श्रीलंका संकटः सरकारको ढुकुटीमा भएको विदेशी मुद्राभन्दा यसै वर्ष तिर्नुपर्ने ऋण साढे ३ गुणा बढी



एजेन्सी । हरेक घण्टा, हरेक दिन फरक फरक खालका तस्विर श्रीलंकाबाट आइरहेको छ । आर्थिक संकटमा जुधीरहेको श्रीलंकाले अब यसलाई कसरी सम्बोधन गर्ला र जनजीवन कसरी सामान्यतर्फ फर्केला भन्ने चिन्ता पनि उत्तिकै छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को एउटा सदस्य हुनुको नाताले पनि नेपाल र श्रीलंकाबीचको सम्बन्ध फरक खालको छ ।

अधिकांश बौद्ध धर्माबलम्बी भएको सो देशबाट नेपाल आउने पर्यटकले पर्यटन उद्योगको विकास र विस्तारमा उत्तिकै महत्वपूर्ण योगदान गरेको थियो ।

संकट गरिहरिदै जाँदा श्रीलंकाको राष्ट्रियताप्रति पनि आमरुपमा चिन्ता जनाउन थालिएको छ । मानिसहरुले अमेरिकी सहयोग परियोजना एमसिसी खारेज गर्नु, अत्याधिक मात्रामा चीनलगायतका देशबाट ऋण लिनु, खर्चको विषयमा खास नीतिगत तथा कानूनी प्रबन्ध नगर्नु तथा करको दर घटाउनु र सस्तो लोकप्रियताका लागि राज्यको ढुकुटी बाढ्दै जानु जस्ता कारणले श्रीलंका खासगरी संकटमा परेको हो ।

कोरोना कहरका कारण विप्रेषण आयातमा भएको कमी, पर्यटन क्षेत्रमा आएको मन्दी जस्ता कारण पनि संटकको अर्को कारण बन्न पुगेको छ ।

ऋण दिँदा सहजै दिने तर त्यसको व्यवस्थापन एवम् तिर्न सक्ने क्षमता रहेको वा नरहेको भन्ने बारेमा खास जानकारी नराख्ने दातृ निकाय एवं बहुपक्षीय साझेदारको समेत यसबीचमा खोजी भएको छ ।

त्यसो त चीनको मात्रै कारणले श्रीलंका संकट गहिरिएको हो भन्ने अवस्था नरहेको बताउनेहरु पनि छन् । हो, चीनको ऋणको मात्रा बढी छ । तर, अन्य बहुपक्षीय दातृ निकाय तथा राज्य नै ग्यारेन्टी बसेर ल्याएको ऋणको मात्रा त्यो भन्दा बढी देखिन्छ । कूल ग्राहस्थ उत्पादनको तुलनामा १०५ प्रतिशत बढी ऋण लिइएको भन्ने आरोप पनि यसबीचमा लागेको छ ।

श्रीलंकाको सरकारले यसबारेमा त्यहाँले नागरिकले चित्तबुझ्दो तरिकाले केही जानकारी गराएको छैन । खासगरी सुधार गर्नुपर्ने क्षेत्रमा सुधार नगर्ने, बरु समस्या अन्यत्रै सारेर सामान्य उपचार मात्रै गर्ने खालको सरकारी रवैया देखिन्छ ।

टाउकोमा घाउ लागेको छ, नाइटोमा ओखती लगाएको जस्तो गरी सरकार केही मन्त्री हटाउने र त्यसैमा टालो हाल्न लागेको जस्तो देखिन्छ । पछिल्लो पटक २४ घण्टा पनि नबित्दै अर्थमन्त्रीले राजीनामा दिनुपनि त्यसको अर्को कारणको रुपमा देखिन्छ ।

त्यसो त संकट समाधानको अस्त्र बोकेर यतिबेला भारत कोलम्बो पुगेको छ । उसको समाधानको उपाय के होला भन्ने बारेमा भने प्रष्ट तस्विर सार्वजनिक भइसकेको छैन ।

भारतको श्रीलंकासँगको सम्बन्ध शताब्दीऔं पुरानो त हो । करिब साढे दुई हजार वर्षअघि सम्राट अशोकले आफ्ना छोरा महेन्द्र र छोरी संघमित्रालाई बुद्ध धर्मको उपहार दिएर श्रीलंका पठाएका थिए ।

त्यहाँका राजाले उनीहरूबाट प्रभावित भएर बुद्ध धर्म ग्रहण गरेका थिए । आज श्रीलंकाका ७० प्रतिशतभन्दा बढी जनसंख्याले बुद्धधर्म मान्छन् र पूजा गर्छन् ।

दुवै देशमा अंग्रेजको शासन थियो । सन् १९४७ मा भारत स्वतन्त्र भयो । एक वर्षपछि श्रीलंकाले पनि स्वतन्त्रताको ७५औँ वर्षगाँठ मनाउँदैछन् ।

सन् १९८० को दशकमा तमिल अल्पसंख्यकहरूका लागि छुट्टै देशको मागले हिंसाको रूप लिँदा श्रीलंकाले स्वतन्त्रतापछिको सबैभन्दा ठूलो संकट खेप्यो । सन् १९८३ मा सुरु भएको गृहयुद्ध २६ वर्षपछि सन् २००९ मा समाप्त भयो ।

श्रीलंकाको संकटको यो अवधिमा भारतले पनि भूमिका खेलेको थियो, भारतले श्रीलंकालाई सहयोग गर्न त्यहाँ शान्ति सेना पठाएको थियो । तर, चरम दमनको तथ्य सार्वजनिक भएपछि अनेकन प्रश्न उठेका थिए, अन्तर्राष्ट्रिय मञ्चहरुमा ।

कुरा ३० जुलाई १९८७ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीलाई कोलम्बोको राष्ट्रपति निवासमा गार्ड अफ अनर लिने क्रममा श्रीलंकाका एक नाविकले राइफलको बटले आक्रमण गरेका थिए, जसमा राजीव गान्धी सामान्य घाइते भएका थिए ।

२१ मे १९९१ मा, श्रीलंकाको तमिल चरमपन्थीहरूले देशको आम चुनावको बीचमा तमिलनाडुमा चुनावी सभामा आत्मघाती बम विस्फोट गरेर राजीव गान्धीको हत्या गरे । उनी त्यतिबेला विपक्षी दलका नेता थिए र उनको हत्या नभएको भए उनी फेरि प्रधानमन्त्री बन्न सक्थे ।

नयाँ शताब्दीमा, श्रीलंका सरकारले आक्रामक अभियान सुरु गर्यो, जसको परिणामस्वरूप तमिल पृथकतावादी समूह पराजित भयो र अन्ततः २००९ मा गृहयुद्ध समाप्त भयो ।

युद्धको अन्तिम वर्षदेखि युद्ध समाप्त भएको १३ वर्षसम्म भारत-श्रीलंका सम्बन्धमा कहिलेकाहीं छाँया परेको थियो । पछिल्ला दुई दशकमा दुवै देश बीच त्यस्तो निकटता निर्माण हुन सकेन । यसको ठूलो कारण हो । थियो तेस्रो देश अर्थात् चीन ।

विगत दुई दशकमा श्रीलंकाका सरकारले चीनलाई अँगालेका छन् । ठूला परियोजनाहरूका लागि सहयोग मागेका छन् । चीनले पनि सहयोग गरेको छ । तर, श्रीलंकाको यो नयाँ मित्रको नियतमाथि शंका उठ्ने क्रम जारी रहेको भारतीय सञ्चारमाध्यमहरुको दावी छ । चीनले सहयोगको बहानामा श्रीलंकालाई ऋणको जालमा फसाएको आरोप पनि लागेको छ ।

श्रीलंका अहिले साँच्चिकै भीरको डीलमा पुगेको कुभिण्डो जस्तै भएको छ । यद्यपि यसको पछाडि चीन मात्र कारण होइन । त्यहाँको सरकारको अव्यवहारिक नीति, अति महत्वाकांक्षी परियोजनामा हात हाल्ने र समानताको नाममा अगाडि सारिएको लोकवादी नीतिहरूको कार्यान्वयनमा पनि उत्तिकै जिम्मेवार छ ।

श्रीलंकाको संकटको यो घडीमा उसको पुरानो मित्र भारत फेरि एकपटक उसको साथमा उभिएको देखिएको छ । तर, नयाँ मित्र भनिएको चीनले यतिबेला साथ नदिएको आरोप लाग्न थालेको छ ।

श्रीलंकालाई अहिले सहयोगको खाँचो छ । त्यसमा ठूलो ऋण छ । समस्या कत्तिको गम्भीर छ भन्ने अनुमान श्रीलंकाको केन्द्रीय बैंकबाट समाचार एजेन्सी रोयटर्सले संकलन गरेको तथ्यांकबाट स्पष्ट हुन्छ ।
सो विवरण अनुसार श्रीलंकाले यो वर्ष ७ अर्ब डलर ऋण तिर्न बाँकी छ भने विदेशी मुद्रा सञ्चिति २ अर्ब ३ करोड मात्रै बाँकी छ ।

श्रीलंकाले सहयोगको लागि चीन र भारतलाई नै हेरेको छ । तर, जहाँ चीनले पिठ्यू फर्कायो भन्ने भाष्य निर्माण भइरहेको छ । भारतले सहयोगको हात बढाएको विषय स्थापित भइरहेको छ ।

नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय सेन्टर फर साउथ एसियन स्टडिजका प्रोफेसर पी सहदेवनका अनुसार चीनले धेरै सोचेर नै सहयोग गर्न अगाडि नआएको हो । उनका अनुसार चीनले पछि हटेको छ किनभने तिनीहरू पहिले आफ्नो विगतको ऋण फिर्ता गर्न चाहन्छन् । जुन धेरै छ र तिनीहरू स्मार्ट छन्, त्यसैले तिनीहरू सीधा पछाडि फर्किए । यो भारतका लागि अवसरको संकेत भएको विज्ञहरू बताउँछन् ।

मनोहर पर्किर इन्स्टिच्युट फर डिफेन्स स्टडीज एण्ड एनालिसिसमा श्रीलंकाको मामिलाको निरीक्षण गर्ने एसोसिएट फेलो डा गुल्बिन सुल्ताना भन्छन् कि श्रीलंकामा भारत विरोधी खण्ड छ जसले सधैं चीन कसरी उनीहरूको राम्रो मित्र हो भनेर देखाउन चाहन्छ । किनकी उसले उनीहरुको राजनीतिमा हस्तक्षेप गर्दैन ।

डा. गुल्बिन सुल्तानाका अनुसार श्रीलंकाका आम जनतामा सृजना गरिएको यो मिथक यसपटक टुटेको छ । चीन आफ्नो भरपर्दो सहयोगी हो भन्ने तर्क गर्नेहरूले यो सत्य होइन भन्ने बुझेका छन् यसपटक ।

पछिल्लो समय भारतले श्रीलंकामा लगातार सहायता पठाइरहेको छ । भारतका विदेशमन्त्री एस जयशंकरले पनि पाँच राष्ट्रको संगठन बिमस्टेकको कार्यक्रमको सिलसिलामा गत हप्ता श्रीलंकाको भ्रमण गरी सहयोगको प्रस्ताव राखेका थिए ।

सन् २०२२ को सुरुदेखि नै भारतले श्रीलंकालाई २.४ अर्ब डलरको सहायता पठाएको छ । उसले अत्यावश्यक वस्तुको अभाव हटाउन भारतसँग थप १.५ अर्ब डलर सहयोग मागेको छ ।

श्रीलंका जुन आर्थिक संकटमा फसेको छ, त्यसले भारत वा कुनै पनि एक्लो मुलुकको सहयोगबाट जोगाउन नसक्ने हुँदा त्यसका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोग लिनुपर्ने विज्ञहरूको भनाइ छ ।

प्रोफेसर पी सहदेवनका अनुसार लामो समय भारतमा निर्भर रहन गाह्रो छ, किनभने भारतले पनि धेरै काम गर्नु पर्ने छ, भारतले थप डेढ अर्ब डलर दिने हो, तर यो कहिलेसम्म टिक्न सक्छ भन्ने प्रश्न उठ्न जान्छ ।
तर, यो कठिन समयमा भारतले श्रीलंकाको काँधमा राखेको हातको न्यानोपन श्रीलंका सरकारले पनि महसुस गरेको हुनुपर्छ ।

श्रीलंकाका निवर्तमान विदेशमन्त्री जीएल पेरिस विदेशमन्त्री एस जयशंकरको भ्रमणअघि फेब्रुअरीमा दिल्लीको तीन दिने भ्रमणमा आएका थिए । यसपछि श्रीलंकाका तत्कालीन अर्थमन्त्री बासिल राजपाक्षले पनि मार्चमा भारतको भ्रमण गरेका थिए ।

जीएल पेरिसले आफ्नो भारत भ्रमणको क्रममा इन्डियन एक्सप्रेस अखबारलाई दिएको अन्तर्वार्तामा भनेका थिए कि भारत-श्रीलंका सम्बन्ध उचाइमा छ । आफ्नो देशमा चीनको बारेमा उठाइएका चिन्ता अब विगतको कुरा भइसकेको छ ।

श्रीलंकाको आर्थिक संकटको बीचमा भारतसँग बढ्दो निकटताको अर्को प्रभाव पनि देखिएको छ । भारतले श्रीलंकाका धेरै परियोजनामा चासो देखाएको थियो तर काम अघिबढ्न सकेन । त्यो अवस्था अहिले परिवर्तन हुँदैछ ।
डा. गुलबिन सुल्तानाका अनुसार भारतले त्रिन्कोमाली आयल ट्यांक फर्मजस्ता धेरै परियोजनामा एमओयू पनि गरेको थियो । कहिले स्थानीय विरोधको नाममा, कहिले अन्य बहानामा स्थगित भएको थियो । तर, डिसेम्बरदेखि नै भारतले सहयोग गर्ने कुरा गरेको छ । श्रीलंकामा अलपत्र परेका यस्ता धेरै आयोजनालाई अगाडि बढाउन वर्तमान सरकारले प्रयास गरेको देखिन्छ ।

यसैबीच, भारतको चिया उद्योगसँग सम्बद्ध प्रतिनिधि र विज्ञले श्रीलंकामा जारी आर्थिक संकट भारतका चिया निर्यातकर्ताहरूका लागि फाइदाजनक हुने विश्वास गरेका छन् ।

समाचार एजेन्सी पीटीआईले रेटिंग एजेन्सी इक्राका उपाध्यक्ष कौशिक दासलाई उदृत गर्दै भनेको छ कि श्रीलंका अन्तर्राष्ट्रिय चिया बजारमा ठूलो खेलाडी हो । हरेक वर्ष त्यहाँ उत्पादित चियाको ९७.९८ ढड प्रतिशत विदेशी बजारमा निर्यात हुन्छ ।
दासले पीटीआईलाई भनेका छन् कि श्रीलंकाको चिया उत्पादनमा आएको ठूलो गिरावटले अन्तर्राष्ट्रिय बजारमा असर पार्नेछ र यसले भारतीय निर्यातकर्ताहरूलाई आपूर्तिमा आएको कमीलाई पूरा गर्ने अवसर सिर्जना गर्न सक्छ ।
भारतीय चिया निर्यातकर्ता संघका अध्यक्ष अंशुमान कनोरियाले पनि श्रीलंकाको वर्तमान आर्थिक संकटका कारण त्यहाँको चिया उत्पादनमा १५ प्रतिशतले कमी आउन सक्ने बताए ।

यसै क्रममा भर्खरै कोलम्बोबाट फर्किएका साउथ इन्डिया चिया निर्यातकर्ता संघका अध्यक्ष दीपक शाहले श्रीलंकामा दिनमा १२-१३ घण्टा बिजुली नभएको र जेनेरेटर चलाउनको लागि तेल नभएका कारण उत्पादनमा असर परिरहेको छ ।
सामान्यतया यसले चियाको गुणस्तरमा पनि असर पर्न जान्छ । यसबाहेक, कम वर्षा भएको छ । यस्तो अवस्थामा श्रीलंकामा चियाको उत्पादन २५ प्रतिशतले घटन सक्छ ।

डा. सुल्तानाका अनुसार भारतको कुनै पनि छिमेकी देशमा अस्थिरता हुनु राम्रो कुरा होइन । यसले भारतलाई असर गर्छ । जसरी श्रीलंकामा संकट गम्भीर बनेपछि त्यहाँबाट ठूलो संख्यामा मानिसहरु अवैधरूपमा बाहिरिएका छन् । त्यसबाट भारतको तटीय क्षेत्रमा राजनीतिक र आर्थिक प्रभाव पर्न सक्छ ।


क्लिकमान्डु