निर्यातकर्तालाई ज्वाइँलाई जस्तो सम्मान गर्नुपर्छ: महासंघ अध्यक्ष गोल्छ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अहिलेको सबैभन्दा ठूलो समस्या उच्च आयात भएको भन्दै सरकारले निर्यात प्रवर्द्धनका लागि गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।

बुधबार सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित परिसंवाद कार्यक्रममा बोल्दै गोल्छाले मुलुकको औद्योगिक क्षेत्रको विकास गर्न निर्यातकर्तालाई ज्वाइँबाबुको जस्तो व्यवहार आवश्यक भएको बताए ।

‘निर्यातकर्तालाई ज्वाइबाबुको जस्तो व्यवहार गर्नुपर्छ,’ कार्यक्रममा बोल्दै गोल्छाले भने, ‘अहिलेको शोधानान्तर घाटाले नै यो विषयलाई स्पष्ट पार्छ ।’

कार्यक्रममा निर्यातकर्ताहरुले उद्योग सचिव समक्ष आफ्ना समस्याहरु राखेपछि गोल्छाले निर्यातका लागि भएको समस्यालाई गम्भीर भएर समाधान गर्नुपर्ने बताए ।

उच्च आयातले मुलुकको आर्थिक विकासमा ठूलो समस्या पारेको भन्दै जबसम्म भ्यालुएड गरेर सामान निर्यात गरिदैन तबसम्म आयात घट्न नसक्ने उनको तर्क छ ।

‘निर्यातलाई प्राथमिकता नदिने हो भने मुलुकको आर्थिक विकास पनि हुदैन,’ गोल्छाले भने, ‘चुनौती एकातिर छलफल र काम अर्कैतिर भइरहेको छ ।’

देशको आर्थिक विकासका लागि ‘भिजन पेपर २०३०’ ल्याएको भन्दै त्यसमा भएका विषयहरुलाई सम्बोधन गरेमात्रै ५० प्रतिशत व्यापार घाटा कम गर्न सकिने गोल्छाको भनाइ थियो ।

आद्योगिक विकासका लागि बाधक भएका ठूला मुद्दाहरुलाई यथासक्य सम्बोधन गर्नुपर्ने उनको जोड थियो ।

अत्यधिक लागत खर्च, उर्जाको समस्या, जग्गा प्राप्तिमा समस्या, श्रमलगायत प्रमुख विषय मुलुकको औद्योगिक विकासका बाधक रहेको उनको भनाइ थियो ।

साथै, ब्याज खर्चले पनि उद्योगमा लगानी गर्ने निरुत्साहित गरेको उनको भनाइ छ ।

‘एक महिनामै ब्याज ३०/४० प्रतिशतसम्म तलमाथि हुन्छ,’ गोल्छाले भने, ‘यस्तो अनिश्चितता विश्वका कुनै पनि मुलुकमा हुँदैन ।’

परिसंवाद कार्यक्रममा उठेका प्रश्न र विषयहरुलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले औद्योगिक विकासमा रहेका समस्या समाधान गर्न सरकार र निजीक्षेत्रले आ-आफ्नो भूमिका निभाउनु पर्ने बताए ।

‘उद्योग विकास र निर्यातमा रहेका समस्या हटाउनका लागि तपाईंको बुझाई र मेरो काम मिलाउन आवश्यक छ,’ उनले भने, ‘निजी क्षेत्रले पनि कहाँनिर समस्या भनेर बुझ्न आवश्यक छ ।’

उनले देशको औद्योगिक क्षेत्रको विकास र त्यससँग सम्बन्धित नीति निर्माण गदौ निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताए ।

‘हामी सबै क्षेत्रमा हातेमालो गरेर जान चाहन्छौं,’ भट्टराईले भने, ‘त्यसका लागि तपाईंहरु पनि जिम्मेवारी हुनुपर्छ ।’

सचिव भट्टराईले परिसंवादमा विभिन्न उद्योग व्यवसायीले उठाएको विषयलाई सम्बोधन गर्दै के-के समस्या छन् ति मन्त्रालयमा ल्याएमा आफै अग्रसर भएर सम्बोधन गर्ने आश्वासन दिए ।

उद्योग स्थापनका लागि जग्गा प्राप्ति अति महंगो र जग्गा पाउनै समस्या रहेको विषयलाई सम्बोधन गर्न भनेर सरकारले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक ग्रामको नीति ल्याएको बताए ।

त्यस्तै, जनशक्ति उत्पादनको निम्ती विश्वविद्यालयसँग मिलेर कार्यक्रम ल्याएको जानकारी गराए ।

कार्यक्रममा उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले अहिले उर्जा र वातावरणको क्षेत्रमा सबैभन्दा ठूलो समस्या देखिएको बताए ।

यस विषयमा सम्बन्धित निकायलाई बोलाएर छलफल गरेको जानकारी गराए ।

‘कानूनको दायरा र सीमित साधान स्रोतको अभाव हुँदाहुदै पनि हामीले उद्योग विकासमा रहेको समस्या समाधान गर्ने प्रयास गरिरहेका छौं,’ भुसालले भने, ‘हामीले उद्योग दर्तादेखि अन्य सेवालाई छिटो गर्न धेरै काम गरेका छौं ।’

उद्योग व्यवसायीको हरेक कामलाई सहज बनाउन उद्योग विभागलाई पूर्ण अटोमेसन गर्ने काम भइरहेको पनि उनले जानकारी गराए ।

कार्यक्रममा सम्बोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योग मन्त्रालय सरकारको प्राथमिकतामा नपरेको गुनासो गरे ।

कतिपय नीति नियमहरु निजी क्षेत्रसँग छलफल नगरिकन बनाएकाले अहिले धेरै समस्या भोग्नु परेको उनको भनाइ थियो ।

‘व्यवसायीहरुले जुन दुःख भोगिरहेका छन्, त्यो सरकारी कर्मचारीले पनि बुझ्नु पर्यो,’ ढकालले भने ।

कार्यक्रममा महासंघ अन्र्तगतको उद्योग समितिका सभापति भरत आचार्यले मुलुकको औद्योगिक विकास, विभिन्न मुद्दा र यसमा रहेका मुख्य समस्यालाई समेटेर कार्यपत्र पस्तुत गरेका थिए ।

उनले लागत खर्च बढी, उर्जाको अभाव, अति महंगो जग्गा, उच्च श्रम खर्च, उच्च करलगायका विषय उद्योग विकासका लागि मुख्य समस्याका रुपमा रहेको बताए ।

बिहीबार स्वदेशी उद्यम र उत्पादनः दिगो औद्योगिक पुनरुत्थान नारासहित सातौं राष्ट्रिय उद्योग दिवस मनाइदै छ ।

उक्त दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले परिसंवाद कार्यक्रम आयोजना गरेको हो ।


क्लिकमान्डु