लघुवित्तको आकर्षण लुम्बिनी प्रदेशमा, मर्जरले धमाधम घट्दै संस्था



काठमाडौं । मर्जरका कारण लघुवित्त वित्तीय संस्थाको संख्या घटिरहेको छ ।

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनले लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घटेकाे देखाएको छ ।

२०७८ असार मसान्तसम्ममा ७० वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा पुस मसान्तसम्ममा उक्त संख्या घटेर ६७ कायम भएको छ । ६७ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये ४ वटा थोककर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६३ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् ।

लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असारको तुलनामा २०७८ पुस मसान्तमा ७.४४ प्रतिशतले वृद्धि भई ४ हजार ९ सय ६५ पुगेको छ । सो अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको केन्द्र संख्या ११.४३ प्रतिशतले वृद्धि भई ४ लाख ४ हजार, सदस्य संख्या ८.२९ प्रतिशतले वृद्धि भई ५६ लाख २२ हजार, ऋणी संख्या ५.९७ प्रतिशतले वृद्धि भई ३१ लाख ७१ हजार पुगेको अध्ययनले देखाएको छ ।

लघुवित्त वित्तीय संस्थाहरुमा २३ हजार २ सय ८१ जना कर्मचारीहरु कार्यरत रहेका छन् । जुन २०७८ असारमसान्तको तुलनामा ११.५४ प्रतिशतले बढी हो । प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको देखिन्छ । पुस मसान्तसम्ममा उक्त प्रदेशमा लघुवित्त वित्तीय संस्थाको ११३५ वटा शाखाहरु संचालनमा रहेका छन् ।

दोस्रोमा मधेश प्रदेश रहेको छ । मधेश प्रदेशमा लघुवित्त वित्तीय संस्थाको १०३१ शाखा रहेका छन् । यसैगरी प्रदेश नं. १ मा लघुवित्त वित्तीय संस्थाको ८४९ शाखाहरु, बाग्मती प्रदेशमा ७२० शाखाहरु, गण्डकी प्रदेशमा ५६३, कर्णाली प्रदेशमा २२५ र सुदुर पश्चिम प्रदेशमा ४४२ शाखाहरु संचालनमा रहेका छन् ।


क्लिकमान्डु