निर्माण शुरु भएको ६ दशकपछि कान्ति लोकपथको निर्माण अन्तिम चरणमा, १ अर्ब लागत थपियो



काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने वैकल्पिक सडकका रुपमा लिइएको कान्ति लोकपथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माण शुरु भएको ६ दशकपछि आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

यसैवर्षको चैत्रभित्रै सम्पन्न गर्ने गरी निर्माणको काम अघि बढाइएको हो ।

हाल आयोजनाको काम लगभग ९५ प्रतिशत सकिएको आयोजनाका प्रवक्ता इन्जिनियर दिपेश रजकले बताए । रजककाअनुसार ६८ किलोमिटर सडक पूरै सकिएको छ ।

२०७२/७३ पछि सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ । सरकारले एक दशकयता वर्षेनी उक्त राजमार्गका लागि बजेट विनियोजन गर्दै आएको छ ।

निर्माणाधीन सो राजमार्गलाई हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौंसम्मको २२६ किलोमिटर लम्बाइको र हेटौंडाबाट पालुङ हुँदै काठमाडौं आउने १३६ किलोमिटर सडकको विकल्पका रूपमा समेत हेरिएको छ । यस राजमार्गको लम्बाई जम्मा ८६ किलोमिटर छ ।

गत वर्षसम्म ९० किलोमिटर लम्बाइ रहेको सडकको लम्बाइ अहिले ८६ किलोमिटर छ । राजमार्गको शुरु बिन्दु हेटौँडाको बुद्धचोक तथा अन्तिम बिन्दु पहिले सातदोबाटो भए पनि अहिले ‘अलाइनमेन्ट’ परिवर्तन भएकाले लम्बाइ कम भएको हो ।

प्रदेश नं ३ को राजधानी हेटौंडा तोकिएपछि पनि सो राजमार्गको महत्व अझै बढेको विज्ञहरुको भनाइ छ । संघीय राजधानीलाई तराई र मधेशसँग जोड्ने सडकमध्ये निर्माणाधीन काठमाडौं–तराईरमधेश द्रुतमार्ग सबभन्दा छोटो हुनेछ ।

ललितपुरको छपेली आसपास १ किलोमिटर र बीचबीचमा विभिन्न खण्ड एवं थोरै मकवानपुर खण्डमा काम गर्न कठिन रहेको अधिकारी रजकले बताए ।

वर्षाका कारण पहिरो पहाडी बाटोहरुमा हरेक वर्ष आउने गरेको छ तर त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने सरकारको चुनौती छ । यसको व्यवस्थापन गर्न सके नेपालको बाटो र विकास एकै साथ अघि बढ्ने विज्ञहरुको भनाइ छ ।

हाल यो राजमार्ग हुँर्दै आवतजावत गर्नेहरु ३ घण्टामा हेटौंंडा पुग्ने गरेको रजकको भनाइ छ । यो राजमार्गमा तत्काल भनेको पहिरोले मात्र समस्या ल्याएको रजकले बताए ।

राजमार्गको ६ किलोमिटर सडक निर्माण डिभिजन सडक कार्यालयले गरिहरहेकाले योजनाले ७९ किलोमिटर सडक निर्माण गरिरहेको छ ।

समय लम्बिदा लागत १ अर्ब रुपैयाँले बढ्यो
यो राजमार्ग निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब ८५ करोड र ललितपुरतर्फ करिब १ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो । तर, अहिले योजनाको समय लम्बिएको कारण लागत खर्च १ अर्ब रुपैयाँ बढी लागेको रजकले बताए ।

योजनाको काम १ अर्ब ८५ करोडमा सक्ने भनिएकोमा हालसम्ममा यस योजनाका लागि ३ अर्ब खर्च भइसकेको रजकको भनाइ छ । अझैं ७ प्रतिशत काम बाँकी छ । यसले गर्दा पनि योजनाको लागत अझैं बढ्ने रजकको भनाइ छ ।

विगतमा विभिन्न समस्याका कारण सडक निर्माणले गति लिन सकेको थिएन । गत आवमा विश्वव्यापी कोभिड–१९ संक्रमणको जोखिमका कारण सडक निर्माण हुन नसकेपछि अहिले ६ महिना अवधि थपिएको योजनाले जनाएको छ । यो आवमा भने राम्रो गतिमा निर्माणको काम अघि बढिरहेको रजकले बताए ।

ढिलासम्म मनसुन सक्रिय हुँदा बाढी पहिरो आउने भएकाले पनि कामले गति लिन नसकेको इञ्जिनियर रजकको भनाइ छ ।

गत आवमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिइए पनि साढे ८ किलोमिटर कालोपत्रे भएको र आवश्यक पूर्वाधारसमेत अघि बढाइएको थियो । कालोपत्रेको काम अपेक्षा गरिएअनुसार नभए पनि अरु प्रगति लक्ष्यअनुसार रहेको योजना कार्यलयले बताएको छ ।

५ किलोमिटरमा कालोपत्रे गर्न समय लाग्ने
कुल ८६ किलोमिटरमध्ये १२ किलोमिटर कालोपत्रे गर्न बाँकी रहेकामा भूगोलको समस्याका कारण झण्डै ५ किलोमिटर सडक कालोपत्रे गर्न केही वर्षसम्म लाग्ने प्रवक्ता रजकले बताए ।

त्यसबाहेक ७ किलोमिटर सडक यो आवभित्रै निर्माण हुने रजकको भनाइ छ ।

‘हरेक वर्ष वर्षाको समयमा पहिरो अइरहने भएकाले पहिरोले जबसम्म आफ्नो स्लोप बनाउँदैन तबसम्म कालोपत्रे गर्नु बेकार हुन्छ,’ रजकले भने ।

पछिल्ला केही वर्षयता वर्षेनी वर्षाका समयमा पहिराले गर्दा सडक अवरुद्ध हुने गरेको झण्डै ५ किलोमिटर सडक तत्कालका लागि कालोपत्रे नगरिने योजनाको लक्ष्य रहेको पनि रजकले बताए ।

नयाँ सडक भएकाले त्यहाँ कालोपत्रे गरिए पनि नटिक्ने देखिन्छ । केही वर्षसम्म हेरेर पहिरोको समस्या रोकिने अवस्था र जमिन स्थिर भएपछि मात्रै कालोपत्रे गर्न उपयुक्त हुने रजकको भनाइ छ । सो स्थानमा कालोपत्रे बाँकी राखेर अरु काम चालू आवभित्रै गरेर आवतजावतमा सहज बनाइने योजनाको लक्ष्य रहेको रजकले बताए ।

१ किलोमिटर कालोपत्रे गर्दा १ डेढ करोड रुपैयाँ खर्च हुन जान्छ । राज्यको लगानी खेर फाल्न हुँदैन भनेर रीत पु¥याएर अहिले यो ठाउँ यतिकै छाडिने रजकले बताए ।

हालसम्म सडकको रेखाङ्कनमा रहेका तीन पुलमध्ये सबै निर्माण सम्पन्न भइसकेको रजकले बताए । तर, पुलको चौडाइ कम भएकाले पछि समस्या आउने रजकको भनाइ छ ।

त्यसलाई सडकको चौडाइजतिकै बनाउन खाँचो रहेकोे पनि रजकले बताए । सडकको ट्रयाक दुई लेन भएकाले पुललाई पनि त्यत्तिकै चौडाइमा स्तरोन्नति गर्ने योजना बनाएर काम अघि बढाउनुपर्ने उनले बताए ।

साढे ९ मिटर चौडाइको सडकमा ७ मिटर सडक तथा साढे २ किलोमिटर नालीलगायत संरचना बनाइएको छ । देशभरका अरु राष्ट्रिय राजमार्गमा जस्तै यो राजमार्गमा पनि सडकको अधिकार क्षेत्र (राइट अफ वे) समस्या रहेको उनको भनाइ छ ।

पहिले सहायक सडकका रुपमा रहेकामा सरकारले गत आवमा राष्ट्रिय राजमार्गका रुपमा सूचीकृत गरेको छ । राष्ट्रिय राजमार्गको चौडाइ सडक केन्द्रबाट ३१/३१ मिटर हुनुपर्ने मापदण्ड भए पनि पहाडी क्षेत्रमा त्यो कायम गर्न सजिलो नभएको रजकले क्लिकमाण्डूलाई बताए ।

७ किमि सडक चैत्रभित्रै कालोपत्रे
कुनै समस्याले निर्माणमा अवरोध नआएमा र सबै सहज भए यस वर्षको चैत्रसम्ममा सडकको कालोपत्रे सक्ने लक्ष्य लिइएको रजकले बताए । यो आवमा कालोपत्रे गर्ने भनिएको ७ किलोमिटर सडकमा नाली बनाउने, पर्खाल लगाउनेलगायत आधारभूत काम भइरहेको रजकले जानकारी दिए । अहिले तत्कालका लागि सडकको चौडाइ बढाउनुभन्दा भएकै चौडाइमा कालोपत्रे गरिने रजकले बताए ।

‘नयाँ ठेक्कामा बेसका लागि पर्खालहरु, रेनिङ वालहरु कहाँ–कहाँ चाईन्छ सोही अनुरुप काम गर्ने गरी हुनुपर्छ,’ रजकले भने, ‘यसका लागि ठाउँको अध्ययन गरी प्रतिवेदनसहित विभागलाई फाइल पेश गर्न लागिएको छ ।’


क्लिकमान्डु