१० अर्बको सूचना महामार्ग परियोजना अलपत्रः ४० करोड लिएर युटिएल गायब, एनटीसी साह्रै सुस्त



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिरणले मुलुकभर अप्टिकल फाइबर विछ्याउन भन्दै झन्डै १० अर्ब रुपैयाँको मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमूकाम जोड्ने सूचना महामार्ग परियोजना अलपत्र परेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको माघ महिनाको एमआईएस रिपोर्टअनुसार ‘व्याकबोन’का रुपमा हेरिएको सूचना महामार्गको प्रगति निराशाजनक छ । प्राधिकरणले परियोजनालाई तीन प्याकेजमा बाँडेर नेपाल टेलिकम र युटिएलसँग सम्झौता गरिएको थियो ।

यी तीन प्याकेजको सूचना महामार्ग परियोजना सम्पन्न गर्न प्राधिकरणले ९ अर्ब ८९ करोड १७ लाख रुपैयाँ खर्च गर्ने सम्झौता गरेको थियो । सम्झौता रकममध्ये १ अर्ब १४ करोड ५५ लाख रुपैयाँभन्दा धेरै एड्भान्स रकम भुक्तानी भइसकेको छ ।

नेपाल टेलिकमले प्याकेज १ अन्र्तगत प्रदेश १, २ र बागमति र प्याकेज ३ अन्र्तगतको कर्णााली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर विछ्याउने सम्झौता भएको थियो । त्यस्तै, अर्को टेलिकम कम्पनी युटिएल गण्डकी र लुम्बिनी प्रदेशमा उक्त परियोजना सम्पन्न गर्न सम्झौता गरिएको थियो ।

प्राधिकरणले दुई टेलिकम कम्पनीलाई तीनवटा प्याकेज जिम्मा लगाए पनि लामो समयसम्म परियोजना अगाडि बढ्न सकेका छैनन् । प्याकेज ३ को जिम्मा पाएको भारतीय लगानीको युटिल बन्द भइसकेको छ । सेवा बन्द हुनुअघि प्राधिकरणले २ वर्षभित्र कार्य सम्पन्न गर्ने सर्त राख्दै सम्झौता गरेको थियो । तर, उसले काम अगाडि नबढाएपछि प्राधिकरणले सम्झौता रद्द गर्यो ।

प्राधिकरणको उक्त निर्णय बदर गर्न युटिएल सर्वोच्च पुग्यो । युटिएललाई साथ दिदै उक्त रिट निवेदनको टुंगो नलागेसम्म रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चबाट अन्तरिम आदेश आयो । प्राधिकरणले युटिएललाई उक्त परियोजनाको लागि एडभान्स रकमवापत ४० करोड २० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । सम्झौताअनुसार युटिएलले गण्डकी र लुम्बिनी प्रदेशमा २ हजार १ सय ६० किलोमिटर अप्टिकल फायबर विछ्याउनु पर्ने छ ।

भुक्तानी लिएर पनि काम नगरेको युटिएलले सर्वोच्चबाट अन्तरिम आदेश लिएर फरार छ । युटिएलले उक्त परियोजना नगर्ने निश्चित हुँदा पनि प्राधिकरणले अर्को कम्पनीसँग सम्झौता गर्न सकेको छैन ।

युटिएल टेलिकम बन्द भएर फरार भएकाले यो परियोजना कहिले नबन्ने परियोजनाका रुपमा रहनसक्ने जोखिम बढेको छ । दुई प्याकेजको जिम्मा पाएको सरकारी स्वामित्वको नेपाल टेलिकमको काम पनि अति सुस्त छ । प्याकेज १ अन्तर्गत केही काम भएको छ भने प्याकेज ३ मा खासै काम हुन सकेको छैन ।

प्राधिकरणको विवरणअनुसार प्याकेज १ मा २ हजार १ सय ७९ किलोमिट अप्टिकल फाइबर विछ्याउनु पर्नेमा १ हजार १ सय ६० किलोमिटर अर्थात ५३.२३ प्रतिशत काम सम्पन्न भएको छ ।

प्याकेज ३ को कामको प्रगति भने शून्य छ । नेपाल टेलिकमले कर्णाली र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ किलोमिटरमा अप्टिकल फाइबर विछ्याउने सम्झौता भएको थियो ।

उक्त परियोजनाको लागि आवश्यक उपकरण आपूर्तिको काम भइरहेको र अन्य प्राविधिक काम भइरहेको प्राधिराणको रिपार्टमा उल्लेख छ ।
नेपाल टेलिकमले प्याकेज १ का लागि ७४ करोड ३५ लाख रुपैयाँभन्दा धेरै एड्भान्स लगिसकेको छ ।


क्लिकमान्डु