१९ जीवन बीमा कम्पनीका एक्चुरीलाई बीमा समितिले दियो स्वीकृत
काठमाडौं । बीमा समितिले सञ्चालनमा रहेका जीवन बीमा कम्पनीका एक्चुरीलाई स्वीकृत दिएको छ ।
समितिले १९ वटै जीवन बीमा कम्पनीले नियुक्त गरेका एक्चुरीलाई स्वीकृत दिएको हो ।
बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा जीवन बीमा व्यवसाय गर्ने सबै जीवन बीमा कम्पनीले विदेशी एक्चुरीलाई नियुक्त गरेका छन् ।
७० वर्षे बीमाको इतिहासमा अझै पनि नेपालले बीमा क्षेत्रका लागि चाहिने महत्वपूर्ण जनशक्ति एक्चुरी उत्पादन गर्न सकेको छैन । जसले गर्दा नेपाली जीवन बीमा कम्पनीहरु विदेशी एक्चुरीको भर पर्दै आएका छन् ।
बीमा कम्पनीहरुले बीमांकीय मूल्याङ्कनका लागि विदेशी एक्चुरीको भर पर्नुपर्ने बाध्यता छ ।
आफ्नै देशमा एक्चुरी नहुँदा बीमा कम्पनीहरु मात्रै होइन बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति समेत विदेशी एक्चुरीको भर पर्दै आएको छ ।
जसकारण विदेशी एक्चुरीलाई वर्षेनी अर्बौ रुपैयाँ बुझाउनुपर्ने बाध्यता छ ।
एक्चुरी कुनै विश्वविद्यालयको औपचारिक उपाधि नभइकन चार्टर्ड एकाउण्टेण्ट जस्तै पेशागत उपाधि हो ।
एक्चुरीलाई बीमा क्षेत्रसँग जोडेर मात्रै हेर्ने गरिन्छ । तर, यो जनशक्तिको आवश्यकता अर्थतन्त्रको विकासका लागि सरकारी तथा निजी क्षेत्रमा उत्तिकै महत्व हुने विज्ञहरु बताउँछन् ।
विश्वको कुनै एक संस्थाबाट एक्चुरीको उपाधि हासिल गरेका व्यक्तिले जुनसुकै देशमा पनि काम गर्न पाउने व्यवस्था छ ।
बीमा कम्पनीहरुको वित्तीय विवरण तयार पार्नेदेखि लिएर नयाँ बीमा योजना बनाउन एक्चुरीको आवश्यकता पर्छ ।
बीमा क्षेत्रका मूख्य काम बीमाशुल्क निर्धारण गर्न, बीमा दाबी पर्ने संख्याहरुको पूर्वानुमान लगाउन, कम्पनीको सम्पत्ति वा दायित्वको अवस्थाको मूल्याङ्कन गर्न तथा बोनस दर निर्धारण गर्ने लगाएतका अन्य काम एक्चुरीले गर्छन् ।
नेपाली बीमा बजारमा एक्चुरीको अभावलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले विगत चार वर्षदेखि एक्चुरीको प्रारम्भिक अध्ययापन गराउदै आएको छ ।
त्रिभुवन विश्वविद्यालयले विज्ञान संकायअन्र्तगत २०७३ साल असोजबाट बीमांकी विषय अध्यापन गराउँदै आएको छ ।
बीमा क्षेत्रमा रहेको एक्चुरी अभावलाई अन्त्य गर्ने लक्ष्य स्कुलले लिएको छ ।