वित्तीय सेवामा बागमती अगाडि, कर्णाली प्रदेश सबैभन्दा पछाडि



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रदेश १ को आर्थिक गतिविधिको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदनका अनुसार वित्तीय सेवा तथा उपकरण परिचालनमा बागमती प्रदेश अगाडि रहेको छ । प्रतिवेदनका अनुसार कुल निक्षेप, कुल कर्जा, प्राथमिकता प्राप्त कर्जा, कृषि कर्जा, सहुलियतपूर्ण कर्जा, पुनरकर्जा, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङमा बागमती प्रदेश अगाडि रहेको छ ।

वित्तीय सेवा तथा उपकरणमा सर्वसाधारणको पहुँचका दृष्टिकोणले बागमती प्रदेश अगाडि रहँदा कर्णाली प्रदेश सबैभन्दा पछि परेको छ । यसले के देखाउँछ भने बैंक तथा वित्तीय संस्थाले पनि दुर्गममा भन्दा बढी सेवा सुगम क्षेत्रमा दिने गरेका छन् ।

कुल निक्षेप परिचालनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी ६७.७ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको सबैभन्दा कम १.२ प्रतिशत योगदान रहेको छ । कुल निक्षेप परिचालनमा प्रदेश १ को योगदान ७.३ प्रतिशत रहेको छ । यस्तै प्रदेश २ मा ५.२, गण्डकीमा ७.८, लुम्बिनीमा ८.५, सूदुर पश्चिममा २.३ प्रतिशत रहेको छ ।

कुल कर्जा प्रवाहमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ५६.४ प्रतिशत रहेको छ भने दोस्रो स्थानमा प्रदेश १ को अंश ११.५ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा कर्णाली प्रदेशको अंश सबैभन्दा कम १.२ प्रतिशत रहेको छ । प्रदेश २ मा ८.८ प्रतिशत, गण्डकीमा ७.६ लुम्बिनी प्रदेशमा ११.४, सूदुर पश्चिममा ३.१ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुुसार कुल कृषि कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ३६.२ प्रतिशत तथा दोस्रो स्थानमा प्रदेश १ मा १६.८ प्रतिशत कर्जा प्रवाह भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम १.४ प्रतिशत कृषि कर्जा प्रवाह भएको छ । अन्य प्रदेश अन्तर्गत प्रदेश २ मा १६ प्रतिशत, गण्डकीमा ९.५, लुम्बिनीमा १५.७, सूदुर पश्चिममा ४.४ प्रतिशत रहेको छ ।

सहुलियतपूर्ण कर्जामा पनि बागमती प्रदेश नै अग्रस्थानमा रहेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी ३५.७ तथा दोस्रो स्थानमा प्रदेश १ रहेको छ । प्रदेश १ मा १७.७ प्रतिशत सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । यस्तै प्रदेश २ मा ९.३ प्रतिशत, गण्डकीमा १५.२ प्रतिशत, लुम्बिनीमा १५.७ प्रतिशत र सूदुर पश्चिममा ४.३ प्रतिशत रहेको छ ।

पुनरकर्जामा पनि कुल कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ५२ प्रतिशत तथा दोस्रो स्थामा प्रदेश लुम्बिनी प्रदेशमा १३.४ प्रतिशत प्रवाह भएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा सबैभन्दा कम १.९ प्रतिशत पुनरकर्जा प्रवाह भएको छ । प्रदेशमा १ मा ९.९ प्रतिशत, प्रदेश २ मा ७.१ प्रतिशत, गण्डकीमा ११.४ र सूदुर पश्चिम प्रदेशमा ४.३ प्रतिशत पुनरकर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि सबैभन्दा बढी बागमती र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन् । प्रतिशाखा सेवा प्रवाह भएको जनसंख्या गण्डकी प्रदेशमा सबैभन्दा कम १,८५१ जना रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा बढी ४,४५७ जना रहेका छ । प्रदेश नं. १ मा प्रतिशाखा सेवा प्रवाह भएको जनसंख्या २,९११ रहेको छ ।


क्लिकमान्डु