उद्योगमा किन काटियो बिजुली ? प्रवक्ता भन्छन्- एक/दुई दिन उद्योग नचलाउँदा फरक पर्दैन



विद्युत खरिदका लागि हुने बिडिङमा नेपाल विद्युत् प्राधिकरणले बिजुली नपाउँदा नेपालको उद्योगमा बिजुली कटौती गरेको छ ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधबार १ मेगावाटभन्दा बढी विजुली खपत गर्ने उद्योगमा लोडसेडिङ गरेको छ ।

प्राधिकरणको प्रणालीमा पर्याप्त विजुली नभएकाले उद्योगमा विजुली कटौती गर्नु परेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई बताउँछन् । भट्टराईका अनुसार बिहिबार पनि नेपाली उद्योगले बिजुली पाउने सम्भावना छैन ।

‘विद्युत कटौतिलाईलोडसेडिङको रुपमा बुझ्नु भएन,’ प्रवक्ता भट्टराईले क्लिकमाण्डूसँग भने ,‘आन्तरिक बजारको मागअनुसार भारतबाट विजुली नआउँदा एक दुई दिन समस्या देखिएको हो ।’

बुधबार बिहानदेखि प्राधिकरणले पिआर टिमले भारतमा विजुलीको खरिद मुल्य प्रतियुनिट ३५ रुपैयाँ पुगेकाले उद्योगमा विजुली आपूर्ति कटौति गरिएको प्रचारप्रसार गर्दै आएको छ । तर, वास्तविकता त्यस्तो होइन । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भारतबाट विजुली खरिद गर्न नसक्दा नेपाली उद्योगले विजुली नपाएका हुन् ।

विद्युत् प्राधिकरणले भारतबाट दैनिक करिब ६०० मेगावाट विजुली खरिद गर्दै आएको छ । आन्तरिक उत्पादनबाट ८ सय मेगावाट विजुली आपुर्ति हुन्छ । अन्य सामान जसरी विजुली एकैपटक खरिद हुँदैन । जस्तो नेपालमा सरकारी विदा वा कुनै चाडपर्व हुँदा विजुलीको माग कम हुन्छ । त्यस्तो अवस्थामा प्राधिकरणले कम विजुली खरिद गर्छ ।

मध्यरातमा विजुलीको माग हुँदैन । त्यसबखत पनि विजुली खरिद हुँदैन । प्राधिकरणले विजुलीको धेरै माग हुने पिक आवरमा भारतमा विजुली खरिद गर्ने गर्छ । जुन हरेक दिन फरक फरक हुने गर्छ ।

विजुलीको मात्रा मात्रै नभई खरिद मुल्य पनि हरेक दिन फरक फरक हुने गर्छ । भारतमा विजुलीको कारोबार इन्डियन इनर्जी एक्सचेञ्ज मार्फत हुन्छ । जहाँ भारतका विभिन्न उद्योग, विभिन्न राज्य सरकारमा विद्युत आपुर्तिको काम गर्ने कम्पनीले समेत एक्सचेञ्जबाट विजुली खरिद गर्ने गर्छन् । एक्सचेञ्जको वेवसाइटमा दैनिक ४ हजार ४ सय ग्राहकले विजुलीको कारोबार गर्ने उल्लेख छ ।

विद्युत प्राधिकरणले गत बैशाखदेखि एक्सचेञ्जबाट विजुली खरिद गर्न सुरु गरको थियो । जसले गर्दा प्राधिकरणले सधैँ फिक्स विजुली खरिद गर्नु पर्दैन । सामान्यतया बजारमा एकदिन पछिको विजुलीको माग हेर्दै कारोबार गर्ने गरिन्छ । विद्युत उत्पादक कम्पनीले बजारको माग भन्दा बढी विजुली उत्पादन गर्नु पर्दैन । माग बढ्दा कम्पनीले उत्पादनसमेत बढाउन सक्छन् ।

जसले गर्दा एक्सचेञ्जमा विजुली बिक्री मुल्य फिक्स भने हुदैन् । विजुलीको माग बढी माग हुने पिक आवरमा महँगो मुल्यमा कारोबार हुन्छ भने कम माग हुने समयमा सस्तो मुल्यमा कारोबार हुने गर्छ ।

प्राधिकरणले मंगलबार विभिन्न समयमा विजुली खरिद गर्न ९६ बल्कमा अडर गरेको थियो । तर, प्राधिकरणका ४÷५ वटा बल्क अडरमात्रै एसेप्ट भए ।

जसले गर्दा नेपाली बजारमा माग अनुसार विजुलीको आपुर्ति भएन ।

प्राधिकरणमा प्रवक्ता सुरेश भट्टराईका अनुसार मंगलबार प्राधिकरणले प्रतियुनिट १२.८ रुपैयाँमा विजुली खरिद गर्न अडर राखेको थियो । तर, एक्सचेञ्जमा मंगलबार अधिकांश कारोबार महँगो मुल्यमा भए ।
मंगलबार समय हेर्दाै विजुलीको कारोबार १२ देखि ३५ रुपैयाँसम्ममा भयो । जसले गर्दा प्राधिकरणले निकै कम मात्रै विजुली पाउन सक्यौ । एक्सचेञ्जमा सबै कारोबार ३५ रुपैयाँ भएको भने होइन ।

नेपालमा भने प्राधिकरणको मिडिया व्यवस्थापन टिमले विजुलीको रेट ३५ रुपैयाँ प्रतियुनिट पुगेकाले बजारको मागअनुसार बिजुली आउन नसकेको जनाएको छ ।

‘भारतमा विजुलीको मुल्य बढेको साँचो हो’ प्राधिकरणका एक अधिकारी भन्छन्, ‘यदि प्राधिकरणले विजुली व्यवस्थापनमा चासो दिँदै १२.८ रुपैयाँमा खरिद गर्ने गरेको विजुली १८ वा १९ रुपैयाँमा खरिद गर्न चाहेको भए विजुली नपाउने भन्ने थिएन । तपाईंलाई थाहा नै छ, यहाँ यस्ता विषय व्यवस्थापन गर्ने चासो कसलाई छ ?’

हुन पनि मंगलबार एक्सचेञ्जमा ह्वात्तै विजुलीको मुल्य बढेको होइन् । रुस र युक्रेन युद्धले कोइलाको मुल्य बढेपछि भारतमा बिजुलीको मुल्य बढेको हो । जुन प्राधिकरणका अधिकारीलाई थाहा नहुने विषय नै भएन ।

तर, पनि प्राधिकरणले मुल्य बढाएर विजुली खरिद गर्नुभन्दा पनि उद्योगमा विजुली काट्ने विकल्प रोजेका छन् ।

जबकी, पछिल्लो केही महिना यता प्राधिकरणमा प्रबन्ध निर्देशक घिसिङ विभिन्न उद्योगहरु घुम्दै उद्योगलाई प्रयाप्त विजुली दिने बताउँदै आएका थिए । तर, उल्लो प्राधिकरणले भारतबाट विजुली नआएको भन्दै उद्योगको विजुली कटौती गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता भट्टराई एक दुई दिन उद्योग बन्द हुँदा केही फरक नपर्ने बताउँछन् ।

‘के उद्योगीले ३६५ दिन नै उद्योग चलाउने गर्छन्,’ भटट्राई भन्छन्, ‘प्राविधिक विषय नमिल्दा एक दुई दिन उद्योगमा बत्ति दिन नसकिएको हो । यो समस्या सँधै रहँदैन ।’


शरद ओझा