मुख्य सिजनमै घट्न सकेन सुन्तलाको मूल्य



काठमाडौं । स्याउ, अनार, केरा फलफुलबाहेक अन्य फलफुल मौसमअनुसार बजारमा अत्यधिक देखा पर्ने गर्दछ । वर्षभरी नै सम्पूर्ण फलफूल देखा परे पनि मौसमअनुसार भने विशेष बजारमा छाउने गर्दछ ।

आँपको मौसम वर्षा भनेजस्तै सुन्तलाको मुख्य मौसम हो चिसोयाम । बजारमा वर्षभरी नै सुन्तला उपलब्ध भइपनि चिसो समयमा अत्यधिक मात्रामा देखा पर्ने गर्दछ ।

मौसमअनुसार बजारमा फलफुल देखा पर्ने भएकाले सोहीअनुसार मूल्य तय हुने गर्दछ । साथै, अन्य अवस्थाको तुलनामा मौसमको समयमा सस्तो मुल्यमा उपभोक्ताले उपभोग गर्न पाउँछन् ।

हाल सुन्तलाको मौसम भएकाले बजारमा अत्यधिक मात्रामा सुन्तला देख्न सकिन्छ । तर, बजारमा सुन्तला पर्याप्त मात्रामा उपलब्ध भएको अवस्थामा भने मूल्य घट्न सकेको छैन ।

मौसमअनुसार पाउने फलफूलमा मौसमको समयमा कम मूल्यमा उपभोग गर्न पाउनुपर्ने हो । अहिले बजारमा भने मुख्य सिजनमै सुन्तलाको मूल्य नघटेको देखिन्छ ।

गत वर्ष खुद्रा बजारमा प्रतिकेजी सुन्तलाको मूल्य ५० देखि ८० रुपैयाँसम्म बिक्री गरेका थिए । कालीमाटी फलफुल तथा तरकारी बजारका फलफूल विकास समितिले गत वर्ष सोही अवधिमा नेपाली सुन्तलाको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ कायम भएको थियो भने भारतीय सुन्तलाको औसत मुल्य प्रतिकेजी ७५ रुपैयाँ कायम भएको थियो ।

गत वर्ष कोरोना महामारीले गर्दा खासै व्यापार नहुँदा व्यवसायीहरूले ६० रुपैयाँदेखि ८० रुपैयाँ प्रतिकेजी बिक्री गरेका थिए ।
मुख्य सिजनमै सुन्तला बजारमा बिक्री नहुँदा सस्तोमा बिक्री भएको व्यवसायीहरूको भनाइ थियो ।

यो वर्ष कालीमाटी फलफूल विकास समितिले बजारमा उपलब्ध भएको सुन्तलाको आधारमा नेपाली सुन्तलाको औसत मूल्यप्रति केजी १२० रुपैयाँ कायम गरेको छ भने भारतीय सुन्तलाको औसमत मूल्य प्रतिकेजी १०५ रुपैयाँ कायम गरेको छ । जुन गत वर्षको तुलनामा बढी हो ।

बजारमा अहिले प्रतिकेजी १५० रुपैयाँसम्म बिक्री भइरहेको छ । आम उपभोक्ताले मुख्य सिजनमै सुन्तला सस्तो मूल्यमा उपभोग गर्न पाएका छैन् । बजारमा सुन्तलाको ग्रेडअनुसार मूल्य तय हुने गर्दछ । जसमा नेपाली र भारतीय सुन्तलाको मूल्य फरक छ ।

समितिका सुचना अधिकारी विनय श्रेष्ठले गत वर्षको तुलनामा यो वर्ष मूल्य नघटेको बताए । गत वर्ष कोरोना महामारीले गर्दा बजारमा आयातित सुन्तला खपत हुन नसक्दा मूल्य घटेको थियो । तर, यो वर्ष सुन्तलाको उत्पादन पनि कम, खपत बढी हुँदा मूल्य बढेको उनको भनाइ छ ।

उनकाअनुसार यो वर्ष आन्तरिक उत्पादनमा विभिन्न समस्याले गर्दा उत्पादन कम भएको छ । कतिपय जिल्लामा सुन्तलामा किरा लागेको, उत्पादन कम र बोटबिरुवा मरेको हुनाले नेपाली सुन्तला बजारमा पर्याप्त पाएको छैन ।

‘नेपालमा सबैभन्दा बढी गोर्खाबाट सुन्तला आउँथ्यो,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिले गोर्खा जिल्लामा किरालगायत अन्य समस्याले उत्पादन कम भएको पाइयो ।’

बजारमा तनहुँलगायत अन्य जिल्लाबाट सुन्तला बजारमा आयात भइरहेको उनले बताए ।

त्यस्तै, बजारमा विगतको जस्तो मिठो स्वाद र ठूलो दानाको सुन्तला उत्पादन नभएकाले मूल्यमा असर परेको उनको दाबी छ । ‘बजारमा उपलब्ध सुन्तला विगतको जस्तो मिठो स्वाद नभएको भन्दै आएका छन् । साथै, उत्पादन कम र गुणस्तरको सुन्तला नपाउँदा मूल्य घट्न सकेको छैन,’ उनले भने ।

त्यसैगरी, बजारमा भारतीय सुन्तला अत्यधिक मात्रामा देख्न थालेको उनले जिकिर गरे । आन्तरिक उत्पादनमा निकै प्रभाव परेपछि विस्तारै सुन्तलाको आयात बढ्दै गएको उनले जानकारी दिए । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालले ५६ करोड ५६ लाख रुपैयाँको १ करोड २ लाख ८५ हजार केजी सुन्तला आयात गरिसकेको छ ।


क्लिकमान्डु