काजाकिस्तान कसरी बन्दैछ क्रिप्टोकरेन्सीको हब ?



एजेन्सी । संसारभर नै चर्चाको केन्द्रमा छ क्रिप्टोकरेन्सी । नेपालमा पनि यो चर्चाको केन्द्रमा छ । नेपालमा यो अवैध छ । कारोबार गर्न पाइँदैन । तर, मानिसहरुमा चासो छ, उत्तिकै जिज्ञासा पनि छ ।

क्रिप्टोकरेन्सी कसरी बन्छ, कसरी कारोबार हुन्छ र कसरी यसको सञ्जाल विस्तार हुन्छ । मानिसहरु जानाजान वा अन्जानमा पनि यसको कारोबारमा संलग्न हुँदै गएको देखिन्छ । संसारका कतिपय देशमा त यसको वैध कारोबार नै शुरु भएको छ ।

केहीले भने क्रिप्टोकरेन्सीको सट्टामा डिजिटल मुद्रालाई प्रचलनमा ल्याएका छन् । केहीले ल्याउने तयारीमा छन् । जस्तै भारतले केही दिन पनिले सार्वजनिक गरेको बजेटमा डिजिटल करेन्सीलाई प्रचलनमा ल्याउने घोषणा गरेको छ ।

किनकी, अब डिजिटल मुद्रा अपरिहार्य जस्तै बनेको छ । यसले नयाँ क्षितिज उघार्ने अपेक्षा गरिएको छ । किनकी, मानिसहरु नयाँको खोजीमा छन् । उनीहरु जसरी भएपनि विषयलाई थप सरल र सहज बनाउन लागिपरेका छन् ।

उनीहरु चाहन्छन् कि अब नयाँ नयाँ र झन् नयाँ खोजको आवश्यकता छ । त्यसमा अभ्यस्त बनाउनु जरुरी छ ।

तर, नेपालबाट नजिकै रहेको एउटा देश जहाँ अमेरिका पछिकै सबैभन्दा बढी क्रिप्टोकरेन्सीको व्यवसाय हुने गरेको छ ।

उनीहरुले त्यसलाई उद्योगको रुपमा वा अझ भनौं व्यवसायको रुपमा नै अगाडि बढाएका छन् । मानिसहरुमा लगाव बढ्दै गएको छ । उनीहरु एक पछि अर्को गर्दै अर्थात् दिन दुई गुणा, रात चार गुणाको दरमा क्रिप्टोकरेन्सीमा लागिपरेका छन् ।

उनीहरुले त्यसलाई उत्खनन्को नाम दिएका छन् । हजारौं कम्प्युटरहरु जडान भएका छन् । ऊर्जाको खपत बढेको छ । यसबाट वातावरणीय विनाश र जोखिमको मुद्दा पनि उत्तिकै मूखर भएर आएको छ । त्यो देश हो काजास्कितना ।

कसरी काजाकिस्तान क्रिप्टोकरेन्सी माइनिङ व्यवसायमा अमेरिकापछि दोस्रो ठूलो देश बन्यो भन्ने विषय यतिबेला संसारभरका लागि चासोको विषय बनेको छ ।

किन त्यो देश यसरी मरिहत्ते गरेर सो व्यवसायमा लागिपरेको छ भन्ने चासोका बीचमा केही जानकारी दिने प्रयास गरिएको छ ।

मोल्दिर शुभेवा कजाकिस्तानमा क्रिप्टो माइनिङ व्यवसायमा प्रवेश गर्ने नयाँ पुस्ताका व्यवसायी हुन । अब उनले यसैमा आफ्नो सुन्दर भविष्यमात्रै देखेका छैनन्, अकूत पैसा कमाउने सपना समेत साँचेका छन् ।

गत वर्ष, जब चीनले अचानक रुपमा क्रिप्टोकरेन्सी माइनिङमा प्रतिबन्ध लगायो ।

तब मात्रै छिमेकी कजाकिस्तानमा सो उद्योग द्रुतरूपमा फस्टाउन थाल्यो । केहीले त त्यसलाई बिजुलीको गतिमा क्रिप्टो व्यवसायमा कजाकिस्तान त्यसमा प्रवेश गर्यो समेत भनेका छन् ।

आजको सन्दर्भमा हेर्दा मध्य एशियाको यो देश क्रिप्टो माइीनङमा विश्वको दोस्रो ठूलो देश बनेको छ ।

तर, यसका लागि ऊर्जा खपत गर्ने उद्योगको डाटा सेन्टरहरूले काजाकिस्तानमा कोइलाबाट चल्ने पावर प्लान्टहरूमा दबाब बढाउँदै लगेको छ ।

प्रदूषण बढ्दै गएको छ । र, कार्बन उत्सर्जन पनि बढिरहेको छ । यो भने अर्को चिन्ताको विषय बनेको छ ।

मोल्दिर शुभेवा कजाकिस्तानमा क्रिप्टो माइीनङ व्यवसायमा प्रवेश गर्ने नयाँ पुस्ताका व्यवसायी भएकाले उनी खुसी छन् । यस अर्थमा उनी नयाँ काम गरिरहेका छन् ।

उनी ईन्जिनियर हुन् । अन्य निर्माण कार्यकर्ताहरूको भीडबाट उनको नयाँ बिटकोइन खानीको अघिल्तिर उभिँदा उनी फरक देखिन्छिन ।

उनको स्मार्टनेस कपडामा झल्किन्छ । ३५ वर्षीय मोल्डिर पहेंलो लेन्स लगाएको चस्माबाट बाहिर हेर्दै छन् । अगाडि वेल्डिङको काम भइरहेको छ भने भवनको शिलान्यास गर्न ट्रकबाट गिट्टी खसाल्ने काम भइरहेको छ ।

उनले कजाकिस्तानको अल्माटी सहरमा निर्माण भइरहेको आफ्नो नयाँ बिटकोइन माइनिङ केन्द्रको निर्माणको हरेक पक्षलाई नजिकबाट अनुगमन गरेका छन् ।

मोल्दिर शुभेवा यसको व्यवसायमा विस्तार भएको नाफाका कारण यो व्यवसायमा प्रवेश गरेको र यो आफैमा ठूलो नाम भएको बताउँछन् ।

कडा परिश्रमका साथ, उनले आफ्नो व्यवसायलाई देशको सबैभन्दा ठूलो क्रिप्टो माइनिङ कम्पनीहरूमा पु¥याएका छन् ।

उनी भन्छन्, ‘जीवनको पछिल्ला चार वर्ष यही काम र कर्ममा मात्रै बिताएँ । कहिलेकाहीँ अफिसमै सुत्ने गर्थे ।’

बिटक्वाइन व्यवसायमा मोल्डिरको चासो ५ वर्ष पहिले शुरु भएको थियो । उसले भाइसँग घरमै बिटक्वाइनको काम शुरु गरे । त्यसपछि कुरा ठूलो साइजको माइनिङसम्म पुग्यो र उनले आफ्ना अन्य ग्राहकहरूलाई पनि त्यसलाई सहयात्री बनाए ।

मोल्डिर भन्छन्, ‘कजाकिस्तानमा मेरो व्यवसाय र यो उद्योग एकदमै बढेको छ, विशेषगरी गत वर्ष यसको विकास र विस्तार व्यापक भयो ।

मेरो हरेक दिनको बिहान एउटा बिटक्वाइनको मूल्य कति बढ्यो भनेर जाँच गरेर शुरु हुन्छ । जब यसको मूल्य ५०,००० डलर भयो । त्यो साँच्चै रोमाञ्चक बिहान थियो ।

बिटक्वाइनको मूल्य नाटकीयरूपमा माथि जान्छ । र, तल घट्छ । मार्च २०२० मा, एउटा बिटक्वाइन ५००० डलरमा उपलब्ध थियो । जबकी, एक वर्षमै यसको मूल्य ६५,००० डलरसम्म पुगेको थियो ।

त्यसयता यसको मूल्यमा तीव्र गिरावट आयो । एक पटक न्यून बिन्दुमा अर्थात् ३५००० हजार डलरसम्म झर्यो ।

तर, मोल्डिर र काजाकिस्तानमा उनी जस्ता अन्य व्यवसायीका लागि क्रिप्टो माइनिङ अझै पनि लाभदायक वा नाफा दिने व्यवसाय हो भन्नेमा ढुक्क छ ।

यो प्रश्न सोध्नु पर्छ कि आखिर क्रिप्टो माइनिङ के हो, यो कसरी गरिन्छ । वास्तवमा, क्रिप्टो माइनिङ त्यो प्रक्रिया हो जसद्वारा धेरै प्रकारका क्रिप्टोकरेन्सीहरूको व्यापार चल्छ, चाहे त्यो बिटक्वाइन होस् वा इथरियम वा लाइटकोइन ।

यो एक प्रकारको डिजिटल मुद्रा हो र यसमा कुनै सरकार वा कुनै बैंकको अधिकार छैन । यसको सट्टा, प्रत्येक भुक्तानी र स्थानान्तरण धेरै ठूलो कम्प्युटर नेटवर्कको मद्दतले प्रमाणित हुन्छ ।

यसको लेनदेनको लेखा यति जटिल छ कि यसलाई शक्तिशाली कम्प्युटर नेटवर्क चाहिन्छ । सामान्य कम्प्युटरबाट हुँदैन, गर्न सकिँदैन ।

क्रिप्टो माइन, के तपाईंले बिटकोइनको ‘माइन’ देख्नुभएको छ ? यो जिज्ञासा सबैतिर छ ।

प्रोत्साहनको रूपमा, प्रणालीले प्रक्रियामा बिटक्वाइनको साथ योगदान गर्नेहरूलाई पुरस्कृत गर्दछ ।

मोल्डिर र उनीजस्ता अन्य व्यवसायीहरूलाई धन्यवाद, काजाकिस्तान बिटक्वाइन माइनिङ व्यवसायमा अमेरिकापछि विश्वको दोस्रो ठूलो देश भएको छ । धेरैले आज यही भनिरहेका छन् ।

आज क्रिप्टोकरेन्सी माइनिङको विश्वव्यापी नेटवर्कमा काजाकिस्तानको हिस्सा १८ प्रतिशतको नजिक छ । यो व्यवसाय थप फस्टाउँदैछ ।

सन् २०१९ मा काजाकिस्तानमा क्रिप्टोकरेन्सी माइनिङ सुरु भएको थियो । यसका दुईवटा मुख्य कारण दिइएको छ । पहिलो, सस्तो विद्युत् आपूर्ति र दोस्रो सरकारको अनुकूल नीति ।

तर, सन् २०२१ मा चीनले अचानक आफ्नो ठाउँमा क्रिप्टोकरेन्सी माइनिङमा प्रतिबन्ध लगाएपछि कजाकिस्तानमा यो व्यवसाय बिजुलीको गतिमा बढ्न थाल्यो ।

देशमा कम्पनीको बाढी आयो र त्यससँगै ठूलो संख्यामा कम्प्युटर मेसिन पनि आयो । काजाकिस्तानमा पहिले नै अवस्थित रुपमा क्रिप्टो माइनिङ केन्द्रहरूले बढेको माग पूरा गर्न सक्ने स्थितिमा थिएनन्, जसले गर्दा नयाँ खेलाडीहरूको लागि बजारमा अवसर सिर्जना गरिदियो ।

तपाईं अल्माटी शहरबाट कजाकिस्तानको एकिबास्तुज सहरमा १३०० किलोमिटर यात्रा गरेरमात्रै पुग्न सक्नुहुन्छ । सोही यात्राले तपाईंलाई सो देशको क्रिप्टो माइनिङ उद्योगको सकल दृश्य देखाइदिनेछ ।

सो यात्रामा, तपाईंले संसारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी माइन भनिने ठाउँ भेट्नुहुन्छ, जसलाई इनेगिक्स नामक कम्पनीले निर्माण गरेको हो ।

तपाईंले त्यहाँ याद गर्नुहुनेछ कि त्यहाँ असाध्यै हल्ला वा चर्को आवाज आइरहेको छ ।

यहाँ हजारौं कम्प्युटरहरू देख्न सकिन्छ र यो ध्वनि वास्तवमा तिनीहरूमा पूर्ण गतिमा चलिरहेका साना फ्यानहरूबाट आइरहेको छ ।

यतिमात्र होइन, यी कम्प्युटरहरू राखिएका हलहरूमा तिनीहरूलाई चिसो पार्न यहाँ ठूला आकारका फ्यानहरूको आवाज पनि स्पष्ट रूपमा सुनिन्छ ।

यस क्रिप्टो उद्योगका मालिक ३४ वर्षीय यरबोल्सिन हुन् । उनी अनुहारमा मुस्कान छर्दै भन्छन्, ‘मेसिनबाट आउने यो आवाजले मलाई उत्साहित बनाउँछ किनभने यो पैसा अर्थत् डिजिटल पैसाको आवाज हो ।’

उनले केही वर्ष पहिले सानोस्तरको क्रिप्टोकरेन्सी माइनिङको काम शुरु गरेका थिए । येरबोलसिनले एक ग्यारेज मा आफ्नो कम्पनी सुरु गरेका थिए ।

त्यसक्रमा उनीसँग थोरै कम्प्युटरहरू मात्र थिए । आज, तिनीहरूको क्रिप्टोकरेन्सी उद्योगमा ८ वटा ठूला ह्याङ्गरहरू छन् जसमा ३०० मिलियन डलरका मेसिनहरू जडान गरिएका छन् । दिनको २४ सै घण्टा उद्योग सञ्चालन हुन्छन ।

यी मेसिन सञ्चालन गर्न १५० जनाको टोली छ । मरुभूमिमा बनेको यो सेन्टरमा दर्जनौं इन्जिनियर छन् । ती सबै १५ दिनसम्म लगातार त्यही बस्नुपर्ने हुन्छ ।

१९ वर्षीय अल्माज मगज कजाकिस्तानको सबैभन्दा ठूलो बिटक्वाइन सेन्टरमा काम गर्छन् ।

अल्माज मगज यहाँ आएको एक वर्ष भयो । उनी १२ घण्टाको सिफ्टमा काम गर्छन् । तिनीहरूको काम मेसिनबाट धुलो हटाउनु हो ब्रेकमा पनि आराम पाउँदैनन् । शुरुमा यी मेसिनले के काम गर्छ भन्ने थाहा नभएको उनी स्वीकार्छन् ।

उनी भन्छन्, ‘म यहाँ आउनुअघि बिटक्वाइनको बारेमा थाहा थिएन । मैले यसको बारेमा कहिल्यै सुनेको थिईंन ।’
येरबोलसिनले यहाँ स्थापित सीसीटीभी क्यामेराको विशाल नेटवर्कमार्फत् अल्माज र अल्माटीबाट यहाँ काम गर्ने बाँकी कर्मचारीलाई निगरानी गर्छन् ।

‘हामी गर्व गर्छौं कि काजाकस्तान अब क्रिप्टोकरेन्सीको संसारमा धेरै महत्वपूर्ण भएको छ । हामी एक देशभक्त जनता हौं र हामी देशको सम्मान अझ बढाउन चाहन्छौं’ येरबोलसिन भन्छन् ।

तर, कजाकिस्तानको यो सफलताबाट देशका सबैजना खुसी छन् भन्ने होइन । पर्यावरणविदहरूले प्रायः यी क्रिप्टोकरेन्सी माइनिङ सेन्टरहरुले ठूलो मात्रामा बिजुली खपत गरेको भन्दै आलोचना गर्छन् ।

क्याम्ब्रिज विश्वविद्यालयले बिटक्वाइन सेन्टरमा प्रयोग हुने बिजुलीको खपत सूचकांक बताउँछ । उसका अनुसार युक्रेन वा नर्वेको कुल बिजुली खपत भन्दा बिटक्वाइनको माइनिङले बढी बिजुली खपत गर्छ ।

यो बिजुली कति नवीकरणीय ऊर्जा स्रोतहरूबाट आउँछ थाहा छैन । तर, डाना यर्मोलिनोकजस्ता वातावरणविदहरू काजकस्तानजस्ता देशहरूमा दुई प्रतिशत मात्रै गैरपरम्परागत स्रोतहरूबाट आउँछन् ।

यहाँ ऊर्जाको मुख्य स्रोत कोइला हो । विशेष गरी गर्मी मौसममा बिजुलीको उत्पादनका लागि कोइलाको प्रयोग हुने गरेको उनको भनाइ छ ।

दाना काजाकिस्तानको कारागान्डा सहरमा बस्छिन् । यो देशको सबैभन्दा ठूलो कोइला भण्डार भएको क्षेत्र हो । क्रिप्टो माइनिङको नाममा वातावरणीय हानी बेहोर्दै मुलुकमा समृद्धि आउनेमा उनी चिन्ता व्यक्त गर्छिन् ।

उनी भन्छिन्, ‘हरेक दिन घरबाहिर निस्कँदा प्रदुषण देख्छु । जाडोमा छिमेकीको घर पनि देख्न नसक्ने अवस्था छ । म यो हावामा किन छु, बुझ्दिनँ । सास फेर्न सक्छु त भन्ने लाग्छ ।’

जे भएपनि काजाकिस्तानमा व्यापकरुपमा विस्तार भएको यो क्षेत्रले अन्यहरुलाई पनि झकझक्याइदिएको छ । के यसबाट साँच्चै पैसा आउँछ त उनीहरुको चरम जिज्ञासा छ । (बीबीसी हिन्दीलगायत अन्तय अन्तर्राष्ट्रिय सञ्चार माध्यमको विवरणहरुमा आधारित सामग्री ।)


क्लिकमान्डु