बीमा समितिको पुँजी वृद्धि योजनाः संस्थापकलाई हैरानी, आइपीओ जारी नगरेका कम्पनीले के गर्लान ?



काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गत साता गरेको छ । समितिको संचालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको हो ।

समितिका अनुसार बीमा कम्पनीहरुले उक्त पुँजी २०७९ साल चैत मसान्तसम्ममा कायम गरिसक्नुपर्ने छ । जसका लागि एक महिनाभित्र कम्पनीहरुले आफ्नो पुँजी बृद्धिको योजनासम्बन्धित बोर्डबाट निर्णय गराई समिति समक्ष पेश गर्नुपर्ने छ । समितिको उक्त निर्देशनअनुसार आईपीओ जारी नै गर्न बाँकी रहेका ५ जीवन बीमा कम्पनीहरुलाई भने पुँजी वृद्धि गर्न कठिनाइ देखिएको छ ।

आईपीओ जारी गर्न बाँकी रहेका पाँच कम्पनीले हाल कायम भएको चुक्ता पुँजी नै पुर्याउन बाँकी छ । जसले गर्दा पनि यी कम्पनीलाई पूराना कम्पनीको तुलनामा समितिले तोकिदिएको समयमा पुँजी वृद्धि गर्न दबाब देखिएको हो । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये पाँच वटा कम्पनीले सार्वसाधारणका लागि साधारण सेयर (आइपीओ) जारी गर्न बाँकी नै छ । ती कम्पनीमा महालक्ष्मी, सिटिजन्स, सन नेपाल, रिलायबल र आइएमई लाइफ इन्स्योरेन्स रहेका छन् । यी पाँच वटै कम्पनी आइपीओ जारी गर्ने प्रक्रियामा गईसकेका छन् ।

आइपीओ जारी गर्न बाँकी रहेका कम्पनीले पुँजी वृद्धिका लागि संस्थापकहरुले फेरी रकम थप गर्न सक्छन् । संस्थापक सेयरधनीले रकम थप गर्ने हो भने यी कम्पनीहरुलाई पुँजी वृद्धि गर्न समस्या नरहेको जानकारहरुको भनाइ छ । तर, संस्थापकहरुले पुँजी थप नगर्ने हो भने पुँजी वृद्धिका लागि यी कम्पनीले मर्जरको बाटो रोज्नुको विकल्प छैन ।

पुँजी वृद्धिका लागि भने कम्पनीहरुले योजना बनाउन नै बाँकी रहेको बताउँछन् । समितिले ३० दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न भनेतापनि कम्पनीहरुको बोर्ड बैठक अझै बसेको छैन । अहिले कम्पनीहरुले पुँजी वृद्धि योजना नै बनाएका छैनन् । सञ्चालक समितिको बैठक बसेपछि मात्रै पुँजी वृद्धिको योजना तय गरिने कम्पनीहरुको भनाइ छ ।

बोर्ड बैठकले छलफल नगरी पुँजी वृद्धि योजनाका बारेमा बोल्न नमिल्ने कम्पनीका सीइओहरुको भनाइ छ । ‘जबसम्म बोर्डको बैठक बस्दैन । प्रमोटरहरुको राय नलिई सीइओले केही भन्न मिल्दैन’,महालक्ष्मी लाइफ इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेश कुमार भट्टराईले क्लिकमाण्डूसँग भने,‘बोर्डको बैठक चाँडै बस्दै छ । त्यसपछि मात्रै पुँजी वृद्धिको योजना थाहा हुन्छ ।’

आइएमई लाइफले पनि सञ्चालक समितिको बैठक बसेपछि मात्रै पुँजी वृद्धिको योजना अघि सार्ने जानकारी दिएको छ । इन्स्योरेन्सका सूचना अधिकारी सुदिप राणाले हालसम्म पुँजी वृद्धिको योजना नबनेको कम्पनीको बोर्ड बैठक पनि नबसेको उनको भनाइ छ । ‘समितिले पुँजी वृद्धिको योजना तयार गर्न ३० दिनको समय थप गरेको छ । समय बाँकी नै छ । जसका लागि बोर्डको बैठक नै बस्न बाँकी छ,’सूचना अधिकारी राणाले क्लिमाण्डूसँग भने,‘हालसम्म पुँजी वृद्धिको योजना बारेमा केही छलफल भएको छैन ।’

संस्थापक सेयरधनीहरुले भने कम्पनीको हित र लगानीकर्ताको हितका लागि कम्पनीहरु पोर्ट फोलियो सहित मर्जमा जानु पर्ने आवश्यकता देखिएको बताएका छन् । लगानीकर्ताले कम्पनीमा कम्पनीले दिने प्रतिफल र पुँजीगत लाभका लागि लगानी गर्ने हो । तर, कम्पनीले दिने प्रतिफल घट्दै जाने अवस्था आउन नदिन कम्पनीहरुलाई मर्जमा लानु पर्ने उनीहरुको भनाइ छ । जसले गर्दा कम्पनीहरुको खर्च कम हुने उनीहरुको तर्क छ ।

दुई कम्पनी एक आपसमा मर्ज हुँदा कम्पनीहरुको विजनेस पनि जोडिन्छ र औषतमा ८÷९ प्रतिशत प्रतिफल समेत दिन सक्ने संस्थापकको भनाइ छ । अहिले बीमा कम्पनीको औषत प्रतिफल ५ देखि ६ प्रतिशत मात्रै छ । ‘आजको विजनेसले ५ देखि ६ प्रतिशत मात्रै प्रतिफल दिन सक्ने अवस्था छ’ एक कम्पनीका संस्थापकले भने ‘कम्पनीहरु मर्जमा नजाने हो भने त्यो क्षमता २ देखि ३ प्रतिशतमा झर्ने छ ।’

‘कम्पनीहरुले दिने प्रतिफल औषतमा २ देखि ३ प्रतिशत मात्रै हुन्छ भने अब लगानी किन गर्ने ?,’ ती संस्थापकले क्लिमाण्डूसँग भने,‘लगानीकर्ताले लगानी प्रतिफका लागि गर्छ । तर, कम्पनीहरुले दिने प्रतिफल औषतमा २ देखि ३ प्रतिशतमा मात्रै सीमित हुन्छ भने किन रकम थप गर्ने ?’ यस्तो अवस्थामा आफुहरुले कम्पनीमा पुनः रकम थप नगर्ने उनको भनाइ छ ।

हाल सन नेपाल, महालक्ष्मी, आइएमई र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमोटरहरुले एक अर्ब ४० करोड रुपैयाँका दरले लगानी गरेका छन् । यस्तै, सिटिजन्स लाइफका प्रमोटरले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेका छन् ।

पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न कुनले कति रकम थप गर्नुपर्छ ?

महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सको हालको पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ । यी कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशतका दरले आइपीओ जारी गर्ने प्रक्रिया गरिरहेका छन् ।

यी कम्पनीमा प्रमोटरले लगानी थप नगरि हाल कै व्यवस्थाअनुसार आइपीओ जारी गरे भने आइपीओ पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्ने छ । त्यसपछि कम्पनीहरुले पाँच अर्ब रुपैयाँ पुँजी कायम गर्नका लागि ३ अर्ब रुपैयाँ रकम थप गर्नु पर्छ ।

यस्तै, आइपीओ निष्कासन गर्न बाँकी रहेको अर्को कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सको हालको पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । त्यसपछि सिटिजनले पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नका लागि बाँकी दुई अर्ब ५० करोड रुपैयाँ रकम थप गर्नुपर्ने देखिन्छ ।


क्लिकमान्डु