तरलता अभावको चपेटामा अटोमोबाइल क्षेत्र: दशैंमा दिएको ‘डिओ’को पैसा अहिलेसम्म दिएनन्



काठमाडौं । तरलताको चरम अभावका कारण अटोमोबाइल क्षेत्रमा समस्या देखिन थालेको छ । अटो लोन लिएकाले चर्को ब्याज तिर्न बाध्य भएका छन् ।

ऋण लिने समयमा ८ प्रतिशत ब्याज रहेकोमा अहिले तरलताको अभाव भएको भन्दै थप ५ प्रतिशत बिन्दुसम्म बढाइएको गुनासो आधिकारिक विक्रेताले गरेका छन् ।

व्यापार भनेको सामान ल्याएर बेच्ने हो तर नेपालको बैंकिङ प्रणालीले वस्तु ल्याएर बेच्नेभन्दा पनि स्टक राख्ने अवस्थामा पुर्याएको छ ।

नारायणी अटो विजनेस प्रालि सुजुकीका प्रवन्ध निर्देशक तथा नाडा कार्य समिति सचिव अनुपकुमार बरालका अनुसार तरलताको अभावले अटोमोबाइल क्षेत्रमा नराम्रो असर पारेको छ ।

‘अहिले यस्तो अप्ठ्यारो परेको छ, न आयात गर्न पाएका छौं, न त बिक्री गर्न नै,’ उनले भने, ‘त्यसमा पनि फाइनान्स भइसकेका र नाम सारी भएका गाडीलाई तरलताले ठूलो समस्यामा पारेको छ ।’

बरालका अनुसार फाइनान्स गरेको गाडीको पैसा बैंकहरुले सहजरुपमा दिन सकेका छैनन् । यो तरलताकै कारणले भएको उनी बताउँछन् ।

बैंक तथा वित्तीय संस्थाले ऋण उपलब्ध गराउनै नसकेको बरालको भनाइ छ । पास भइसकको ऋण पनि दिन नसक्ने अवस्था भएको उनले बताए ।

‘तरलता अभावले अटोमोबाइल क्षेत्रमा नगद प्रवाह नै ठप्पजस्तै भएको छ,’ बराले भने, ‘यस्तै अवस्था रहेमा अटोमोबाइल क्षेत्र एकदमै ठूलो संकटमा पर्छ ।’

साना-सानादेखि ठूला अटोमोबाइल कम्पनीको आ–आफ्नै समस्या रहेको र अहिले सबैको एउटै समस्या भनेको तरलता नै भएको बरालले बताए ।

जी मोर्टस र जी इभी नेपालका प्रवन्ध निर्देशक कैलाशबाबु गेलालले तरलताका कारण नयाँ ऋण दिन नसक्ने र गाडी स्टकमा बस्ने अवस्था सिर्जना भएको बताए ।

‘आयात गर्न ऋण दिने तर बेच्न ऋण नदिने अवस्था अहिलेको मुख्य समस्या हो,’ उनले प्रश्न गरे, ‘कि आयात गर्न पनि रोक लगाउनु पर्यो । ल्याउन दिने ल्याइसके पछि बैंकले लगानी नगर्ने ?’ बैंकले लगानी शून्य नै पारेको गेलालको भनाइ छ ।

‘दशैँमा दिएको ऋण तिर्न नसकेर हारगुहार नै गर्ने गरेका छन,’ उनले भने, ‘ ग्राहकलाई डेलिभरी दिएका गाडी पास नगरी २–३ महिना झुलाउने काम भइरहेको छ ।’

बैंकहरुले आफूले प्रदान गरेका ऋण नतिर्ने र टिआर लोन भने बुक गर्दिने गरेको गेलालको भनाइ छ ।

‘नयाँ ऋण नदिने र पुरानो ऋणको पेमेन्ट नगर्नु भनेको हामी अटो व्यवसायीको घाउमा नुन छर्नु जस्तै हो,’ उनले भने, ‘विभिन्न बैंक र तिनका शाखासँग समन्वय गर्दा कतिपयसँग तरलता अभाव कारण झगडा नै गर्नुपरेको छ ।’

कुनै ग्राहक गाडी किन्नलाई ऋण चाइयो भन्दै बैंक गएपनि उनीहरुले रित्तै फर्काएको गुनासो गेलालको छ ।

‘दशैं तिहारमा बैंकहरुले मज्जाले ग्राहकलाई ऋण दिए, ग्राहकले गाडी किने,’ उनले भने, ‘गाडी नामसारी गरेनन्, अहिले गाडी बैंकको नाम छ, बैंकहरुले पैसा छैन भन्छन् ।’

दशैंमा ग्राहकसँग गरेको ऋण सम्झौतामा ब्याज ८ प्रतिशत थियो तर अहिले बैंकहरुले तरलता अभाव भयो भनेर सीधै ४ देखि ५ प्रतिशत बिन्दुसम्म ब्याज बढाएर ग्राहकलाई अप्ठारो पारेको गेलालको भनाइ छ ।

‘बैंकले यस्तो गर्नु कानुनी अवराध हो,’ उनले भने । नयाँ ऋण नदिए पनि पुराना पास भएका ऋणको पैसा बैंकले किन नदिएको भन्ने प्रश्न उनको छ ।


क्लिकमान्डु