कुमारी बैंक प्रकरणः सीइओ हुने आशामा रहेका अनुजमणिलाई अध्यक्षले राजीनामा दिनुस् भनेपछि…



काठमाडौं । सुरेन्द्र भण्डारीको प्रस्ताव मानेर अनुजमणि तिमिल्सिना कुमारी बैंकमा डेपुटी सीइओको रुपमा प्रवेश गर्दा सीइओ हुनेमा ढुक्क थिए ।

कुमारीमा २ वटा डेपुटी सीइओ भएपनि भण्डारीले आफ्नो टीम बनाउन तिमिल्सिनालाई आफूपछिको सीइओ बनाउने शर्तमा भित्र्याएका थिए । कुमारी बैंकले २ वर्षजति कामू सीइओ चलाएका राजिव गिरीलाई सीइओ नदिएर सिद्दार्थ बैंकबाट सुरेन्द्र भण्डारीलाई सीइओ बनाएर भित्राएको थियो ।

राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनी गाभेर आकारमा ठूलो भएको कुमारी बैंकबाट ०७८ असार मसान्तमा भण्डारी ४ वर्षे कार्यकाल पूरा गरेर विदा भए । भण्डारीको ४ वर्षे कार्यकाल पुरा गरेपछि बैंकको सञ्चालक समितिले कामू सीइओको जिम्मा अनुजमणि तिमिल्सनालाई दियो ।

बैंकहरुमा डेपुटी सीइओलाई कामू सीइओ बनाएर फुल सीइओ दिने प्रचलन छ । सो अनुसार तिमिल्सना ३ महिनापछि ४ वर्षे कार्यकालको सीइओ बन्ने तयारीमा थिए ।

तिमिल्सिनाको लागि बैंकमा अवरोध बन्न सक्ने २८ जना उच्च कर्मचारीले अघिल्लो वर्ष नै स्वेच्छिक अवकास लिएका थिए । डेपुटी सीइओद्वय राजीव गिरी र उमेशसिंह भण्डारी सहित २८ जना कर्मचारीले कुमारी छाडेपछि अनुजलाई आफू अनुकुलको टीम बनाउनसमेत सहज थियो ।

असार मसान्तदेखि कामू सीइओ भएका अनुजलाई सञ्चालक समितिले कात्तिकदेखि लागू हुनेगरी फुल सीइओ दिने तयारीमा थियो ।

नक्कली धितो काण्डले अनुजको सपना अधुरो

कुमारी बैंकको सञ्चालक समितिले तिहार पछाडि मंसिरदेखि लागू हुनेगरी अनुजलाई फुल सीइओ बनाउने तयारी गरेको बेला बैंकमा योगेश्वर अमात्यको जग्गा धितो नक्कली धितो राखेर ऋण दिएको खुल्यो ।

गायक अमात्यले प्रहरीमा उजुरी दिएपछि कुमारी बैंकले अमात्यको जग्गा नक्कली लालपुर्जा बनाएर ऋण दिएको खुल्यो । नक्कली जग्गाधनी बनेर एसके महर्जन, मुक्तिलाल गौतमले डेनियल ट्रेडिङ कम्पनीको नाममा अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर कुमारी बैंकबाट १९ करोड ऋण निकालेका थिए ।

प्रहरीमा उजुरी परेपछि नक्कली जग्गा धितो काण्डमा बैंकका कामू सीइओ तिमिल्सिना समेत तानिन सक्ने भएपछि सञ्चालक समितिले सीइओ नियुक्ति तत्काल नगर्ने निर्णय लियो ।

प्रहरीले नक्कली जग्गा धितो प्रकरणमा अनुज दोषी भएको प्रमाण भेटाउन भने सकेन । प्रहरीले अनुजविरुद्ध मुद्दा नचलाए पनि बैंकको सञ्चालक समितिले कामू सीइओ अनुजमणि तिमिल्सना र डेपुटी सीइओ मनिष तिमिल्सिनालाई बैंकबाट विदा गर्ने निर्णय लियो ।

स्रोतका अनुसार बैंकका अध्यक्ष अमिर राणाले अनुज र मनिषलाई राखेर बैंक चलाउदा घाटा हुने देखेपछि उनले दुबैजनालाई सम्मानजनक विदाई गर्ने निर्णय लिए । सो अनुसार राणाले अनुजलाई बैंकले सम्मानजनक बिदाई दिने र फुल सीइओ नबनाउने बताए ।

‘कुमारी बैंकमा तपाईंहरु दुबैजना (अनुज र मनिष)ले पुर्याएको योगदानलाई धन्यवाद, थप सहकार्य हुन सक्दैन,’ राणाले भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

अध्यक्ष राणाले अनुज र मनिषलाई एकवर्ष बराबरको तलब र उनीहरुलाई बैंकले सुविधामा दिएको गाडी दिने प्रस्ताव गरे । सो प्रस्ताव सहमति भएपछि अनुज र मनिष बाहिरिने निर्णय गरे । दुईजनालाई विदा गर्दा बैंकको करिब ३ करोड खर्च भयो ।

‘६ महिनामा कामू सीइओ चलाएको आधारमा अनुजले बैंक चलाउन सक्ने संकेत देखिएको थिएन, नक्कली जग्गा धितो काण्ड आएपछि सञ्चालक समितिले बिदाई गर्ने निर्णय लियो,’ स्रोतले भन्यो ।

रामचन्द्रलाई आएको अवसर

दुईवर्ष अगाडि कुमारी बैंकमा रामचन्द्र खनाल बरियताक्रमको हिसाबले सातौं नम्बरमा थिए । २ वर्षमा नै खनाललाई भने बैंकमा ठूलो जिम्मेवारी आएको छ । २ वर्षअघिको स्थितिमा हेर्दा रामचन्द्र खनाल यतिछिटो कामू सीइओ बन्छन् भन्ने कल्पना कसैको थिएन । तर, खनाललाई जोखिमको जिम्मेवारी लिएका छन् । अनुजमणि र मनिष बाहिरिएपछि बैंकले रामचन्द्र खनाललाई कामू सीइओको जिम्मेवारी दिएको छ ।

बैंक स्रोतका अनुसार खनालको काम हेरेर फुल सीइओ दिने वा नदिने निर्णय पछि हुने छ । खनालको काम सञ्चालक समितिले चित्त बुझाएमा उनलाई फुलको सीइओको जिम्मेवारी दिने बैंक स्रोतले क्लिकमाण्डूलाई जानकारी दियो ।

‘केही महिना काम हेरेपछि रामचन्द्रलाई फुल सीइओ बनाउने वा नबनाउने निर्णय हुन्छ,’ स्रोतले भन्यो ।

कुमारी बैंकमा कामू सीइओ भएपछि सीइओ बन्ने ग्यारेन्टी भने छैन । राजिव गिरी र अनुज कामूबाटै सीइओ नबनेर बाहिरिएका हुन् ।

मर्जरमा खुल्ला, केही वाणिज्य बैंकसँग कुरा

राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स गाभेर आकार ठूलो बनाएको कुमारी बैंक अहिले केही वाणिज्य बैंकसँग मर्जरको कुराकानीमा छ । कुमारीको ब्राण्ड जोगिने गरेर स्वाप रेसियोमा मर्ज हुनसक्ने कुमारी बैंक स्रोतले जानकारी दियो ।

बैंक अहिले विकास बैंक र फाइनान्सभन्दा पनि वाणिज्य बैंकसँग मर्जर गर्ने तयारीमा छ । एक चरणमा सेञ्चुरीसँग कुरा भएपनि त्यो सञ्चालकहरुबीच कफीगफमा मात्र सिमित भएको थियो ।


क्लिकमान्डु