हिमालयन र इन्भेष्टमेन्ट बैंकका सेयरधनी मर्कामा, हिमालयनका सेयरधनीले लाभांश नपाउने



काठमाडौं । मर्जरको कारण एकवर्षदेखि सेयर कारोबार रोकिएको हुँदा हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकका सेयरधनी मर्कामा परेका छन् । बैशाखमा मर्जरको सम्झौता गरेपनि माघमा भएको हिमालयन बैंकको साधारणसभाले मर्जर प्रस्तावको बिपक्षमा जाने निर्णय गरेको थियो ।

हिमालयन बैंकको साधाणसभामा इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको पक्षमा ४३.६३ प्रतिशत भोट परेको थियो । विपक्षमा ४२.६३ प्रतिशत र १४.०९ प्रतिशत भोट तटस्थ थियो । दुवै बैंकले बैशाखमा मर्जरमा जाने सम्झौता गरेपछि सेयर बजारमा कारोबार रोकिएको छ । नियम अनुसार मर्जरमा जाने संस्थाबीच सेयर कारोबार गर्न मिल्दैन । मर्जरमा जाने सम्झौता गर्ने दिन हिमालयन बैंकको सेयर मूल्य ४८४ रुपैयाँ थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको ४६० रुपैयाँ रहेको थियो ।

हिमालयन बैंकको साधारणसभाले मर्जरमा नजाने निर्णय गरेपनि कहिलेदेखि दोस्रो बजारमा कारोबार खुल्छ त्यसको भने टुंगो लागेको छैन । हिमालयन बैंकमा सयुक्त मर्जर कमिटिमा रहेका सदस्यहरु सुनिल थापा र आशीष शर्माले राजीनामा दिएपछि राष्ट्र बैंकलाई पत्र लेख्न समेत ढिलाइ भएको थियो । अहिले भने राष्ट्र बैंकमा पत्र गएको छ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा राष्ट्र बैंकमा डिमर्जको पत्र पठाएको र राष्ट्र बैंकको जवाफ कुरेको बताउँछन् ।

‘राष्ट्र बैंकले पठाउने पत्रको आधारमा बैंकले थप निर्णय लिने छ, अहिले पत्र कुरेरका छौ,’राणाले क्लिकमाण्डूसँग भने ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको प्रस्ताव साधारणसभाबाट भाडेको हिमालयन बैंकले राष्ट्र बैंकको पत्र आएपछि नयाँ पार्टनर खोज्ने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको सयुक्त मर्जर कमिटिले राष्ट्र बैंकमा हिमालयनको साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेको प्रस्ताव राष्ट्र बैंकमा पठाएको थियो ।

राष्ट्र बैंकले दुवै बैंकलाई मर्जर प्रक्रिया रद्द भएको पत्र दिएपछि दुवै बैंकले नयाँ पार्टनर खोज्नेछन् । पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंकसँग पुनः मर्जरको लागि छलफल भएको हल्ला छ । सीइओ राणा भने अब नेपाल इन्भेष्टमेन्टसँगको च्याप्टर क्लोज भएको र नयाँ संस्था खोज्नुपर्ने बाध्यता रहेको बताउँछन् ।

हिमालयन बैंकको साधारणसभाले गतवर्षको नाफाबाट सेयरधनीलाई २१.३८ प्रतिशत बोनस सेयर तथा ४.६२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले हिमालयन बैंकलाई साधारणसभा गर्नको लागि स्वीकृत गरेको वार्षिक प्रतिवेदनमा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जानुपर्ने निर्णय गरेका थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई दिएको लाभांश सेयरधनीको खातामा आएपनि हिमालयन बैंकको भने आएको छैन । राष्ट्र बैंकको कानूनी व्यवस्था अनुसार यसबाहेक हिमालयन बैंकलाई शाखा कार्यालय खोल्न राष्ट्र बैंकले अनुमति नदिने तथा राष्ट्र बैंकबाट पाउने नियामकिय सुविधा हिमालयन बैंकले पाउने छैन । यसको अर्थ हिमालयन बैंकले पुनरकर्जा,एसएलएफ लगायतका मौद्रिक उपकरणहरु प्रयोग गर्न पाउने छैन ।

राष्ट्र बैंकले हिमालयनका सञ्चाललाई समेत समेत गराउने छ । गत बैशाखदेखि हिमालयन बैंकको दोस्रो बजारमा रोक्का रहेको सेयर कारोबार समेत फुकुवा नहुन सक्छ ।

राष्ट्र बैंकले अर्को संस्थासँग मर्जरमा गएपछि मात्र कारवाही फुकुवा गर्न सक्ने कानूनी व्यवस्था छ । यस्तो अवस्थामा हिमालयन बैंकलाई समस्या भने पर्न सक्छ । हिमालयन बैंकले अरु संस्थासँग कारवाहीबाट बच्नको लागि मर्जरको तयारी समेत गरेको छ ।

तर,निर्णय भने भएको छैन । पहिला हिमालयन बैंकलाई मर्जरको प्रस्ताव गर्ने बैंकहरुको भन्दा अब हिमालयन बैंकलाई मर्जरको आवश्यक्ता भएको हुँदा अरु संस्थाको बार्गेनिङ पावर बढेको छ ।


क्लिकमान्डु