अब देशमै बीमाको विशिष्टिकृत पढाई हुने, नेपाल बीमा एकेडेमी स्थापना गरिँदै



काठमाडौं । नेपालमै बीमासम्बन्धी विषयको विशिष्टिकृत पठनपाठन हुने भएको छ । बीमाको बारेमा चेतना र दायरा बढाउन बीमा सम्बन्धी अध्ययन अध्यापन गराउने एकेडेमी स्थापना गरिने भएको हो ।

सात दशक लामो बीमा व्यवसायको इतिहासमा अपेक्षाकृतरुपमा बीमाको दायरा विस्तार हुन सकेको छैन । त्यसैगरी बीमाको विकास पनि हुन सकेको छैन ।

अझै पनि बीमामा दक्ष जनशक्तिको अभाव छ । बीमाको विकास, अध्ययन अनुसन्धान गर्ने र व्यवसायिक जनशक्ति उत्पादन गर्नका लागि नेपालमा बीमा एकेडेमी स्थापना गरिने भएको हो । जसका लागि बीमा समितिले गृहकार्य थालेको छ ।

नेपाली बीमा बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ बीमाको विषय पठनपाठन गर्नका लागि एकेडेमी ल्याउन लागिएको हो ।

नेपालमै एउटा बीमा कलेज स्थापना गरेर बीमाको पठनपाठन गराउने उद्देश्यले उक्त एकेडेमी स्थापना गर्न लागिएको समितिले जानकारी दिएको छ ।

नेपालमा बीमा पढाई हुने कलेज छैनन् ।

हुन त नेपालका केही विश्वविद्यालयले बीमासम्बन्धी विषयको आंशिक पठनपाठन गराउँदै आएका छन् । नेपालमा पनि पोखरा विश्वविद्यालयले बैंकिङ एण्ड इन्स्योरेन्स अन्र्तगत ४ वर्षे स्नातक तहको कोर्ष संचालन गर्दै आएको छ ।
तर, आजसम्म नेपालमा बीमा सम्बन्धी विशिष्टिकृत पढाईको व्यवस्था गरिएको छैन ।

बीमा विषयको विशिष्टिकृत विषय पठनपाठन नहुँदा नेपालमै बीमामा दक्ष जनशक्ति पनि उत्पादन गर्न नसकिएको अवस्था छ ।

सो समस्या समाधान गर्दै बीमासँग सम्बधीत जनशक्ति नेपालभित्रै उत्पादन गर्ने लक्ष्यका लागि बीमा एकेडेमी स्थापना गर्न लागिएको हो ।

‘नेपाल मै एउटा बीमा कलेजको स्थापना गरेर बीमाको पठन पाठन गराउ भन्ने हो,’ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले क्लिमाण्डूसँग भने, ‘जसका लागि गृहकार्य भइरहेता पनि निष्कर्षमा पुग्न बाँकी छ ।’

सिलवालका अनुसार बीमा एकेडेमी नेपालका लागि आवश्यक हुने ठहर गर्दै बीमा समितिको बोर्डले स्वीकृत गरिसकेको छ । जसका लागि सैद्दान्तिक सहमति लिनका लागि समितिले अर्थमन्त्रालय पठाएको छ ।

तर, अर्थमन्त्रालयले भने स्वीकृत गर्न बाँकी रहेको समितिले जानकारी दिएको छ ।

बीमा बजारमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि विशिष्टिकृत पढाई हुने कलेज स्थापना गर्नका लागि पहल गरिएको अध्यक्ष सिलवालको भनाइ छ ।

बीमा बजारमा दक्ष जनशिक्त उत्पादन गर्नका लागि नेपालमै बीमा सम्बन्धी पठनपाठन गर्ने कलेजको आवश्यकता महशुस भएको उनको भनाइ छ ।

बीमा विषय अध्यापन गर्नका लागि स्थापन गरिने त्यस्तो कलेजले बजारमा अभाव भएको दक्ष जनशक्तिको परिपूर्ति गर्नमा सहयोग गर्ने उनको बुझाइ छ ।

‘बीमा समितको बोर्डले स्वीकृत गरेर सैद्दान्तिक सहमतिका लागि अर्थमन्त्रालय पठाएको हो । अर्थबाट सहमति आउन बाँकी छ,’ उनले भने ।

समितिले कुन विश्वविद्यालय अन्र्तगत रहेर अगाडी बढ्ने भन्ने टुङ्गो लगाउन बाँकी भएको बताएको छ ।

तर, पोखरा विश्वविद्यालयसँग भने छलफल भएको समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजु रमण पौडेलले बताए ।

अर्थमन्त्रीले नै नेपालमा बीमा एकेडेमी खोल्नका लागि पहल गर्न भनेका थिए । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष, समितिका अध्यक्ष र अर्थमन्त्रीको छलफल भएपश्चात एकेडेमीको लिड समितिले गर्ने निष्कर्ष निस्किएको थियो ।
सोही बमोजिम बीमा समितिको बोर्डले पारित गरी सैद्दान्तिक रुपमा स्वीकृतिको लागि अर्थमन्त्रालयमा माग गरेको हो ।

पोखरा विश्वविद्यालयका भिसिसँग भेट गरेर प्रारम्भिक छलफलसमेत भएको छ ।

‘अन्य मुलुकमाजस्तै नेपालमा पनि बीमाको छुट्टै पढाई होस् । बीमाकै दक्ष जनशक्ति उत्पादन गर्नका लागि बीमाको एकेडेमी स्थापना गर्ने मुख्य लक्ष्य हो,’ कार्यकारी निर्देशक पौडेलले भने ।

अर्थमन्त्रालयले स्वीकृत दिएपछि प्रबन्धपत्र, लगानीका कुराहरु आउने उनको भनाइ छ ।

उनकाअनुसार एकेडेमीमा कुन कुन क्षेत्रको लगानी हुने भन्ने कुरा छलफल कै विषय छ । अर्थमन्त्रालयबाट सैद्दान्तिक स्वीकृत पाएपछि एकेडेमी स्थापनाका लागि अन्य प्रक्रिया चालिने उनले जानकारी दिए ।


क्लिकमान्डु