विश्वको कूल सम्पत्तिको एक तिहाई हिस्सा चीनमा, २० वर्षमै पुग्यो १२० ट्रिलियन



एजेन्सी । सन् २००० सम्म चीनलाई विश्व व्यापार संगठनको सदस्य समेत बनाउन हुन्न भन्ने मत थियो । पश्चिमाहरुले चीनलाई हेर्ने दृष्टिकोण नै नकारात्मक थियो । उनीहरु भन्थे कि चीनमा मानवअधिकार छैन । अर्थतन्त्र राज्यको नियन्त्रणमा छ ।

आज पनि पश्चिमाले मानवअधिकारको चर्कै वकालत गर्छन् । तर आर्थिक कोणबाट हेर्दा चीनले पश्चिमाहरुलाई धेरै पर छाडिदिएको छ । विश्वको कूल सम्पत्तिको एक तिहाई हिस्सा चीनको पोल्टामा पुगेको छ ।

अब पश्चिमाहरुले चाहेर पनि चीनलाई कुनै पनि हालतमा बाहेक गर्न सक्दैनन् ।

ब्लूमवर्गले प्रकाशित गरेको एक समाचार विवरण अनुसार सन् २००० मा चीनको कूल सम्पत्ति मात्रै ७ ट्रिलियन डलर बराबरको थियो । सन् २०२० मा आइपुग्दा अर्थात् २० वर्षपछि यो बढेर कूल १२० ट्रिलियन डलर बराबर पुगेको छ । सो अवधिमा अमेरिकाको कूल सम्पत्ति मात्रै ९० ट्रिलियन डलर बराबर पुगेको छ ।

एक अनुसन्धानअनुसार विश्वको कूल सम्पत्ति सन् २००० मा मात्रै १५६ ट्रिलियन डलर थियो । सन् २०२० मा त्यो बढेर ५१४ ट्रिलियन डलर पुगेको छ । त्यसमा चीनको हिस्सा एक तिहाइ बराबर रहेको छ ।

चीन र अमेरिकाको कूल सम्पत्तिको दुई तिहाई बढी हिस्सा सीमित १० प्रतिशत मानिसको साथमा छ । जुन लगातार बढी पनि रहेको छ । धनीहरु असाध्यै धनी हुँदै गएका छन् भने गरिबहरु एकपछि अर्को गर्दै झन गरिबीको रेखामुनी परिरहेका छन् ।

अन्तर्राष्ट्रिय एक परामर्शदाता कम्पनी म्याकेजीले सम्पत्तिको बारेमा अध्ययन गरेको थियो । सो अध्ययन सामग्रीको विवरण ब्लूमवर्गले सार्वजनिक गरेको थियो ।

विवरणअनुसार विश्वव्यापीरुपमा पछिल्लो दुई दशकमा सम्पत्ति तीनगुणाले बढेको छ । त्यसमा अमेरिकालाई पछाडि छाडेर चीनले पहिलो स्थानमा आफूलाई उभ्याएको देखिन्छ । उक्त समाचार विवरण बीबीसीले समेत प्रकाशित गरेको छ ।

अध्ययन विवरणमा संसारका १० ठूला देशको आयको बारेमा विश्लेषण गरिएको छ । ती देशको नेशनल ब्यालेन्स सिटको अध्ययन गरिएको छ ।

म्याकेजीको जुरिचस्थित इन्टिच्यूटका जेन मिश्कले ब्लूमवर्गलाई दिएको अन्तरवार्तामा भनेका छन्– ‘हामी अब पहिलेको तुलनामा धेरैनै धनी भएका छौ ।’

विवरणमा विश्वको कूल सम्पत्तिको ६८ प्रतिशत बराबरको हिस्सा रियल स्टेट क्षेत्रमा प्रयोग भएको उल्लेख गरेको छ ।

भौतिक पूर्वाधार, मेशिनरी र स्रोत तथा साधनमा खर्च भएको छ । यस्तै बौद्धिक सम्पत्ति तथा अन्य खालका प्याटेन्ट राइटमा समेत सम्पत्तिको हिस्सा बढी देखिएको छ ।

सम्पत्तिमा वृद्धि भएपनि विश्वव्यापीरुपमा बढेको मूल्यवृद्धिको चाप समेत त्यसमा परेको छ । घर जग्गाको कारोबारमा भएको लगानीका कारण संसारभरका मानिसहरु उच्च जोखिमा रहेको विवरणमा उल्लेख गरिएको छ ।

सन् २००८ मा अमेरिकामा देखिएको आर्थिक संकट त्यसैको वास्तविक नमूना भएको अध्ययनमा भनिएको छ । चीनले पनि यस्तै खालको जोखिम भोग्नुपर्ने अवस्था आएको छ । इभरग्राण्ड समूहले चीनमा यतिबेला भोगेको समस्या सन् २००८ को अमेरिकाको जस्तै रहेको छ ।

थप उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औल्याउँदै विवरणमा अगाडि भनिएको छ– ‘चल्ने तरिकाले विश्व अर्थतन्त्र अगाडि बढाउन खोजेको खण्डमा त्यसले निम्त्याउने प्रभाव अझै भयंकर हुने देखिन्छ ।’


क्लिकमान्डु