जीवन बीमा कम्पनीलाई साक्षरता कार्यक्रम सञ्चालन गर्न समितिको निर्देशन



काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।
समितिले सञ्चालनमा रहेका १९ वटै जीवन बीमा चार/चार वटा जिल्लामा बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न दिर्नेशन दिएको हो ।

बीमा समितिले यसअघि निर्जीवन बीमा कम्पनीहरुलाई कृषि बीमा गर्न जिल्ला तोकेको थियो । अहिले भने समितिले बीमा साक्षरता कार्यक्रम गर्न जीवन बीमा कम्पनीलाई जिल्ला तोकिदिएको हो ।

बीमा साक्षरता अभिवृद्धिका लागि समितिले सञ्चालनमा रहेका सबै जीवन बीमा कम्पनीलाई चार/चार वटा जिल्लामा जान निर्देशन दिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए ।

बीमा कम्पनीहरुले बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न पर्याप्त मात्रामा चासो नदेखाएपछि बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिएको हो ।

उनका अनुसार आ-आफ्नो भागमा परेको जिल्लामा गई ती जीवन बीमा कम्पनीले आफ्नै कम्पनीको तथा कम्पनीमा भएका बीमा योजनाका बारेमा प्रचार प्रसार गर्नुपर्ने छ ।

‘तोकिएका जिल्लामा गएर कम्पनीहरुले आफ्नो कम्पनीमा भएका बीमा योजनाका बारेमा प्रचार–प्रसार गर्ने, आफ्नो कम्पनीमा बीमा गर्दा हुन सक्ने फाइदाका बारेमा जानकारी दिनुपर्छ,’ उनले भने, ‘जसका लागि कम्पनीहरुले स्थानीय निकायसँग सहकार्य गर्न सक्नेछन् ।’

स्थानीय निकायहरुसँग सहकार्य गर्दा बीमा सचेतना बढ्ने उनको भनाइ छ ।

व्यक्ति व्यक्तिलाई भेटेर बीमाको शिक्षा दिन नसकिने उनले बताए । त्यसैले बीमाको साक्षरता बढाउनका लागि स्थानीय निकायसँग नै सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

स्थानीय निकायलाई बीमाको महत्व र फाइदाका बारेमा बुझाउन आवश्यक देखिएको समितिको भनाइ छ ।

स्थानीय निकायका जनप्रतिनिधिलाई बीमाको फाइदा र आवश्यकता बुझाउने हो भने त्यहाँ भएका जनतालाई बीमा बुझाउन सहयोग गर्ने समितिको निष्कर्ष छ ।

बीमाको दायरा बिस्तार गर्नका लागि समितिसँग सहकार्य गर्न प्रदेश सरकार तयार भएको समेत समितिले जानकारी दिएको छ ।

समितिकाअनुसार जीवन बीमा कम्पनीहरुले जीवन बीमासम्बन्धी र निर्जीवन बीमा कम्पनीहरुले निर्जीवन बीमासम्बन्धी नै साक्षरता कार्यक्रम गर्नुपर्ने हुन्छ ।

‘बीमा कम्पनीहरु सहरमा मात्रै सीमित भए । बीमा कम्पनीहरुलाई मुलुकमा स्थानीय तह छ भन्ने पनि थाहा छैन,’ सिलवालले भने, ‘समितिले बीमा सचेतना फैलाउनका लागि नयाँ कदम चालिएको हो । जसमा कम्पनीहरुले आफ्नै प्रचार प्रसार गर्न समेत पाउँछन् ।’

बीमा कम्पनीहरु सहर केन्द्रित भएको र दूरदराजमा बीमाको पहुँच पुग्न नसकेको भन्दै सचेतना बढाउनका लागि कम्पनीहरुलाई जिल्ला तोकेर कार्यक्रम गर्न निर्देशन दिएको हो ।

सहर बाहिरको व्यवसायसम्म कम्पनी पुग्न नसकेको समितिको भनाइ छ ।

बीमा कम्पनीहरु सहर केन्द्रित हुँदा स्थानीय तहमा पहुँच पुग्न नसकेको समितिको निष्कर्ष छ ।

निर्जीवन बीमा कम्पनीलाई कृषि बीमा गर्नका लागि समितिले जिल्ला तोकिदिएको थियो । सोही बमोजिम निर्जीवन बीमा कम्पनीहरुले तोकिएको जिल्लामा कृषि बीमा गर्नुपर्छ ।

यस्तै, सो जिल्लामा कम्पनीहरुले बीमा साक्षरता कार्यक्रम समेत सञ्चालन गर्नुपर्ने त्यसको विवरण बुझाउनु पर्ने समितिको भनाइ छ ।

बीमा समितिले पनि बीमाको जनचेतना बढाउनका लागि भन्दै देशका एक सय भन्दा बढी स्थानीय निकायमा गएर साक्षरता कार्यक्रम सञ्चालन गरिसकेको छ । बाँकी रहेका जिल्लामा समेत पुनः कार्यक्रम सञ्चालन गर्ने समितिको योजना छ । जीवन बीमा कम्पनीहरुलाई कार्यक्रम संचालन गर्नका लागि समितिले जिल्ला छुट्ट्याइदिएको छ ।

कुन कम्पनीलाई कुन जिल्ला ?
समितिले हिमाली, तराई, पूर्वी पहाडी र पश्चिम पहाडी गरी जिल्ला विभाजन गरेको छ । समितिका अनुसार राष्ट्रिय बीमा संस्थानले रसुवा, महोत्तरी, तनहुँ र दैलेख जिल्लामा कार्यक्रम संचालन गर्नुपर्ने छ ।


क्लिकमान्डु