इमर्जिङ नेपालकाे आइपीओ निष्कासन, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । इमर्जिङ नेपालले आजदेखि साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । धितोपत्र बोर्डमा अध्यक्ष नहुुँदा लामो समयसम्म रोक्का रहेको आइपीओ निष्काशन शुरु भएको छ । पछिल्लो समय आइपीओमा लगानीकर्ताको आकर्षण निकै बढेको छ ।

इमर्जिङ नेपाल २०७२ साउन ३२ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर २०७२ चैत २६ गतेबाट कारोबार शुरु गरेको कम्पनीको हो ।

कम्पनीले फाष्ट ट्रयाक, सुरुङ मार्ग, एयरपोर्ट, सडक, प्रविधि, जलविद्युत् निर्माण, वितरण, पूर्वाधार सम्बन्धी वित्तीय संस्था, खानीलगायतका, व्यवसायमा लगानी गरी आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्य लिएको छ । साथै, स्वदेशी तथा विदेशी संस्थाहरुसँगको सहकार्यमा अध्ययन अनुसन्धान तथा लगानी गर्नुका साथै लगानीका क्षेत्रहरु पहिचान गर्ने पनि उद्देश्य उल्लेख गरिएको छ ।

यतिमात्रै नभएर पूर्वाधार विकासको आवश्यकता अनुसार स्वदेशी÷विदेशी परामर्शदाताहरुसँग परामर्श लिने, पूर्वाधार सम्बन्धी गोष्ठी/कार्यशाला/तालिम आयोजना गर्ने/गराउने कम्पनीको उद्देश्य छ ।

त्यसैगरी बैंक, औद्योगिक व्यवसाय, पर्यटन, केवुलकार, विद्युत् उत्पादन प्रसारण, पूर्वाधार विकास बैंक, प्रविधि विकास लगायतमा क्षेत्रमा पनि लगानी गर्ने कम्पनीको उद्देश्यमा उल्लेख छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ४० हजार छ । आइपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख हुनेछ । सर्वसाधारणलाई प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँको आइपीओ निष्काशन गरेको छ ।

आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ । यसले मध्यम स्तरको जोखिम भएको संकेत गर्छ ।

कम्पनीका संस्थापक लगानीकर्ता, कम्पनीले गरेको लगानी, त्यसबाट आउने प्रतिफल, अहिलेकै वित्तीय अवस्था हेर्दा पनि लगानीकर्ताले राम्रो प्रतिफल पाउने देखिन्छ । कम्पनीमा सरकारी लगानीका साथै अर्बपति व्यवसायीहरुको समेत लगानी रहेको छ । यसमा सरकारसहित ४४ संस्थापक मुख्य ठूला लगानीकर्ता छन् ।

कम्पनीमा अर्थमन्त्रालयको २५ हजार २ कित्ता सेयर स्वामित्व रहेको छ । कम्पनीको सञ्चालमा आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेल छन् । इमर्जिङ नेपालमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको सबैभन्दा बढी लगानी रहेको छ । उनको ७ लाख ५० हजार ६० कित्ता रहेको छ ।

यस्तै विशाल ग्रुपसँग ३ लाख ६२ हजार ५५० कित्ता, अशोक कुमार अग्रवालको १ लाख ८८ हजार १०४ कित्ता, जीवनाथ लामिछानेको नाममा २ लाख ५० हजार २० कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै सुभासचन्द्र संघाईको ६ लाख २५ हजार ५० कित्ता, ज्ञानेन्द्र प्रसाद ढुंगानाको २५ हजार २ कित्ता, पशुपति मुरारकाको २७ हजार ७८० कित्ता उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको ६२ हजार ५०५ कित्ता, सौरभ ज्योतिको ११ हजार ११२ कित्ता, सन्दीप कुमार अग्रवालको १ लाख ११ हजार १२० कित्ता सेयर छ ।

त्यसैगरी, सिताराम थपलियाको ८ हजार ८९०, शशिकान्त अग्रवालको १ लाख २५ हजार १० कित्ता, अम्बिका पौडेलको २७ हजार ७८० कित्ता, विशाल अग्रवालको १ लाख ६७ हजार २३५ कित्ता छ ।

आम्दानीको स्रोत के ?
इमर्जिङ नेपालले लगानी गरेका विभिन्न कम्पनीले लगानीको प्रतिफल दिने गरेका छन् । अहिले कम्पनीको आम्दानीको स्रोतमा होटल एलिस द वोदर इनबाट आर्थिक वर्ष २०७८/७९ मा १० प्रतिशत तथा आव २०७९/८० र २०८०/८१ मा १५ प्रतिशतका दरले लाभांश आम्दानी प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

यस्तै केयर रेटिङ नेपालमा पनि कम्पनीको लगानी छ । उक्त कम्पनीबाट त्यहाँबाट आर्थिक वर्ष २०७८/७९ मा १० प्रतिशत र आव २०७९/८० र २०८०/८१ मा १५ प्रतिशतका दरले लाभांश आम्दानी प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट कम्तीमा बार्षिक ८ प्रतिशतका दरले लाभांश पाउने अपेक्षा रहेको छ । यस्तै बिएफआईएनबाट आर्थिक वर्ष २०७८/७९ मा १० प्रतिशत तथा आव २०७९/८० र २०८०/८१ मा १५ प्रतिशतका दरले लाभांश आम्दानी प्राप्त हुने अपेक्षा रहेको छ । एजुशेकन, हस्पिटालिटी, हेल्थकेयर, स्टार्टअप फण्ड मा १४ प्रतिशत लगानी गर्ने रणनीति रहेको छ ।

प्रतिफल कति ?
कम्पनीले आव २०७८/७९ मा ३ करोड ७५ लाख ८८ हजार ०८१ रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । यस्तै आगामी आव २०७९/८० मा ३ करोड ८९ लाख १० हजार ८४९ रुपैयाँ र आव २०८०/८१ मा ४ करोड ५३ लाख ५१ हजार २०३ रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरिएको छ ।

यस्तै सञ्चालन आम्दानी आव २०७८/७९ मा ३ करोड ४२ लाख ३७ हजार २७३ रुपैयाँ रहने र आव २०७९/८० मा ४ करोड १२ लाख २ हजार ६७० रुपैयाँ तथा आव २०८०/८१ मा ४ करोड ९६ लाख ३ हजार २०४ रुपैयाँ हुने प्रक्षेपण छ ।

त्यस्तै ब्याज आम्दानी पनि आव २०७८/७९ मा १ करोड ८२ लाख रुपैयाँ रहने र आव ०७९/८० मा १ करोड २६ लाख रुपैयाँ तथा आव २०८०/८१ मा १ करोड ३० लाख ५० हजार रुपैयाँ हुने प्रक्षेपण छ ।

आव २०७८/७९ मा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७७ पैसा, आव ०७९/८० मा ७ रुपैयाँ तथा आव २०८०/८१ मा ८ रुपैयाँ १६ पैसा हुने प्रक्षेपण रहेको छ भने प्रतिसेयर नेटवर्थतर्फ आव २०७८/७९ मा १०६ रुपैयाँ ३७ पैसा, आव ०७९/८० मा १०६ रुपैयाँ ३७ पैसा र आव २०८०/८१ मा १०७ रुपैयाँ ५३ पैसा हुने प्रक्षेपण रहेको छ ।

कम्पनीले माघ २६ गते (आज)देखि प्रतिकित्ता १ सय रुपैयाँको दरले ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्काशन गरेको छ । जसमा कर्मचारीको लागि ११ हजार ११२ कित्ता र सामूहिक लगानी कोषका लागि २७ हजार ७८० कित्ता छुट्याएको छ भने बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।


क्लिकमान्डु