तरलता अभावले कच्चा पदार्थ आयातमा कठिनाइ, निर्यात व्यवसायी मारमा



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता)को चरम अभावका कारण निर्यात व्यवसायी मारमा परेका छन् । निर्यात व्यवसायीले तरलता अभावका कारण पर्याप्त वस्तुहरू उत्पादन गर्न नसक्दा निर्यातमा समस्या उत्पन्न भएको बताएका छन् ।

नेपालको व्यापारघाटा कम गर्नका लागि निर्यात व्यवसायीले ठूलो योगदान पुर्याउँदै आएका छन् । उक्त क्षेत्रले नेपालमा उत्पादित वस्तु र अन्य देशबाट कच्चा पदार्थ आयात गर्दै प्रशोधन गरी वस्तु निर्यात गर्दै आएका छन् ।

तर, सोही वस्तु तयार गर्न आवश्यक कच्चा पदार्थ आयात गर्न नसक्दा व्यवसायीहरू मारमा परेका छन् । नेपाल निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले तरलता संकटले निर्यात व्यवसायीहरू मारमा परेको बताए ।

उनकाअनुसार नेपालमा उत्पादित वस्तुको कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्छ । आयात गर्नका लागि व्यवसायीले बैंकबाट ऋण लिनुपर्छ । तर, अहिले तरलता अभावले गर्दा ऋण पाइरहेको छैन ।

‘व्यवसायीले बैंकबाट ऋण लिई कच्चा पदार्थ आयात गर्नुपर्छ,’ उनले भने, ‘अहिले कच्चा पदार्थ आयातकै लागि बैंकबाट कर्जा प्रवाह नहुँदा समस्या भइरहेको छ ।’

हाल व्यवसायीले कच्चा पदार्थ आयातका लागि व्यवस्था भएको सफ्ट लोनसमेत बैंकबाट प्राप्त नहुँदा आयातमा समस्या भइरहेको उनले जिकिर गरे ।

नेपालबाट उत्पादित वस्तु जस्तै चिया, कफी, अलैंची, अदुवालगायत कृषिजन्य वस्तु निर्यातका लागि कुनै समस्या छैन । तर, गलैंचा, गार्मेन्टलगायत अन्य मुख्य निर्यात हुँदै वस्तुका लागि कच्चा पदार्थ विदेशबाट आयात गर्दै आएका छन् । जसले गर्दा तरलता अभाव कारण पर्याप्त मात्रामा कच्चा पदार्थ आयात हुन नसकेको उनले उल्लेख गरे ।

‘निर्यात व्यवसायीलाई अहिलेको अवस्थामा कति ऋण आवश्यक रहेको छ भन्नेबारे यकिन तथ्याङ्क छैन,’ उनले भने, ‘तर, परिषदमा आबद्ध भएका व्यवसायीहरूले भने कच्चा पदार्थ आयातमा समस्या रहेको बताउँदै आएका छन् ।’

त्यस्तै, कच्चा पदार्थ पर्याप्त मात्रामा आयात हुन नसक्दा समयमै वस्तु उत्पादन गरी निर्यात गर्न कठिन भएको व्यवसायीहरूको भनाइ छ ।

अहिले राष्ट्र बैंकले तरलता अभाव कम गर्नका लागि आयातका कडाइ गरेको छ । उक्त व्यवस्थाले केही सहज हुन सक्ने अध्यक्ष कार्कीको दाबी छ ।

नेपालले चालु आवको ५ महिनाको अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । उक्त अवधिमा विदेशबाट आयातित कच्चा पदार्थबाट ५७ अर्ब ९८ करोड रुपैयाँको भटमास र पामतेल निर्यात गर्न सफल भएको छ । साथै, अन्य निर्यातित वस्तुको पनि कच्चा पदार्थ आयात गरी प्रशोधन भई उल्लेख्य निर्यात भएको व्यवसायीहरूको भनाइ छ ।

त्यसैगरी, परिषद्का अध्यक्षले चर्को हवाई भाडा, दक्ष जनशक्तिको कमी, चर्को बैंक ब्याजदर, नगद प्रोत्साहनप्राप्त गर्न प्रक्रियात्मक झन्झट, बजार प्रवद्र्धनमा कमी, कच्चा पदार्थ आयात गर्दा ढुवानी खर्च महंगो, कर प्रणालीमा असमानताका कारण निर्यातवृद्धि हुन नसकेको बताए । साथै, सरकारबाट निर्यात क्षेत्रमा आबद्ध व्यवसायीलाई सहुलियत व्यवस्था हुन नसक्दा समस्या भएको उनको भनाइ छ ।


क्लिकमान्डु