राष्ट्र बैंकको निर्देशनपछि यी १४ वटा बैंकले ब्याजदर संशोधन गर्नुपर्ने



काठमाडौं । निक्षेप संकलनको होडमा ब्याजदर युद्धमा लागेका वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकको निर्देशनपछि झट्का लागेको छ । राष्ट्र बैंकले मंगलबार जारी गरेको ३ बुँदे निर्देशनपछि १४ वटा वाणिज्य बैंकले बुधबार नै ब्याजदर संशोधन गर्नुपर्नेछ ।

राष्ट्र बैंकको निर्देशन अनुसार असोज महिनाको तुलनामा कात्तिक महिनामा ब्याजदर परिवर्तन गर्दा १० प्रतिशतको सीमा नाघ्न पाइने छैन् । र, उक्त सीमाभन्दा बढी ब्याजदर परिवर्तन गरेका बैंकहरु अब संशोधन गर्न बाध्य भएका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार १४ वटा वाणिज्य बैंकले १ वर्षे अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा यस्तो सीमाभन्दा बढीमा ब्याजदर परिवर्तन गरेका छन् । जसमध्ये १२ वटा वाणिज्य बैंकले १० प्रतिशतभन्दा बढीले ब्याजदर बढाएका छन् भने २ वटा बैंकले १० प्रतिशतभन्दा बढीले ब्याजदर घटाएका छन् ।

अब वाणिज्य बैंकहरुले बुधबारनै संशोधन सहितको नयाँ ब्याजदर वेवसाइटमा सार्वजनिक गर्नुपर्नेछ भने कात्तिक ५ गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाशित समेत गर्नुपर्नेछ ।

१० प्रतिशतभन्दा बढी ब्याजदर बढाउने बैंक
यसरी असोज महिनाको तुलनामा कात्तिक महिनामा सबैभन्दा धेरै ब्याजदर बढाउने बैंकमा लक्ष्मी बैंक छ । बैंकले ३० प्रतिशत ब्याजदर बढाएको छ । बैंकको असोज महिनामा एक वर्षे मुद्दति निक्षेपको ब्याजदर ८.५ प्रतिशत थियो भने कात्तिक महिनाका लागि ११.०५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

त्यसैगरी सबैभन्दा बढी ब्याजदर वृद्धि गर्ने बैंकको दोस्रो स्थानमा एनआइसी एशिया बैंक छ । बैंकले असोज महिनामा ८.६ प्रतिशत ब्याजदर कायम गरेकोमा कात्तिक महिनामा २९.०६ प्रतिशतले बढाएर ११.१० प्रतिशत कायम गरेको थियो ।

ब्याजदर बढाउनेमा सिभिल बैंक तेस्रो स्थानमा छ । बैंकले असोज महिनामा ९.०५ प्रतिशत ब्याजदर कायम गरेकोमा कात्तिक महिनामा २५.५९ प्रतिशतले बढाएर १०.११ प्रतिशत कायम गरेको छ ।

यता कृषि विकास बैंकले असोज महिनामा ७.२५ प्रतिशत ब्याजदर कायम गरेकोमा त्यसमा २४.१३ प्रतिशतले बढाएर कात्तिक महिनामा ९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

हिमालयन बैंकले भने असोज महिनाको तुलनामा कात्तिक महिनामा २३.५२ प्रतिशतले ब्याजदर बढाएको छ । बैंकको असोज मनिामा ८.५ प्रतिशत ब्याजदर कायम गरेकोमा कात्तिक महिनामा १०.५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

साथै, कुमारी बैंकले पनि २०.३६ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । असोज महिनामा ८.१५ प्रतिशत कायम ब्याजदर कात्तिक महिनामा बढाएर ९.८१ प्रतिशत कायम गरेको छ ।

सिद्धार्थ बैंकले भने असोज महिनामा ८.७५ प्रतिशत ब्याजदर कायम गरेकोमा १७.७१ प्रतिशतले बढाएर १०.३ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

नेपाल बंगलादेश बैंकले भने असोज महिनामा ८.७६ प्रतिशत ब्याजदर कायम गरेकोमा कात्तिक महिनामा १७.३५ प्रतिशतले बढाएर १०.२८ प्रतिशत कायम गरेको छ ।

सिटिजन्स बैंकले १५.७५ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । बैंकले असोज महिनामा ८ प्रतिशत ब्याजदर कायम गरेकोमा कात्तिक महिनामा ९.२६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यता बैंक अफ काठमाडौंले भने १५.७१ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । बैंकको असोज महिनामा ब्याजदर ८.२७ प्रतिशत रहेकोमा कात्तिक महिनामा ९.५७ प्रतिशत कायम गरेको छ ।

माछापुछ्रे बैंकले असोज महिनामा ८.२५ प्रतिशत ब्याजदर कायम गरेकोमा त्यसमा १५.१५ प्रतिशतले बढाएर ९.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

ब्याजदर बढाउने अर्को बैंकमा सेञ्चुरी बैंक पनि छ । बैंकले असोज महिनामा कायम ८.५ प्रतिशत ब्याजदरमा १४.७० प्रतिशत थप गरी कात्तिक महिनामा ९.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

१० प्रतिशतभन्दा बढीले घटाउने बैंकहरु
१० प्रतिशतभन्दा बढीले घटाउनेमा २ वटा बैंक सानिमा र सनराइज बैंक छन् । सानिमा बैंकले असोज महिनामा कायम ९.५१ प्रतिशतको ब्याजदरमा १५.७७ प्रतिशतले घटाएर कात्तिक महिनामा ८.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

साथै, सनराइज बैंकले भने असोज महिनामा १०.०७ प्रतिशत ब्याजदर कायम गरेकोमा कात्तिक महिनामा १०.६२ प्रतिशतले घटाएर ९ प्रतिशत कायम गरेको छ ।

ब्याजदर परिवर्तन नगर्ने बैंकहरु
असोज महिनाको तुलनामा कात्तिक महिनामा ब्याजदरमा परिवर्तन नगर्ने बैंकहरुमा एभरेष्ट, ग्लोबल आइएमई, प्रभु, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक छन् ।


क्लिकमान्डु