खुर्कोट-चियाबारी सुरुङमार्ग बन्ने भयो, प्रारम्भिक सम्भाव्यता अध्ययनको रिर्पोट आयो



काठमाडौं । सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्न प्रस्ताव गरिएको प्रारम्भिक सम्भाव्यताको प्रतिवेदन आएको छ ।

बीपी राजमार्गअन्तर्गत पर्ने सुरुङमार्गको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले प्रारम्भिक सम्भाव्यता अध्ययन (प्रि–फिजिबिलिटी स्टडी)को प्रतिवेदन सार्वजनिक गरेको हो ।

सडक विभाग अन्तर्गत पर्ने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैशीका अनुसार बिस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भने तयार हुन अझैं ६ महिना लाग्ने जाइकाले बताएको छ ।

‘अहिले भएको अध्ययन भनेको प्रि–फिजिबिलिटी स्टडी मात्र हो,’ जैशीले भने, ‘यस अध्ययनले सुरुङमार्ग बनाउनका लागि सकिन्छ वा सकिदैन भन्ने कुराको मात्र टुङ्गो लगाउँछ ।’

अहिले जाइकाले गरेको अध्ययनमा सुरुङमार्गको अनुमानित बजेट कति लाग्छ भनेर उल्लेख नगरेको सडक विभाग अन्तर्गतको योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक एवं सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले बताए ।

नागढुङ्गा सुरुङमार्ग निर्माणमा लागेको लागतसँग दाँजेर हेर्दा उक्त सुरुङमार्ग आयोजनाका लागि अनुमानित ३५ देखि ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेकोे उपमहानिर्देशक नेपालको भनाइ छ ।

‘यो रिपोर्टमा उल्लेख छैन,’ नेपालले भने, ‘वास्तविक लागत विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारपछि मात्र यकिन हुन्छ ।’

जाइकाको परामर्शदाता टोलीले सडक विभागका उच्च अधिकारीसंग भेट गरी सुरुङमार्ग निर्माण सम्बन्धमा छलफल समेत गरेको नेपालले जानकारी दिए ।

‘सोही छलफलमा जाइकाले प्रि–फिजिबिलिटी स्टडी प्रस्तुत गरेको हो,’ नेपालले भने, ‘उक्त रिपोर्टमा सडक विभाग सकारात्मक छ । हाल डीपीआरका लागि प्रक्रिया थालिएको छ ।’

बीपी राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा पछिल्लो समय ठूला सवारी साधन सञ्चालनमा समस्या आएपछि सरकारले विकल्पका रूपमाा चियाबारीदेखि खुर्कोटसम्म सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको हो ।

राजमार्ग २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । भूकम्पले सडक चिराचिरा परेर चर्केर भासिएपछि उक्त राजमार्गको विकल्पमा सुरुङमार्ग निर्माण गर्ने प्रक्रियादेखि अध्ययनका लागि बजेट पनि विनियोज गरिएको हो ।

प्रत्येक वर्ष बजेटमा चियाबारीदेखि खुर्कोटसम्मको सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने भनिए अनुसार सडक विभागले खुर्कोट–चियाबारी सम्भाव्यता अध्ययनका लागि १० महिनाभित्र सक्ने गरी २०७४ कात्तिक २३ गते ठेक्का लगाएको थियो । उक्त सम्भाव्यता अध्ययन २०७६ मा सकिएको थियो । फेरि जाइकाको प्राविधिक टोलीले सुरुङमार्गको प्रारम्भिक अध्ययन गरेको हो ।

अब सुरुङमार्गको यसैवर्ष डीपीआर बनाउने तयारी सरकारले थालेको नेपालको भनाइ छ । मध्य तराईबाट राजधानी भित्रने सबैभन्दा छोटो बीपी राजमार्गमा सुरुङमार्ग बनेपछि राजधानी झनै नजिक हुनेछ ।

विभागका उपमहानिर्देशक नेपालका अनुसार जाइकाको प्राविधिक टोलीको रिपोर्टमा विभागले सकारात्मक हुँदै अब डीपीआर सक्न ६ महिनाको समय दिइएको छ ।

निर्माण कस्ले गर्छ अन्योलमा
जाइकाले गरेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार ७.८ किलोमिटर सुरुङ र १.५ किलोमिटर सडक निर्माण गर्नुपर्ने छ । हाल सार्वजनिक भएको अध्ययन प्रारम्भिकमात्रै रहेकाले अहिलेनै जाइकाले सुरुङ निर्माण गर्न तयार भएको नबुझ्न समेत नेपालले बताए ।

‘जाइकको कुरामा विभाग सकारात्मक रहेकाले थप डीपीआरको अध्ययन गर्न आग्रह गरेका छौ,’ नेपालले भने, ‘डीपीआरको अध्ययन सकिएपछि मात्रै जाइकाले सुरुङ निर्माण गर्ने इच्छा देखाएमा र सरकारलाई पनि जाइकाको प्रतिवेदन सकारात्मक लागेमा सरकार र जाइकाबीच निर्माणका लागि सम्झौता हुन्छ ।’

बनेपा–सिन्धुली–बर्दिबास बीपी राजमार्ग जाइकाको अनुदान सहयोगमा निर्माण भएको हो ।

‘बीपी राजमार्ग जाइकाले नै बनाएको हो, त्यो बाटोको उसलाई माया छ । अरूलाई बनाउन दिँदैन होला तर, अहिले हामी आफैं गर्छौ भनिसकेको अवस्था छैन,’ नेपालले भने ।

उपमहानिर्देशक नेपालका अनुसार खुर्कोट–चियाबारी सुरुङमार्ग बीपी राजमार्गमा पर्ने भएकाले सुरुङको निर्माणमा पनि जाइकाले नै काम गर्ने सम्भावना रहेको छ ।

सम्भाव्यता अध्ययनमै समय धेरै लाग्ने
नेपालमा सुरुङमार्गको काम गर्दा होस् वा सडकको मार्गको काम गर्दा होस् सम्भाव्यता अध्ययनमै समय धेरै लाग्ने गरेको देखिन्छ । विभागका उपमहानिर्देशक नेपालका अनुसार नेपालको सन्दर्भमा सुरुङमार्ग निर्माणका लागि अध्ययन धेरै गर्नुपर्ने हुन्छ ।

‘सुरुङमार्ग बनाउन जमिन मुनिको अध्ययन गर्नुपर्ने भएकाले अहिले नै समय बढी लाग्छ, बरु निर्माणको काम शुरु भएपछि धेरै समय लाग्दैन,’ नेपालले भने, ‘अझैं विदेशी सहयोगमा हुने कामको प्रक्रियागत जाँदा समय धेरै लाग्ने गरेको पाइन्छ ।’

बीपी राजमार्गमा सुरुङमार्ग र सडक गरेर करिब १० किलोमिटर निर्माण गर्नुपर्ने हुन्छ । सुरुङमार्ग बनेपछि २५ किलोमिटर बाटो छोटो हुने पनि जाइकाको अध्ययनले देखाएको छ ।

अहिले खुर्कोटबाट सिन्धुली पुग्न ३९ किलोमिटर पर्छ । सुरुङ बनेपछि १४ किलोमिटर लम्बाइ घट्नुका साथै पेट्रोलियम पदार्थको खपतमा पनि कमी आउने विभागका प्रवक्ता नेपालको भनाइ छ ।

२६ अर्ब जापानी येन लगानी भएको सो राजमार्गको लम्बाई धुलिखेलदेखि बर्दिबाससम्म १६० किलोमिटर छ ।


क्लिकमान्डु