निर्जीवन बीमा व्यवसायः मोटर बीमाको हिस्सा बढी, लघुको न्यून



काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा उच्च देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको पुस महिनाको मासिक तथ्यांकले मोटर बीमाको व्यवसाय धेरै देखिएको हो ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसयामा मोटर बीमाले ३९.५४ प्रतिशत हिस्सा ओगटेको छ । लघु बीमाले सबैभन्दा कम ०.११ प्रतिशत हिस्सा ओगटेको तथ्यांकमा उल्लेख छ ।

सवारी दुर्घटनाबाट हुने नोक्सानीका कारण कुनै अर्को पक्षलाई आर्थिक समस्या नपुगोस् भनेर सरकारले मोटर बीमालाई अनिवार्य लागू गरेको छ ।

सरकारको निर्देशनअनुसार प्रत्येक सवारीधनीले वर्षेनि आफ्नो सवारीसाधनको बीमा गर्नुपर्ने भएकाले यसको अंश अन्य बीमाको तुलनामा बढी भएको हो ।

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पुस महिनामा ३ अर्ब ६७ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरुले पुस महिनामा दुई लाख ६१ हजार ६ सय ८७ वटा बीमालेख जारी सो बराबरको व्यवसाय गरेका हुन् ।

कम्पनीहरुले मोटर बीमाबाट १ अर्ब ४५ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

समितिका अनुसार उक्त अवधिमा बाग्मती प्रदेशबाट कम्पनीहरुले ९३ करोड ६५ लाख रुपैयाँको मोटर बीमा व्यवसाय गरेका छन् ।

मोटर बीमा पछि कुल बीमामा सम्पत्ति बीमाको हिस्सा धेरै छ । चालु आवको पुस महिनामा कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा १८.५९ प्रतिशत छ ।

यस अवधिमा कम्पनीहरुले ६८ करोड २६ लाख रुपैयाँको सम्पत्ति बीमाको व्यवसाय गरेका छन् ।

सम्पत्ति बीमापछि निर्जीवन बीमा व्यवसायमा इन्ञ्जिनियरिङ तथा ठेगेदार सम्पूर्ण जोखिम बीमाको हिस्सा धेरै छ । यस अवधिमा कुल बीमा व्यवसायमा इन्जिनियरिङ तथा ठेग्गा जोखिम बीमाको हिस्सा १७.८५ प्रतिशत छ ।

यस्तै, यस अवधिमा निर्जीवन बीमाको कुल व्यवसायमा विविध बीमाको हिस्सा १०.२९ प्रतिशत, कृषि तथा बाली बीमाको हिस्सा ५.७४ प्रतिशत, सामून्दि«क बीमाको हिस्सा ४.१० प्रतिशत, हवाईको ३.७७ प्रतिशत र लघु बीमाको हिस्सा ०.११ प्रतिशत छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार पुस महिनामा कम्पनीहरुले इन्ञ्जिनियरिङ तथा ठेगेदार सम्पूर्ण जोखिम बीमाबाट ६५ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

विविध बीमाबाट ३७ करोड ७८ लाख रुपैयाँ, हवाई बीमाबाट १३ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

भने कम्पनीहरुले कृषि तथा बाली बीमाबाट २१ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले पुस महिनामा सबैभन्दा कम ३९ लाख रुपैयाँको लघु बीमा व्यवसाय गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, अग्नि बीमा, मोटर बीमा, इन्ञ्जिनियरिङ तथा ठेगेदार सम्पूर्ण जोखिम बीमा, विविध बीमा, कृषि तथा बाली बीमा र लघु बीमा व्यवसाय गर्दै आएका छन् ।


क्लिकमान्डु