यस्तो छ आइपीओ जारी गर्ने तयारीमा रहेका ५ जीवन बीमा कम्पनीको वित्तीय अवस्था



काठमाडौं । बीमा समितिले १० वटा जीवन बीमा कम्पनीलाई एकैपटक लाइसेन्स दिएको थियो ।

व्यवसायको सैद्दान्तिक सहमति एकै पटक पाएका ५ कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर जारी गरिसकेका छन् । तीमध्ये ५ नयाँ जीवन बीमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्न बाँकी छ ।

रिलायवल नेपाल, सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्न बाँकी छ ।

पाँच कम्पनीले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन आउन बाँकी छ । यी पाँच कम्पनीले हाल कायम जारी पुँजीको ३० प्रतिशत बराबरको शेयर निष्काशन गर्नेछन् ।

पाँचमध्ये रिलायबल र सन नेपाल लाइफले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रक्रिया अघिबढाएका छन् ।

रिलायबल नेपाल लाइफले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले प्रिमियमसहित प्रति कित्ता २१२ रुपैयाँका दरले ६० लाख कित्ता शेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदनसमेत दिएको छ ।

यी कम्पनीहरुले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको विवरण अनुसार कम्पनीबीच प्रतिस्पर्धा देखिएको छ । सबै कम्पनीका अधिकांश सूचक बढेका छन् ।

आईपीओ निष्काशनको तयारीमा रहेका ५ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ अर्ब ९४ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् ।

कम्पनीहरुको खुद बीमाशुल्क रकम ५० प्रतिशतले बढाएका हुन् । गत आवको यसै अवधिमा पाँच कम्पनीले ५ अर्ब २९ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका थिए ।

यसमा सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सले २ अर्ब ४२ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले एक अर्ब ३१ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

महालक्ष्मी लाइफ बाहेक अरु सबै कम्पनीले अर्बभन्दा माथि खुद बीमाशुल्क संकलन गर्न सफल देखिएका छन् । खुद बीमाशुल्क संकलनमा कान्छो जीवन बीमा कम्पनी कमजोर देखिएको छ ।

यस अवधिमा रिलायवल लाइफले १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ र सन नेपाल लाइफले एक अर्ब ३१ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् । महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६७ करोड ९१ लाख खुद बीमाशुल्क संकलन गरेको छ ।

नाफामा रिलायबल अघि

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ कम्पनीले ५० करोड रुपैयाँ खुद नाफा गरेका छन् । गत आवकको यसै अवधिको तुलनामा कम्पनीहरुको खुद नाफा ६.८८ प्रतिशतले बढेको हो ।

गत आवको यसै अवधिमा यी ५ कम्पनीले ४६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । यस अवधिमा रिलायबल लाइफले सबैभन्दा धेरै १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

खुद नाफाको आधारमा दोस्रो स्थानमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । सिटिजनले ११ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् नेपाल लाइफले ८ करोड २ लाख रुपैयाँ, आइएमई लाइफले ७ करोड ५२ लाख रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

सिटिजन लाइफको बीमा कोषमा ४ अर्ब ८८ करोड

यस अवधिमा सिटिजन लाइफको जीवन बीमा कोषमा ४ अर्ब ८८ करोड ७१ लाख रुपैयाँ सञ्चित छ ।

आइएमई लाइफको जीवन बीमा कोषमा ३ अर्ब ८७ करोड ९१ लाख रुपैयाँ, रिलायवल लाइफको ३ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ र सन नेपालको ३ अर्ब ६ करोड ६५ लाख रुपैयाँ सञ्चित छ ।

जीवन बीमा कोषमा पनि महालक्ष्मी लाइफ इन्स्योरेन्सको सबैभन्दा कम १ अर्ब ७३ करोड ७४ रुपैयाँमात्रै सञ्चित रहेको छ ।

रिलायबलको जगेडा कोषमा १ अर्ब

यस अवधिमा रिलायबल लाइफको जगेडा कोषमा १ अर्ब ६० लाख रुपैयाँ सञ्चित रहेको छ । यस्तै सिटिजन लाइफको जगेडा कोषमा ८० करोड १४ लाख रुपैयाँ, आइएमई लाइफको ५८ करोड ७२ लाख रुपैयाँ, सन नेपाल लाइफको ३७ करोड ७८ लाख रुपैयाँ सञ्चित छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सको जगेडा कोषमा पनि सबैभन्दा कम २० करोड २८ लाख रुपैयाँ मात्रै सञ्चित रहेको छ ।

तथ्यांकअनुसार चुक्ता पुँजीमा सिटिजन लाइफ अघि देखिन्छ । सिटिजनको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । बाँकी चारवटैको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ ।


बिजया बास्कोटा