महासंघ पदाधिकारी बैठक बिहीबार, विधान संशोधनको छैन एजेण्डा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठक बिहीबार बस्दैछ । तर, बिहीबारको बैठकमा पनि बिधान संशोधनको कुनै एजेण्डा छैन ।

कार्यसमिति र विविध गरी जम्मा २ वटामात्रै एजेण्डा भएको एक पदाधिकारीले बताए ।

‘बिहीबार पदाधिकारी बैठक छ तर विधान संशोधनको कुनै एजेण्डा छैन,’ ती पदाधिकारीले भने, ‘विधान संशोधनको कुरा च्याप्टर क्लोज भइसकेको छ ।’

विधान संशोधन कुरा उठेपछि महासंघभित्र तीव्र विवाद भएको थियो । जसकारण अध्यक्ष शेखर गोल्छाले पदाधिकारी र कार्यसमितिको बैठकमा एजेण्डाका रुपमा प्रस्तुत नै गर्न सकेका छैनन् ।

गत माघ २० गते क्लिकमाण्डूसँगको अन्तर्वार्तामा अध्यक्ष गोल्छाले आगामी पदाधिकारी बैठकमा विधान संशोधनको प्रस्ताव लैजाने बताएका थिए । र, विधान संशोधनको मस्यौदालाई अघि बढाउने वा नबढाउने भन्ने कुरा पदाधिकारी र कार्यसमितिको निर्णयमा भर पर्ने बताएका थिए ।

‘साधारणसभासमक्ष मेरो एजेण्डा विधान संशोधनको पनि थियो, साधारणसभासमक्ष गरेको बचाअनुसार मैले कमिटि बनाएको हुँ, कमिटिले सबैसँग छलफल गरेर मस्यौदा पनि बुझाइसकेको छ,’ गोल्छाले भनेका थिए, ‘अब बस्ने पदाधिकारी बैठकमा प्रस्ताव लैजान्छु, अघि बढाउने वा नबढाउने पदाधिकारी र कार्यसमितिको कुरा हो । जे गरे पनि हामी सामूहिक निर्णय गरेर अघि बढ्छौं ।’

खासगरी, बरिष्ठ उपाध्यक्षलाई नै स्वत अध्यक्ष नबनाउने गरी विधान संशोधनको मस्यौदा तयार गरिएको थियो । अहिलेका पदाधिकारी अधिकांश बरिष्ठ उपाध्यक्षका आकांक्षी भएकाले उनीहरुले तीव्र विरोध गर्दै आएका थिए । अहिलेका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल भने यो विषयमा तटस्थ बसेका छन् । ढकाल यही विधानअनुसार स्वत अध्यक्ष हुँदैछन् ।

विधान संशोधनको विषयलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघका बहुमत पदाधिकारीहरुले असन्तुष्टि जनाएका छन् ।

बरिष्ठ उापध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था खारेज गरी अर्को कार्यकालदेखि प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्दै विधान संशोधन समितिले पुस पहिलो साता अध्यक्ष गोल्छालाई मस्यौदा बुझाएको थियो ।

विधान संशोधन समितिका संयोजक कुशकुमार जोशी र सह–संयोजक पशुपति मुरारकाको टिमले बुझाएको उक्त मस्यौदाप्रति बहुमत पदाधिकारीहरु रुष्ट भएपछि बैठकमा यो एजेण्डा नराखिएको महासंघले जनाएको छ ।

‘पदाधिकारीहरुले असहमति जनाएपछि अध्यक्षज्यूले कार्यसमितिमा एजेण्डा बनाउनु भएन,’ स्रोतले भन्यो, ‘उहाँ सकेसम्म सबैलाई मिलाएर अघिबढ्ने सोचमा हुनुहुन्छ । यसबारे पदाधिकारीहरुसँग घनिभूत छलफल गरेर सर्बसहमतिमा पारित हुनेगरी प्रस्ताव लैजाने तयारीमा हुनुहुन्छ ।’

तर, केही पदाधिकारीहरुले भने प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था तत्काल स्वीकार गर्न नसकिने भन्दै सार्वजनिक वक्तव्य नै दिन दिँदै आएका छन् ।

‘हाम्रो भनाइ अझै केही समय बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था हुनुपर्छ भन्ने हो, कसको स्वाथ्र्यमा यो व्यवस्था खारेज गर्न खोजिँदैन, त्यो विस्तारै छर्लङ्ग हुँदै जाने छ,’ एक पदाधिकारीले भने, ‘शेखरजी हामीले मानेको अध्यक्ष हो, तर कसैको उक्साहटमा परेर हामीसँग सल्लै नगरी उहाँले विधान संशोधनको प्रस्ताव ल्याउनु भयो भने हामी पदाधिकारी र कार्यसमितिबाट कुनैपनि हालतमा पास गर्न दिन्नौं । त्यसका लागि हामीसँग स्पष्ट बहुमत छ ।’

एक वर्षदेखि शान्त रहेको महासंघमा विधान संशोधनको विषय बाहिर आएपछि किचलो शुरु भएको छ । विधान संशोधनको किचलोले महासंघले आफ्ना सदस्यहरुको हक र हितका लागि उठाउनुपर्ने यावत विषयमा बलियो प्रस्तुति दिन नसक्ने भन्दै आम उद्योगी व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।


क्लिकमान्डु