राजनीतिमा व्यवसायी: चन्दाको उपयोग कि व्यवसाय बढाउने साधन ?



काठमाडौं । प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको राष्ट्रिय अधिवेशन भर्खरै सकिएको छ । दलहरुको अधिवेशनमा व्यवसायीको बलियो उपस्थिति देखिएको छ ।

कांग्रेस र एमालेको कार्यसमितिमा व्यवसायीहरु भएपनि माओवादीको केन्द्रिय कार्यसमितिमा व्यवसायीको उपस्थिति शून्यजस्तै छैन ।

वडादेखि केन्द्रसम्म निर्वाचनबाट नयाँ नेतृत्व छानेको नेपाली कांग्रेसमा फोब्र्समा सूचिकृत बिनोद चौधरी तथा व्यवसायी उमेश श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भए । चौधरी कांग्रेसबाट सांसद् छन् भने श्रेष्ठ बिनाविभागिय राज्यमन्त्री हुन् ।

२०६४ सालमा नेकपा एमालेबाट समानुपातिक सभासद् बनेका चौधरी २०७४ सालमा कांग्रेस प्रवेश गरेर प्रतिनिधिसभामा सांसद् बनेका हुन् । २०६४ सालपछि माओवादीसँग नजिक भएका श्रेष्ठ २०७० सालमा मन्त्रीपरिषदले सिफारिस गर्ने २६ जना सभासद्मा कांग्रेसकोटाबाट संविधानसभा सदस्य बनेका थिए ।

२०७४ सालको निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य भएका श्रेष्ठलाई शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि स्वास्थ्यराज्यमन्त्री बनाएका थिए । उनी अहिले बिनाविभागिय राज्यमन्त्री छन् ।

व्यवसायीहरुको राजनीतिक सक्रियतालाई कतिपयले चन्दाको उपयोगका रुपमा बुझेका छन् भने कतिपयले व्यवसाय बढाउने साधनका रुपमा पनि विश्लेषण गर्ने गरेको पाइन्छ ।

आफ्नो व्यवसायमा सफल भएका चौधरी र श्रेष्ठले कांग्रेस केन्द्रीय समितिमा आउनका लागि भने समावेशी कोटा रोजेका थिए । नेपालका एकमात्र फोब्र्समा सूचिकृत डलर अर्बपति बिनोद चौधरी मधेशी कोटाबाट र श्रेष्ठ जनजाती कोटाबाट केन्द्रीय सदस्य चुनिए । चौधरी र श्रेष्ठ प्रतिनिधिसभामा पनि समानुपातिकबाट नै सांंसद् चुनिएका थिए ।

कांग्रेसमा चौधरी र श्रेष्ठमात्र व्यवसायिक पृष्ठभूमिका केन्द्रीय सदस्य भने होइनन् । कांग्रेस केन्द्रिय सदस्यमा जिपछिरिङ लामा खुल्लातर्फबाट केन्द्रीय सदस्य निर्वाचित भए । लामा निर्माण व्यवसायी भएपनि कांग्रेसको राजनीतिमा ३ दशकदेखि सक्रिय छन् । यस्तै निर्माण व्यवसायी मोहन आचार्यपनि कांग्रेसको केन्द्रीय सदस्य चुनिए । आचार्य रसुवाबाट कांग्रसको प्रत्यक्ष निर्वाचित सांसद् हुन् । सक्रिय राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै कांग्रेसको सांसद् र केन्द्रीय सदस्य बन्न आचार्य सफल भएका हुन् ।

नेकपा एमालेले व्यवसायिक पृष्ठभूमिका मोति दुगडलाई मात्र चितवन अधिवेशबाट केन्द्रीय सदस्य चुनेको थियो । पछि एमाले अध्यक्ष केपी ओलीले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसार्इंलाई केन्द्रीय सदस्यमा मनोनयन गरे । एमाले अध्यक्ष ओलीले दुगडलाई उद्योग विभाग प्रमुख र प्रसाईंलाई उपप्रमुख बनाएका छन् ।

२०६४ सालमा सद्भावना पार्टीबाट समानुपातिक सांसद् बनेका दुगडले २०७० सालमा नवनिर्माण पार्टी खोलेर निर्वाचन लडेका थिए । २०७० सालमा दुगडको पार्टी पराजित भयो भने एमालेमा ओलीको उदय । एमालेमा ओलीको उदयसँगै दुगडले आफ्नो दललाई एमालेमा बिलय गराए । २०७४ सालको प्रतिनिभिधसभा निर्वाचनमा एमाले अध्यक्ष ओलीले मधेशी कोटाबाट उनलाई सांसद् बनाए ।

ओली प्रधानमन्त्री बनेपछि दुगड उद्योग राज्यमन्त्री समेत बन्न सफल भए । राज्यमन्त्री पदबाट हटेपछि दुगडलाई ओलीले मन्त्रीसरहको आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए । दुगडले ३ सयजना व्यवसायीलाई ओली प्रधानमन्त्री हुँदा एमालेमा प्रवेश गराएका थिए । मारवाडी समुदायका व्यक्तिहरु ओली प्रधानमन्त्री हुँदा ओलीको सम्बृद्ध नेपाल अभियानलाई सफल बनाउने भन्दै पार्टी प्रवेश गरेका थिए ।

माओवादीको केन्द्रीय समितिमा अहिले व्यवसायिक पृष्ठभूमिको व्यक्ति केन्द्रीय सदस्यमा देखिएको छैन ।

माओवादीले २०६४ सालमा भने ज्योति समूहका पद्य्म ज्योतिलाई सभासद् बनाएको थियो । एमालेले समानुपातिकबाट बिनोद चौधरीलाई सभासद् बनाएपछि इगोको रुप लिएमा ज्योति मन्त्रीपरिषद्ले नियुक्त गर्ने २६ जना सदस्यमा माओवादी कोटाबाट सभासद् भएका थिए ।

राजेन्द्र खेतान नेकपा मालेको सिफारिसमा २६ जना नियुक्त हुँदा सभासद् बनेका थिए । कांग्रेसले त्यो बेला दिवाकर गोल्छालाई सभासद् बनाएको थियो । २०७० सालमा कांग्रेसले अनिल रुगंटा लगायतका व्यवसायीलाई सांसद् बनाएको थियो ।

नेकपा एमालेले राज्यलक्ष्मी गोल्छालाई संविधानसभा लगेको थियो । उनले तत्कालिन एमाले अध्यक्ष झलनाथ खनाललाई ७ करोड रुपैयाँ दिएर सभासद् भएको बताएकी थिइन् ।

राजाको शासनकालमा पनि डा. रुप ज्योति अर्थराज्यमन्त्री बनेका थिए । त्यो बेला राजेशकाजी श्रेष्ठ उद्योगसहायक मन्त्री बनेका थिए । तर, राजाले मन्त्री बनाएका व्यवसायीले भने राजनीतिलाई निरन्तरता दिएनन् । माओवादी र माले कोटाबाट सभासद् भएका ज्योति र खेतान पनि राजनीतिमा सक्रिय छैनन् ।

अहिले राजनीतिक पृष्ठभूमि नभएका व्यक्तिमा कांग्रेसमा चौधरी र श्रेष्ठ सक्रिय छन् भने एमालेमा दुगड र प्रसाईं सक्रिय छन् ।

व्यवसायीहरुको राजनीतिक सक्रियतालाई कतिपयले चन्दाको उपयोगका रुपमा बुझेका छन् भने कतिपयले व्यवसाय बढाउने साधनका रुपमा पनि विश्लेषण गर्ने गरेको पाइन्छ ।


क्लिकमान्डु