बजारमा कुरीलो अभाव, कालीमाटीमै प्रतिकेजी ४ हजार !



काठमाडौं । सामान्य मानिसलाई कुरिलोबारे थाहा भएपनि यसको फाइदाबारे धेरैलाई थाहा नहुन सक्छ । स्वास्थ्यप्रवद्र्धक तरकारीका रुपमा डाक्टरको समेत सिफारिसमा पर्ने कुरिलो विरलै मात्रा देखिन्छन् ।

सामान्यभन्दा सामान्य पसलमा नदेखिने कुरिलोको धेरै फाइदा रहेको छ । त्यसैले, बजारमा उच्च माग रहेको छ । गर्मी महिनाभन्दा चिसो मौसममा बढी माग हुने कुरिलो अन्य तरकारीभन्दा निकै महंगो हुने गरेको छ ।

कुरिलो दैनिक उपभोग्य तरकारी होइन । साथै, सामान्य परिवारले कुरिलो किनेर तरकारी खान पनि सक्दैनन् । कतिपय सामान्य तरकारी पसलहरूमा कुरिलो पनि पाइदैन । तर, विभिन्न डिपार्टमेन्ट स्टोरहरू तथा ठूला पसलहरूमा भने कुरिलो देख्न सकिन्छ ।

सामान्यतया गाउँ घरमा कुरिलो तरकारीको रुपमा खाइन्छ भन्ने थाहा नभएपनि शहरहरूमा भने कुरिलोको तरकारी खाने प्रचलन रहेको छ ।

शहरमा विभिन्न जिल्लामा उत्पादन गरेका कुरिलो भित्रिने गर्दछ । उपत्यकामा सबैभन्दा बढी खपत हुने कुरिलो पहिलो चरणमा कोरोना फैलिएको अवस्थामा प्रतिकेजी मूल्य ५ हजारसम्म पुगेको थियो । अहिले पनि सोही हाराहारीमा कुरिलोको मूल्य पुगेको छ । चिसो मौसममा उच्च माग हुने कुरिलोको अहिले बजारमा निकै अभाव देखिन्छ ।

कालीमाटी तरकारी तथा फलफूल विकास समितिले दिएको जानकारी दिएअनुसार होलसेलमै अहिले प्रतिकेजी ४ हजार पुगेको छ । समितिका सुचना अधिकारी विनय श्रेष्ठले पछिल्लो समय कुरिलोको कारोबार निकै कम भएको बताए ।

‘बजारमा करिब १ महिनाको अवधिमा निकै कम कुरिलो भित्रिएको छ,’ उनले भने, ‘माग भने उच्च छ ।’ बजारमा आपूर्ति निकै कम भएकाले मूल्य निकै महंगो भएको उनको भनाइ छ ।

कालीमाटीको व्यवसायीसँग किन्दा नै प्रतिकेजी ४ हजार पर्ने कुरिलो खुद्रा बजारमा पुग्दा ५ हजार बढीमा बिक्री हुने उनले जानकारी दिए । साथै, अहिले नेपालमा उत्पादन नभएपछि केरला र थाइल्यान्डबाट आयात भई व्यवसायीले बिक्रीका लागि राखेको उनले बताए ।

बजारमा अन्य तरकारी जस्तो छिट्टै ओइलाउने, सड्ने बिग्रने नहुने हुँदा महंगोसँगै राख्न, पकाउन सजिलो हुन्छ । कुरिलोलाई तरकारीभन्दा पनि सुपको रुपमा बढी प्रयोग हुने गर्दछ । त्यसैले, धनी वर्गहरूले जति महंगो भए पनि खरिद गर्ने गरेको उनको बुझाइ छ ।

यसमा भिटामिन र मिनरल्सको मात्रा उल्लेख्य रूपमा हुने भएकाले महंगै भए पनि उपभोक्ताले रुचाउँछन् । माछामासु नखाने विरामीलाई कुरिलोको रस खान सिफारिस गरिन्छ ।

दैनिक उपभोग्य तरकारीभन्दा महंगो रहेको कुरिलोको फाइदा धेरै रहेको छ । यसले गर्दा मासुभन्दा पनि बढी महंगो भएको व्यवसायीहरू बताउँछन् ।

कुरिलो तरकारी होस् वा सुप बनाएर खाने प्रचलन रहेको छ । कुरिलो जति खाँदा स्वादिलो हुन्छ । त्यसरी नै स्वास्थ्यको लागि फाइदाजनक रहेको छ । खासगरी कुरिलोलाई औषधीको रुपमा प्रयोग गर्दै आएको हुनाले समय समयमा अत्याधिक मूल्य बढ्ने गर्दछ ।

कुरिलोको उत्पादन मुख्यतः चैत, वैशाख र जेठदेखि असारसम्म धादिङ, चितवनलगायतका जिल्लाबाट आउँछ । अफसिजनमा निकै कम पाइने भएकाले व्यवसायीले आफूखुसी मूल्य तोक्ने गरेको उनको भनाइ छ ।


क्लिकमान्डु