ग्रीन इनर्जीमा अम्बानी र अडानीको टक्कर, अडानीका ६ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो



एजेन्सी । भारतको संस्थापन पक्षको आडमा व्यवसाय बिस्तार गरिरहेका अडानी समूहको सेयर मूल्यमा उच्च अंकको गिरावट देखिएको छ ।

विशेष गरी अडानी समूहका गौतम अडानीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आडमा धेरै व्यवसायमा हात हालेका छन् । राज्ययन्त्र केही खास मानिसहरुको व्यवसाय बिस्तारमा लागेको आरोप भारतमा बेला बेलामा चल्ने गरेको छ ।

सत्तामा जो आयो, उसैको इशारामा केही व्यापारीको हितमा निर्णय हुने गरेको तथ्य जगजाहेरनै छ । विशेष गरी आसेपासे पूँजीवादको सिद्दान्तनै यस्तै बन्दै गएको छ । सोही क्रममा मोदी सत्तामा आएपछि मौलाएको अडानी समूहको व्यापारमा पनि प्रश्न उठ्ने गरेको छ ।

अडानीको कम्पनीको सेयर मूल्यमा ४५ प्रतिशतको गिरावट आएको छ । सोही कारण उनले १.३४ लाख करोड बराबरको नोक्सानी भोग्नु परेको छ । विशेष गरी प्रसारण तथा ग्यास कम्पनीको सेयर मूल्य ओरालो लाग्दा लगानीकर्ताले जबरजस्त घाटा व्योहोर्नु परेको छ ।

विवरणअनुसार अडानी इन्टरप्राइजेजको सेयर मूल्यमा १७.२२ प्रतिशतले घटेको छ । अडानी पोर्ट २१ं१९, अडानी ग्रीन २७.६९, अडानी ट्रान्समिशन ४१.७७, अडानी टोटल ग्यास ४५.२३, अडानी पावरको सेयर ३४.७३ प्रतिशतले घटेको छ ।

गत ११ जुनमा कूल बजार पूँजीकरण ९.४२ करोड भारु रहेको थियो । त्यो मूल्य घटेर शुक्रबार ७.०८ करोड बराबर हुन पुगेको छ । गौतम अडानी संसारभरका २१औं ठूला धनी व्यापारी हुन् । उनी यसअघि १४ औं नम्बरमा पुगेका थिए ।

पछिल्लो १५ देखि २० दिनका बीचमा उनले ठूलो मूल्य बराबरको घाटा सहनु परेको छ । सो समूहको कूल सूचीकृत कम्पनी ६ वटा छन् ।

गत महिना मात्रै उनको कम्पनीमा लगानी गरिएको विदेशी लगानीकर्ताको लगानी फ्रिज भएको समाचार सार्वजनिक भएको थियो । सोही कारण कम्पनीको सेयर मूल्य ओरालो लाग्न थालेको थियो ।

सबैभन्दा बढी अडानी ग्यास र प्रसारण कम्पनीको सेयर मूल्य घटेको छ । प्रसारण कम्पनीको १६४७ भारु बराबरको सेयर घटेर ९५९ मा आएको छ । यस्तै अडानी ग्यासको सेयर मूल्य १६८० बराबर थियो । त्यसको समेत घटेर ९२० मा ओर्लेको छ ।

सेयर मूल्यमा लगातार गिरावट आएका कारण धनीहरुको सूचीमा समेत उनको स्थान तल झरेको छ । यसअघि १४औं नम्बरमा रहेका अडानी पछिल्ला दिनमा २१ औं नम्बरमा झरेका छन् । पछिल्लो २० दिनमै उनको स्थान ७ अंकले घटेको हो ।

के आर चौकसीका प्रबन्ध निर्देशक देवेन चौकसी भन्छन्– खासमा अडानी समूहले अगाडि बढाएका कम्पनी राम्रा छन् । तर यतिबेला मामिला अर्कै भइरहेको छ । यसले अब विशेष सावधानी अपनाउनु जरुरी हुन्छ । यतिबेला खास रुपमा अवस्था स्पष्ट भइसकेको छैन ।

अवस्था स्पष्ट नहुँदासम्म ती कम्पनीमा लगानी गर्नबाट जोगिनु नै उत्तम हुन्छ । जबकी सो कम्पनीको सेयर मूल्य एकै वर्षमा ५ देखि ८ गुणाले वृद्धि भएको थियो । तर, यतिबेला वृद्धिको मात्रा घटेर सबै सेयर मूल्य ओरालो लागिरहेको छ ।

ग्रीन इनर्जीमा सिधा टक्कर
भारतका दुई ठूला अर्बपति मुकेश अम्बानी र अडानीले स्वच्छ ऊर्जामा समेत लगानीको प्रतिष्पर्धा गरिरहेका छन् । अम्बानीले ३ वर्षमा कूल ७५ हजार करोड बराबरको लगानी गर्ने योजना बनाएका छन् ।

जामनगरमा ५ हजार एकड जमिनमा गीगा कम्प्लेक्स निर्माण हुनेछ । सन् २०३० सम्म १०० गिगावाट ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

यस्तै, अडानी ग्रीन इनर्जीमार्फत् अडानीले १.८२ लाख करोड बराबरको लगानी गर्ने योजना अगाडि सारिएको छ । फ्रान्सको टोटल इनर्जीसँग मिलेर २०२५ सम्म २५ गिगावाट बराबरको ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सन् २०२० मा अडानीले भारतीय सत्तासँग मिलेर सरकारी ठेक्का पाएका थिए । उनको कम्पनीले ग्रीन इनर्जीका लागि ४५ हजार ३०० करोड बराबरको एउटा ठेक्का प्राप्त गरेका थिए । अडानी समूह यसअघि नै ग्रीन इनर्जीमा थियो । रिलायन्स समेत त्यसमा प्रवेश गरेपछि उनीहरुबीच सिधा टक्कर भइरहेको छ ।

रिलायन्सले गुजरातको जामनगरमा ४ गीगा फ्याक्ट्री निर्माण गर्नेछ । त्यहाँ सोलार प्यानल, ब्याट्री, ग्रीन हाइड्रोजन र फ्यूल सेल निर्माण गर्नेछ ।
अडानीको ११ राज्यमा नवीरकणीय ऊर्जाका स्रोत छन् । उनको ३ हजार २३ मेगावाट क्षमताको सोलार पावर पलान्ट छ । त्यस्तै उनले ८ हजार १५० मेगावाट क्षमताको सोलार प्लान्टको तयारी गरिरहेका छन् ।

यस्तै, वायु ऊर्जातर्फ ४९७ मेगावाट क्षमताको प्लान्ट चलिरहेको छ भने १४३० मेगावाट बराबरको तयारी भइरहेको छ । हाइब्रिड पावरतर्फ २२९० मेगावाट बराबरको प्लान्ट चलिरहेको छ भने सन् २०२५ सम्म २५ गिगावाट बराबरको ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

विवरणअनुसार रिलायन्सले सोलार प्लान्टबाट ४०.१ गिगावाट, वायु ऊर्जाबाट ३९.२ गिगावाट, जलविद्युत्बाट १०.३ गिगावाट र साना जलविद्युत् परियोजनाबाट ४.८ गिगावाट बराबरको ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ ।


क्लिकमान्डु