछन् । सार्वजनिक निजी साझेदारीमा बन्ने ठूला ठूला पुर्वाधारलाई पूँजी जुटाउन सकिन्छ ।

लगानीकर्तालाई न्यायोचित लाभ दिनसक्ने अवस्था रहन्छ । धेरै देशमा नगर सरकारले ऋणपत्र जारी गर्ने गर्छन् । हाम्रो देशमा स्थानीय सरकारहरु ठूलो ऋण उठाएर त्यसलाई व्यवस्थित रुपमा लगानी गर्ने र आयोजनाहरु सम्पन्न गर्ने दक्षता नहुन सक्छ । तर हामीले अहिलेदेखि विस्तारै सिप सिकाउन थाल्ने हो भने पछि पूँजी बजारको माध्यमबाट हामीले ऋणपत्रहरु जारी गरेर स्थानीय पुर्वाधार विकासमा लगानी गर्ने वातावरण बनाउन सकिन्छ । यसलाई एकैपटक लागू गर्न खोजियो भने दुर्घटना हुनसक्छ । तर विस्तारै अघि बढाइयो भने यो नयाँ अवसर हुनसक्छ ।

यी सबै काम गर्न कतिपय कानूनी र प्रक्रियागत कठिनाइहरुलाई सुधार गरेर जानुपर्ने अवस्था छ । नेपालमा धितोपत्र कारोबार सम्बन्धी कानूनहरु बन्दाको अवस्थाभन्दा अहिलेको परिस्थिति ज्यादै भिन्न भइसकेको छ । नविन प्रविधि, डिजिटल क्रान्ति, सामाजिक सञ्जालका राम्रा नराम्रा प्रभाव सबै कुरालाई हाम्रो कानूनले सम्बोधन गर्न सकेको छैन । ती कुराहरुलाई विचार गरेर हामीले अहिलेको समयानुकूल हुने गरी ऐन नियमहरुको परिमार्जन गर्नुपर्ने आवश्यकता छ । यसका लागि अध्ययनहरु भइरहेका छन् ।

पहिले पनि कतिपय अध्ययन भएर विधेयकका खाकाहरु अघि बढाइएको थियो । तर ३–४ वर्षयता अर्को नयाँ परिवेशहरु देखिएका छन् । कोरोना महामारीले पनि सेयर बजारको विकासमा ठूलो सहयोग पुर्याएको छ ।

अहिले बजारमा सेयरको बाहुल्यता छ । केही हदसम्म डिबेञ्चर र बण्डहरु पनि छन् । ओपनइण्ड र क्लोजइण्ड दुवै खाले म्युचुअल फण्डहरु आइसकेका छन् । विशिष्टिकृत लगानी कोषहरु पनि आउने चरणमा छन् । अहिले यस्ता कोष व्यवस्थापकहरुको लाइसेन्स दिने चरणमा छौं ।

प्राइभेट इक्विटी, भेञ्चर क्यापिटलजस्ता उपकरण पनि आउँदै छन् । यिनीहरुले साना तथा मझौला उद्यमको विकासमा मद्दत पुर्याउँछ । यस्ता कम्पनीले साना उद्यमीहरुलाई लगानीको स्रोतमा पहूँच बढाउँछ । सबै किसिमका सुरुवाति व्यवसायहरु व्यवसायिक रुपमै अघि बढाउन पूँजीको खाँचो हुन्छ । त्यो पूँजीको खाँचो बैंकिङ क्षेत्रबाट पूर्ति हुन सक्दैन ।

बैंकमा धितो सुरक्षण आदी कारणले उनीहरुको पहूँच पुग्दैन । उनीहरु इक्वीटी लगानी गरिदिनेहरुकै सहयोगमा उठ्न सक्छन् । संसारभर नवप्रवर्तनको विकासमा एञ्जल फण्ड वा भेञ्चर क्यापिटलको ठूलो योगदान छ । यसबाट केवल पूँजीबजारको मात्रै नभएर उत्पादन, रोजगारीदेखि समग्र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुग्छ ।

यो लेख ‘चेम्बर स्मारिका-२0७८ को अर्थतन्त्रको पुनरुद्धारबाट साभार गरिएको हो ।


क्लिकमान्डु