ब्याजदर बढ्दा निजी क्षेत्रले व्यवसाय जोगाउन नसक्ने भए : चेम्बर



काठमाडौं । बैंकले ब्याजदर बढाएपछि निजी क्षेत्र निकै त्रसित बनेको छ ।

बैंैकले ब्याजदर बढाएपछि उद्योगी व्यवसायीका छाता संगठनले विरोध जनाइरहेका छन् । चेम्बर अफ कमर्शले पनि विज्ञप्ति जारी गरेर बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा हालै गरिएको ब्याजदर प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

आयातित वस्तुहरुमा एलसीबाट हुने कारोबारमा शत प्रतिशत नगद मार्जिन राख्नु पर्ने प्राबधानले व्यावसायीक क्षेत्रलाइै चुनौति थपिएको बेला निक्षेपमा दिइने ब्याजदर बृद्धिले थप चुनौती सृजना भएकोे चेम्बरको ठहर छ । ब्याजदर बढ्दा निजी क्षेत्र आफ्नो व्यवसाय संरक्षण गर्न नसक्ने अवस्था पुगेको जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ को महामारीले सबै उद्यमी व्यवसायीहरु घरेलु, साना, मझौला तथा ठूला उद्योगहरु आक्रान्त भएको बेला व्यवसायिक गतिविधीलाई शिथिल बनाउने गरी ल्याइएको ब्याजदर वृद्धिले बंैक वित्तिय संस्थालाई मात्रै फाईदा पुग्ने चेम्बरको ठहर छ ।

आयातलाई व्यवस्थितगरी निर्यात प्रर्वद्धन गर्नुपर्ने र रेमिट्यान्सको चुहावटलाई रोक्नुपर्ने बेलामा व्यवसायलाई प्रतिकूल हुने गरी लागू गरिएको बैंकिङ तथा मौद्रिक नीतिले आपूर्तिमा थप समस्या निम्त्याउने, तथा कालान्तारमा यसले बस्तुहरुको उपभोग्य मुल्य बढाउने र प्रतिस्पर्धी क्षमतामा ह्रास आउने भइ निर्यात उद्योग धराशायी हुने र राजश्वमा समेत प्रतिकूल असर पर्ने भएकाले यस तर्फ समयमै केन्द्रीय बैंकको ध्यानाकर्षण हुन अति जरुरी रहेको उल्लेख छ ।

ब्याजदर वृद्धिबाट दीर्घकालीन रुपमा मुलुकको अर्थतन्त्रलाइ नै समस्याग्रस्त पार्ने र तरलता समस्या समाधानका वैकल्पिक उपाय हुँदाहुँदै व्याजदर वृद्धि मार्फत तरलताको दीर्घकालीन समाधान नहुने भएकोले सरकारले पुंजीगत खर्च बढाउन कडा कदम चाल्नु पर्ने चेम्वरको धारणा रहेको उल्लेख छ ।


क्लिकमान्डु