इन्डक्सन चुलोः चर्चा धेरै, प्रयोग कम



काठमाडौं । मुलुकमा विद्युतको उपलब्धता अत्यधिक भएको भन्दै सरकारले इन्डक्सन चुलोको प्रयोग गर्न प्रोत्साहन गरे पनि यसको आयात भने स्वात्तै घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनामा ६३ प्रतिशतले उक्त चुलोको आयात घटेको देखिन्छ । यसमा इन्डक्सन र इन्फ्रारेड चुलो जोडिएको छ ।

घट्दै गएको आयातको विवरणले मुलुकमा चर्चा भएअनुसार इन्डक्सन चुलो प्रयोग हुन नसकेको देखाउँछ । विजुलीको उपलब्धता र ग्याँसभन्दा सस्तो पर्ने भनिए पनि त्यसअनुसारको इन्डक्सन चुले खपत भएको देखिँदैन ।

विभागको तथ्यांकअनुसार चालु आवको पहिलो ५ महिनामा ३ करोड ७ लाख ५२ हजार रुपैयाँको १३ हजार ८ सय ८९ इन्डक्सन चुलो आयात भएको छ । त्यस्तै, यही समयमा २ करोड १ लाख १२ हजार रुपैयाँ बारबरको ९ हजार ३ सय ३० वटा इन्फ्रारेड चुलो आयात भएको छ ।

इन्डक्सन र इन्फ्रारेड चुलोको एक मुष्ट गर्दा ५ करोड ८ लाख ६४ हजार रुपैयाँ बराबरका इन्डक्सन र इन्फ्ररेड चुलो आयात भएको देखिन्छ ।

गत वर्षको सोही अवधिमा भने १४ करोड ७ लाख ५५ हजार रुपैयाँको ९४ हजार ४ सय ६६ वटा इन्डक्सन चुलो आयात भएको थियो ।

गत आर्थिक वर्ष २०७७÷७८ मा २४ करोड ३७ लाख ६३ हजार रुपैयाँ बराबरको १ लाख ५२ हजार ५ सय ८८ वटा इन्डक्सन चुलो आयात भएको थियो । सोही वर्ष ४४ लाख ४२ हजार रुपैयाँको २ हजार ४ सय इन्फ्रारेड चुलो आयात भएको थियो ।

पछिल्लो चार–पाँच महिनादेखि विजुलीको उपलब्धतामा उपभोक्ता विश्वस्त हुन नसक्दा बजारमा माग घटेकाले आयात कम भएको सम्बन्धित आयातकर्ता बताउँछन् ।

इन्फ्रारेड चुलो आयात गरिरहेका व्यवसायी धर्म केसीले विद्युत प्राधिकरणमा प्रबन्ध दिर्नेशक परिवर्तन हुँदा विद्युत अभाव हुने हो कि भन्ने आशंकाले माग घटेको बताउँछन् ।

जब प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आए त्यसपछि लोडसेडिङ घट्दै विजुली प्रशस्त उपलब्ध भयो । त्यसपछि ग्याँसभन्दा सस्तो हुने भएकाले इन्डक्सन चुल चलाउनु पर्छ भन्ने चर्चा शुरु भयो ।

यसका साथै, कोरोना भाइरस संक्रमणले लकडाउन भएपछि नाकाबन्दीमा जस्तो ग्याँसको अभाव हुने हो कि भनेर धेरै उपभोक्ताले इन्डक्सन चुलो जोहो गरेकाले पनि गत वर्ष यसको माग ह्वात्तै बढेको केसीको भनाइ छ ।

पछिल्लो समय झ्याप्पझ्याप्प बत्ति गइरहेको छ । जसका कारणले विद्युतीय उपकरणको प्रयोग गर्न हिचकिचाइरहेका छन् । कतिपय कार्यलयहरुले धन्काएर राखेर इन्भटर तथा अन्य व्याकअपका उपकरण पुनः जोहो गर्न थालेका छन् ।

यसको असर विद्युतीय उपकरण प्रयोगमा परेको छ । साथै, आयात शुल्कमा पनि धेरै वृद्धि भएकाले कमी भएको केसीले बताए ।

त्यस्तै, अहिले इन्डक्सनभन्दा पनि इन्फ्रारेड चुलोको प्रयोग बढ्न थालेका इन्डक्सनको आयात घटेको केसीको भनाइ छ ।

‘इन्डक्सनभन्दा इन्फ्रारेड चुलो चलाउन सजिलो र विद्युत खपत जतन हुन्छ,’ केसीले भने, ‘अहिले धेरैले इन्डक्सन छोडेर इन्फ्रारेड चुलो प्रयोग गर्न थालेका छन् ।’

अहिलेको विद्युतीय चुलोको आयात घटे पनि आगामी दिनमा भने खपत बढ्ने केसीले बताए । पहिला उपभोक्तालाई विजुलीको चुलो भनेको इन्डक्सन नै हो भन्ने थियो । अहिले इन्फ्रारेड जस्ता विद्युतीय चुलो आयात हुन थालेपछि आयात घटेको उनी बताउँछन् ।

हरेक मुलुकमा विद्युतीय चुलो चलाउँदा सुरुमा इन्डक्सन चलाए पनि विस्तारै इन्फ्रारेड जस्ता अन्य चुलोको व्यापकता बढ्दै जाने केसीले बताए ।

‘भुटानमा पनि शुरुमा इन्डक्सन चुलो प्रयोग भएको थियो,’ केसीले भने, ‘अहिले भने इन्फ्रारेडको मात्र प्रयोग छ । संसारभर इन्फ्रारेडको प्रयोग भइरहेको छ ।’

नेपालमा सस्तोदेखि उच्च गुणस्तरका धेरै प्रकारका इन्डक्सन चुलो बजारमा पाइन्छन् । बाल्ट्रा, अगेनो, डाइमण्ड, सनसाइन, यसुदो, सोभन, इलेक्ट्रोनलगायतका इन्डक्सन चुलो प्रचलनमा छन् ।

दुई वर्षअघि सरकारले विद्युत खपत प्रवद्र्धन गर्न भन्दै विद्युतबाट चल्ने चुल्हो र विद्युत सहुलियत दिएको थियो । इन्डक्सन चुलो प्रयोग गर्नेलाई १५ प्रतिशत र विद्युत महसुलमा २० प्रतिशत छुट पाउने व्यवस्था गरेको थियो ।

सरकारले माकिस १५० युनिटसम्मको खपतमा ग्राहकलाई यस्तो छुटको व्यवस्था गरेको थियो ।

२०७२ मा भारतको नाकाबन्दी भोगेपछि ग्यास पाउनै मुस्किल भयो । जसले गर्दा सरकारले चीनबाट इन्डक्सन चुल्यो ल्याएर बेचेको थियो । त्यसपछि इन्डक्सन चुलो प्रयोगमा आम मासिनको चासो बढेको हो ।


क्लिकमान्डु