बीमा समिति दाबी भुक्तानी वर्ष मनाउँदै, तर बीमितले पाएनन् साढे २८ अर्ब



काठमाडौं । बीमितले भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिमलाई कम गर्न सहज होस् भनेर बीमा गर्छन् । तर, बीमितले दाबी भुक्तानी सम्बन्धी बीमकले तोकेका सबै शर्त बमोजिम दाबी गर्दा पनि कम्पनीबाट पाउनुपर्ने रकम समयमै पाउँदैनन् ।

दाबी सम्बन्धी आवश्यक शर्त तथा कागजात पेश गर्दा पनि कम्पनीहरुले समयमा भुक्तानी नदिएर झुलाउने गरेका छन् । बीमा कम्पनीहरुले दाबी भुक्तानीलाई प्राथमिकतामा राखेको बताउँदै आए पनि भुक्तानी हुन बाँकी दाबी बापतको रकम भने बढ्दै गएको तथ्यांकले देखाएको छ ।

कम्पनीहरुले बीमितलाई हालका दिनमा करिब ३० अर्ब रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।

बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो पार्ने उद्देश्यका साथ दाबी भुक्तानी मार्गदर्शन समेत जारी गरि कार्यान्वयनमा ल्याएको थियो । तर, कम्पनीहरुले समयमै भुक्तानी नगर्दा भुक्तानी गर्नुपर्ने रकम वर्षेनी थपिँदै गएको हो ।

चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार सीमित बीमा कम्पनी बाहेकका अन्य कम्पनी नाफामै छन् । जसका आधारमा पनि कम्पनीहरुले बीमितलाई भुक्तानी दिनुपर्ने हो । हुन त बीमाशुल्क लिएर बीमालेख जारी गरिसकेपछि बीमा कम्पनीले बीमितलाई भुक्तानी गर्नैपर्छ ।

बीमालेख जारी गरिसकेपछि नाफा घाटा जे भए पनि भुक्तानी गर्नुपर्ने कम्पनीहरुको दायित्व नै हो । तर, सो बमोजिम समयमै कम्पनीहरुले भुक्तानी गरेको देखिदैन ।

बीमा समितिद्वारा जारी बीमा दाबी भुक्तानी मार्गदर्शनअनुसार दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गरेको सात दिनभित्र भुक्तानी दिनुपर्ने हुन्छ । निर्जीवन बीमा कम्पनीको दाबी भुक्तानीको हकमा भने कुनै दुर्घटना भएको जानकारी पाउने बित्तिकै बीमा कम्पनीले सर्भेयर खटाउनु पर्नेछ ।

सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र कम्पनीको दायित्व निर्धारण गरी कम्पनीसमक्ष पेश गर्नुपर्छ  । सर्भेयरले कम्पनीसमक्ष प्रतिवेदन पेस गरेको ३५ दिनभित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

जीवन बीमातर्फ १९६४ दाबीको ४ अर्ब र निर्जीवनतर्फ २४ अर्ब बाँकी
हाल बीमा कम्पनीहरुले साढे २८ अर्बबढी रकमको दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीहरुले प्रकाशित गरेको तथ्यांकअनुसार कम्पनीहरुले २८ अर्ब ५७ करोड ३४ लाख रुपैयाँको भुक्तानी गर्न बाँकी छ ।

थै, निर्जीवन बीमा कम्पनीहरुले १ लाख १० हजार ११८ बीमा दाबी वापत २४ अर्ब ७१ करोड ९२ लाख रुपैयाँ भुक्तानी गरेका छैनन् ।

गत आवको सोही अवधिमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी रहेको रकम १४ अर्ब ३९ करोड २७ लाख रुपैयाँ थियो । कोरोना बीमाको भुक्तानी हुन बाँकी रकम समेत समावेश गरेका कारणले भुक्तानी गर्न बाँकी रहेको रकम बढी रहेको निर्जीवन बीमा कम्पनीहरुको भनाइ छ ।

यस्तै, जीवन बीमा कम्पनीहरुले एक हजार ९६४ वटा दाबीवापत तीन अर्ब ८५ करोड ४२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको तथ्यांक छ ।

दाबी भुक्तानी वर्ष मनाउँदै बीमा समिति
बीमा समितिले चालु आर्थिक वर्षलाई बीमा दाबी भुक्तानी वर्षका रुपमा मनाउँदै आएको छ ।

समितिले दाबी भुक्तानीलाई सरल, सहज एवम् छिटो, छरितो बनाउनका लागि भन्दै चालु आवलाई दाबी भुक्तानी वर्षका रुपमा लिँदै आएको हो ।

बीमा दाबी भुक्तानीलाई सहज र सरल बनाई बीमा गर्न उत्साहित हुने खालको वातावरण सृजना होस् भन्दै समितिले यस वर्षलाई बीमा दाबी भुक्तानी वर्षका रुपमा मनाउन लागेको हो ।

दाबी भुक्तानीलाई सरल, सहज एव्म छिटो छरितो बनाउँदा बीमा गर्न उत्साहित हुने समितिको दावी छ । जसका लागि समितिले बीमा कम्पनीका दाबी भुक्तानी शाखाका प्रमुख, अण्डरराइटिङ विभागका प्रमुखहरुसँग अन्तरक्रिया समेत गरिसकेको छ ।

बीमा समितिले बीमा दाबी भुक्तानीका आधारमा बीमा कम्पनीहरुको वर्गीकरण गरिने बताउँदै आएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल नेपालमा सर्वसाधारणले बीमालाई राम्रो नजरले नहर्ने बताउँछन् ।

जसका पछाडि कम्पनीहरुले समयमा नै दाबी भुक्तानी नदिनु प्रमुख कारण रहेको उनको तर्क छ । सर्वसाधारणमा बीमाप्रति बढ्दै गएको वितृष्णा मेटाउनका लागि समितिले दाबी भुक्तानी वर्ष मनाउँदै आएको उनले बताए ।

उनका अनुसार चालु आवभित्रमा कम्पनीहरुमा भुक्तानी हुन बाँकी रहेको रकम सकाउने लक्ष्य समितिले लिएको हो । जसका लागि बीमा कम्पनीका अण्डरराइटिङ विभागका प्रमुखहरुसँग पटकपटक छलफल समेत गर्दै आएको उनले जानकारी दिए ।

‘बीमाप्रतिको विश्वस्नीयता घट्नुको कारण समयमै दाबी भुक्तानी नपाउनु नै हो,’ उनले भने ।

उनले कम्पनीहरुले दाबी सम्बन्धी सबै प्रक्रिया पुगेको अवस्था छ भने बीमितलाई विभिन्न कारण देखाएर भुक्तानी नरोक्न समेत आग्रह गरे । बीमा कम्पनीको अन्डर राइटिङमा भएको गल्तीको सजाय बीमितलाई दिनु नहुने उनले बताए ।

कम्पनीहरुको अन्डरराइटिङ स्पष्ट हुनुपर्ने उनको भनाइ छ । उनले बीमितलाई उनीहरुले पाउनुपर्ने रकमका बारेमा समेत कम्पनीले जानकारी दिनुपर्ने बताए ।

बीमा कम्पनीको दाबी भुक्तानीको अवस्थालाई हेरेर बीमा कम्पनीको वर्गीकरण गरिने समेत उनले जानकारी दिए । दाबी भुक्तानीलाई आधार मानेर मात्रै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको म्याद थप लगायतका विषयमा निर्णय गर्ने समेत समितिको भनाइ छ ।

दाबी भुक्तानीलाई आवश्यक कागजात पुगेका बीमितलाई उनीहरुले पाउने पर्ने रकम नरोकिने कम्पनीहरुको भनाइ छ । दाबी भुक्तानीका लागि चाहिने आवश्यक कागजात नपुर्याई दाबी गर्दा कम्पनीहरुमा भुक्तानी गर्नुपर्ने रकम बढी देखिएको उनीहरुको भनाइ छ ।

बीमितले दाबी सम्बन्धी आवश्यक कागजात समयमै बीमा कम्पनीसमक्ष पेश गर्न नसक्दा भुक्तानीमा ढिलाई हुने गरेको कम्पनीहरुको तर्क छ ।


क्लिकमान्डु