तरलता समस्या समाधान गर्न एडीबीसँग एक अर्ब डलर बढी सहुलियत ऋण दिन गोल्यानको माग



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)का अध्यक्ष पवन कुमार गोल्यानले आर्थिक संकटको बेलामा एडीबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरे ।

राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो अनुरोध गरेका हुन् । उक्त सहयोगले गर्दा तरलताको समस्या समाधान हुने र बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने उनको भनाइ छ ।

कोरोना महामारीले थला परेका उद्योग पूर्ण क्षमतामा संचालन भए आर्थिक कृयाकलाप चलायमान हुने निश्चित रहेको उनले बताए ।

अहिलेको कठिन समयमा देशका वाणिज्य बैंकहरूले उपभोग गर्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट व्यावसायिक ऋण ल्याउन एडीबीको सहजीकरण आवश्यक रहेको अध्यक्ष गोल्यानले बताए । ‘हाल नेपालको आयात ४२ प्रतिशतभन्दा बढीले बढेको छ, रेमिट्यान्स निकै न्यून छ र बीओपी पनि २४७ अर्ब ३ करोडले घाटामा छ’ उनले भने ‘यस्तो कठिन समयमा, वित्तीय क्षेत्रलाई सुदृढ गर्न, निर्यात क्षमता बोकेका स्वदेशी उद्योगहरूलाई प्रबर्धन गर्न, प्रत्यक्ष च्यानलहरू मार्फत (एमएसइज) लाई ऋणमा राम्रो पहुँच बनाउन एडीबीको आर्थिक सहयोग धेरै आवश्यक भएको छ, जसले दिगो अर्थतन्त्रका लागि उत्पादक, कृषक क्षमता बलियो बनाउन मद्दत गर्छ ।’

कार्यक्रममा सीबीफीनले एसियाली विकास बैंक (एडीबी) सँगको सहकार्यमा आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्त रूपमा काम गर्न सम्झौता भएको छ ।

नेपाल भ्रमणमा आएका प्रतिनिधिमण्डलले वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनका लागि सीबीफीनसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

दक्षिण एसिया मामिला हेरिरहेका एडीबी मनिलाका उपमहानिर्देशक मनमोहन परकाशले नबिन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर क्रेडिट, विश्वव्यापी बजार अवसरहरू, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिए ।
‘साना तथा मझौला व्यवसयीहरुलाई बिनाधितो कर्जा उपलब्ध गराउनु पर्ने र उनीहरु दिगो रुपमा आफ्नो ब्यवसाय संचालन गर्न सक्छन’ उनले भने ‘ एमएसएमईहरुबाट ठूलो रोजगारी सृजना हुने हुनाले यी उद्योगहरूलाई वित्तीय पहुच, बजार र पूर्वाधारसंगै सीपको सहित सहयोग गरिनुपर्छ’ उनले भने ।

परकाशले कुनै प्रकृयागत अवरोध बिना उचित ब्याजदरमा जोड र्दिए । एमएसएमईहरुलाई प्रभावकारी रूपमा सञ्चालन गर्न धितो रहित ऋण दियो भने मात्र उनीहरु बाच्न सक्ने उनको भनाइ छ ।

महिला नै समाजका वास्तविक परिवर्तनका संवाहक भएको भन्दै उनले महिलालाई सीप र सहज वित्तीय पहुचको माध्यमबाट ब्यवसाय प्रबर्धन गरी दिगो बनाउन सक्यो भने अर्थतन्त्रलाई ठुलो सहयोग पुग्ने सुझाव दिए ।


क्लिकमान्डु