ओमिक्रोनको संक्रमणः बिहार र उत्तरप्रदेश हटस्पट बन्दा नेपालमा पर्ने भयो प्रत्यक्ष प्रभाव



एजेन्सी । खोप आएपछि कोरोनामाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने आम अनुमानका विपरीत पछिल्ला दिनमा संसारभर नै तेस्रो लहर चैतको खरमा आगो लागे जस्तै फैलिएको छ ।

दक्षिण अफ्रिाकामा फेला परेको ओमिक्रोन भ्यारियन्टको प्रभाव यसरी बिस्तार भएको छ कि अघिल्ला लहरहरु भन्दा यो बढी संक्रामक देखिएको छ । विश्व स्वास्थ्य संगठनले पनि ओमिक्रोनको संक्रमण दर पाँच गुणा बढी रहेको बताएको छ ।

डेल्टा भ्यारियन्टको तुलनामा कम जोखिम मानिएको दावी गरेको विश्व स्वास्थ्य संगठनले आगामी फागुनको पहिलो सातासम्म पछिल्लो भ्यारियन्टले संसारभर नै प्रभाव पार्ने प्रक्षेपण गरेको छ ।

केही देशमा अझै पनि कोरोनाको खोप प्राप्त हुन सकेको छैन । खोप पाएपनि लगाउन नचाहने समूह उत्तिकै छ । अमेरिकामा समेत मानिसहरु खोप लगाउन इच्छुक छैनन् ।

खोप लगाएकालाई पुनः बुस्टर डोजको खोजी भइरहेको छ । एकपटक पनि नलगाएकालाई खोप केन्द्रमा ल्याउन नै समस्या भइरहेको छ । यसैबीचमा ओमिक्रोनको प्रभाव उत्तिकै विस्तार भएको छ ।

नेपालको दक्षिणी छिमेकी देश भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप १ लाख ५९ हजार ६३२ संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमणको दर उच्च देखिएको छ ।

भारतको प्रमुख शहरहरुमा ओमिक्रोन फैलिएका कारण पुनः आ–आफ्नो गाँउ फर्कन चाहनेको संख्यामा बढोत्तरी भएको छ । मुम्बई, राजधानी नयाँ दिल्लीका कार्यरत मानिसहरु पुनः आ–आफ्नो गाँउ वा घर पर्कन चाहेकाले सार्वजनिक यातायातमा भिड बढेको छ ।

यसले कोरोना पुनः देशैभर फैलने सम्भवना बढेर गएको छ । मुम्बईमा त घर फर्क चाहनेलाई रोक्न खोज्दा प्रहरीसँग झडप नै भएको समाचार सार्वजनिक भएको थियो ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ३ करोड ५५ लाख ८ हजार संक्रमित भएका छन् । पछिल्लो भेरिन्टबाट मात्रै ३ हजार ५२३ जना संक्रमित भएका छन् । ओमिक्रोनका संक्रमितमध्ये १ हजार ४०९ जना भने कोरोनामुक्त भएका छन् ।

भारतमा हाल संक्रमितको संख्या ५ लाख ९० हजार ६११ छन् । गएको २४ घण्टामा भारतमा ४० हजार ८६३ जना कोरोनाबाट मुक्त भएको विवरण छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६९ करोड ३४ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्ब ५१ करोड ५७ लाख ६० हजारभन्दाबढी डोज खोप लगाइएको छ ।

अमेरिकामा पनि कोरोनाको संक्रमण उस्तै फैलिएको छ । कोरोना भाइरसका बारेमा जानकारी दिने वर्ल्डओमिटरका अनुसार कोरोना संक्रमितको सूचीको शीर्ष स्थानमा अमेरिका छ । त्यसपछि भारत देखिन्छ । तेस्रोमा ब्राजिल, चोथौमा बेलयात, पाँचौंमा फ्रान्स छ । रसिया, टर्की, जर्मनी, इटलीलगायतका देश पनि उत्तिकै प्रभावित छन् ।

भारतीय समाचारपत्र हिन्दूस्तानका अनुसार कोरोनाको तेस्रो लहर दक्षिण एशियामा फैलिइसकेको छ भन्दा फरक पर्दैन । कोरोना फैलाउने वा संक्रमण हुने आर फ्याक्टर असाध्यै सक्रिय रहेको छ ।

भारतीय जानकारहरुका अनुसार तेस्रो लहर आगामी फेब्रुअरी १५ सम्ममा पिकमा पुग्नेछ । उनीहरुका अनुसार कोरोना संक्रमण गराउने र त्यसको मापन गर्ने आर फ्याक्टर दिल्लीमा ४.३५, बिहारमा ४.५५, झारखण्डमा ५ र उत्तरु प्रदेशमा ३.३२ रहेको छ ।

नेपालको सीमा जोडिएको बिहार र उत्तरु प्रदेशमा जोखिम बढेकाले त्यसको प्रभाव नेपालमा स्वतः नै पर्नेवाला छ । खुल्ला सीमानाका कारण यताका मानिस उता र उताका मानिस यता आउने सम्भावना उत्तिकै रहन्छ । अन्तर्राष्ट्रिय सीमा नियमनका लागि हालसम्म कुनै पनि प्रयास गरिएको छैन ।

भारतका ६ ठूला अस्पतालका ७५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । सोही कारण अस्पतालको कार्यक्षमतामा प्रभाव परेको छ । ठूलो मानिएको एम्सका मात्रै ३५० जना रेजिडेन्ट डक्टर आइसोलेशनमा छन् ।

कोरोनाको तेस्रो लहर फैलन थालेपछि विश्व अर्थबजारमा त्यसको प्राव देखा पर्न थालेको छ । विश्व बजारमा इन्धनको मूल्यमा सामान्य गिरावट देखिएको छ । बे्रञ्च क्रुड प्रति व्यारेल ०.२९ प्रतिशतले घटेको छ । इन्धनको मागमा कमी आउन थालेको विवरणहरु प्राप्त भएका छन् । यस्तै, डब्ल्यूटिआई क्रुड समेत ०.७ प्रतिशतले घटेको छ । प्राकृतिक ग्यासको मूल्य भने २.७३ प्रतिशतले बढेको छ ।

यस्तै, यसैबीचमा अन्तराृष्ट्रिय उडानहरुमा भारी मात्रामा कटौती गरिएको छ । अमेरिकाले एकै पटक २८ हजार बढी उडान कटोती गरेको छ । संसारभर नै १ लाख बढी उडानहरु कटौती भएका छन् । यस्तै, हङकङलाई केन्द्र बनाएर विश्वका विभिन्न गन्तव्यमा उड्ने जहाजहरुले उडान कटौती गरेका छन् । यसबाट इन्धनको माग ओरालो लाग्ने स्वतः नै देखिएको छ ।

कोरोनालाई सामान्य रुघाखोकी मात्रै सम्झदा त्यसले ठूलो नोक्सानी निम्त्याउने भन्दै सावधानी अपनाउन विश्व स्वास्थ्य संगठनले सबैलाई आग्रह गरेको छ ।

ओमिक्रोनका बारेमा अमेरिका, बेलायत, दक्षिण अफ्रिकामा दर्जनौ अध्ययन भइरहेको छ । सो अध्ययनको प्रारम्भिक विवरण अनुसार यो भ्यारिन्ट हल्का लक्षण भएको मानिएको छ । विश्व स्वास्थ्य संगठनले संसारलाई नै चेतावनीको भाषामा भनेको छ– यसलाई सामान्य रुघाखोकी सम्झेर नबस्नुस् । सामान्य कमजोरी गर्दा यो डेल्टा भ्यारियन्ट भन्दा खराब पनि देखिन सक्छ ।

बेलायतका शोधकर्ताले भने ओमिक्रोनलाई कमजोर नआक्न सुझाव दिएका छन् । देशअनुसार नै भाइरसको अवस्था फरक फरक हुन सक्छ ।
ओमिक्रोनको पहिलो केश २४ नोभेम्बर, २०२१ मा दक्षिण अफ्रिकामा देखिएको थियो । पछिल्लो २ महिनाको बीचमा यो भाइरस अमेरिका, यूरोप, भारत हुँदै नेपालसम्म फैलिएको छ । कूल १०० देशमा नयाँ भेरियन्ट फैलिएको छ । दक्षिण अफ्रिाकामा मात्रै ९० प्रतिशत बढी ओमिक्रोन फैलिएको छ ।

अमेरिका, बेलायत, फ्रान्समा ८० प्रतिशत नयाँ केश देखिएको छ । भारतमा ३० डिसेम्बरसम्म नै ३५ प्रतिशत नयाँ केश देखिएको थियो । भारतको दिल्ली, मुम्बई, कोलकातामा देखिएको केशमध्ये ७५ प्रतिशत ओमिक्रोनको छ ।

जानकारहरुका अनुसार २७ डिसेम्बरदेखि २ जनवरीसम्म मात्रै संसारभर थप ९५ लाख मानिसमा कोरोनाको नयाँ संक्रमण देखा पर्यो । तर, निधन हुनेको मात्रा १० प्रतिशत मात्रै छ । सो अवधिमा ४१ हजार मानिसको ज्यान गएको छ ।

अमेरिकामा भने ७ दिन मात्रै आइसोलेशनमा बसे हुने नयाँ नियम सार्वजनिक गरिएको छ । भारतमा यही नियमको अन्ध नक्कल गर्दा समस्या बढेको बताइएको छ । स्वास्थ्य सजगता अपनाउँदा मात्रै कोरोनाको तेस्रो लहरबाट जोगिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले सजगता अपनाउन सबैलाई आग्रह गरेको छ ।


क्लिकमान्डु