निर्जीवन बीमा कम्पनीले २५ अर्ब तिरेनन्, एक वर्षमा ७१% ले बढ्यो



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुमा भुक्तानी गर्न बाँकी रकम एक वर्षमा ७१.७५ प्रतिशतले बढेको छ ।

बीमा कम्पनीहरूले दावी भुक्तानीलाई प्राथमिकतामा राखेको बताउँदै आए पनि भुक्तानी हुन बाँकी दाबी बापतको रकम भने बढ्दै गएको तथ्यांकले देखाएको छ ।

बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो पार्ने उद्देश्यका साथ दाबी भुक्तानी मार्गदर्शन समेत जारी गरि कार्यान्वयनमा ल्याएको थियो ।

तर, कम्पनीहरुले समयमा नै भुक्तानी नगर्दा भुक्तानी गर्नु पर्ने रकम वर्षेनि थपिँदै गएको हो ।

चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरणलाई हेर्दा निर्जीवन बीमा कम्पनीहरुले १ लाख १० हजार ११८ बीमा दाबीबापत २४ अर्ब ७१ करोड ९२ लाख रुपैयाँ भुक्तानी गर्न नसकेका हुन् ।

गत आवको सोही अवधिमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी रहेको रकम १४ अर्ब ३९ करोड २७ लाख रुपैयाँ थियो । कोरोना बीमाको भुक्तानी हुन बाँकी रकम समेत समावेश गरेका कारणले भुक्तानी गर्न बाँकी रहेको रकम बढी रहेको कम्पनीहरुको दावी छ ।

सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आवको दास्रो त्रैमासमा कम्पनीहरुले १ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

जुन गत आवको यसै अवधिको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ४.४५ प्रतिशतले घटेको हो ।

गत आवको पहिलो त्रैमासको अवधिमा कम्पनीहरुले २ अर्ब ८ करोड १८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

कुन बीमा कम्पनीले कति भुक्तानी गर्न बाँकी ?

यस अवधिमा प्रिमियर इन्स्योरेन्स कम्पनीले धेरै भुक्तानी तिर्न बाँकी छ । कम्पनीले ३ अर्ब ८७ करोड रुपैयाँ तिर्न बाँकी छ ।

शिखर इन्स्योरेन्सले १५ हजार ३४६ बीमा दावी वापत २ अर्ब ६० करोड रुपैयाँ बाँकी रहेको छ ।

सगरमाथा इन्स्योरेन्सले ११ हजार ४९८ दाबी वापत २ अर्ब ४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

नेको इन्स्योरेन्स कम्पनीले ९ हजार ६५ बीमा दावी वापत २ अर्ब ३९ करोड रुपैयाँ भुक्तानी बाँकी छ ।

यस्तै, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ८९ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ७३ करोड, लुम्बिनी जनरलले १ अर्ब ६७ करोड, युनाइटेडले १ अर्ब ६० करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ३२ करोड, आइएमई जनरलले १ अर्ब २० करोड, एभरेष्ट इन्स्योरेन्सले १ अर्ब २६ करोड र अजोड इन्स्योरेन्सले १ अर्ब १६ करोड रुपैयाँ कुल दाबी भुक्तानी बाँकी छ ।

सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले २३ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ७७ करोड २६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा प्रभु इन्स्योरेन्सले ५४ करोड ९६ लाख रुपैयाँ, सानिमा जनरलले ४८ करोड ९ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ४७ करोड १४ लाख रुपैयाँ दाबी भुक्तानी बाँकी छ ।


के छ ऐनमा ?

बीमा विनियमावली २०४९ को दफा ३२ अनुसार कुनै दुर्घटना भएको जानकारी पाउने बित्तिकै बीमा कम्पनीले सर्भेयर खटाउनु पर्नेछ ।

सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र कम्पनीको दायित्व निर्धारण गरी कम्पनीसमक्ष पेस गर्नुपर्छ  ।

सर्भेयरले कम्पनीसमझ प्रतिवेदन पेश गरेको ३५ दिनभित्र बीमितलाई दाबी भुक्तानी गर्नु पर्ने व्यवस्था छ ।


क्लिकमान्डु