‘काष्ठमण्डप’को पुनर्निर्माण सकिन लाग्यो, लागत साढे ११ करोड



काठमाडौं । भूकम्पका कारण ध्वस्त भएको ‘काष्ठमण्डप’को पुनर्निमाण सकिन लागेको छ । पुनर्निर्माण कार्य सकिएपछि भूकम्पबाट क्षतिग्रस्त उपत्यकाका महत्वपूर्ण सम्पदाहरुको पुनर्निर्माण सकिनेछ ।

रानीपोखरी पुनर्निर्माण कार्य एक वर्षअघि नै सकिएको थियो । धरहरा स्तम्भको पनि पुनर्निर्माण कार्य सकेर हाल ‘ब्युटिफिकेसन’ अर्थात् सौन्दर्य बनाउनका लागि पार्किङदेखि गार्डेनसम्म निर्माणको काम भइरहेको छ ।

विश्व सम्पदामा सूचीकृत तीनतले यस सम्पदाको पुनर्निर्माण पुरानै ढाँचामा तयार पारिएको छ ।

वसन्तपुरका स्थानीय रामचन्द्र श्रेष्ठले काष्ठमण्डप वसन्तपुर क्षेत्रको भिन्न सम्पदा रहेको बताए । उनका अनुसार काष्ठमण्डप एउटै सालको रूखले बनेको इतिहास छ ।

‘कुनै समय एउटै रूखको काठबाट बनेको भए तापनि हाल एउटै रूखको काठले नपुग्ने भएपछि एउटै जातको रुखको काठ प्रयोग गरेर पुनर्निर्माण गरिएको छ,’ श्रेष्ठले भने ।

साताैं शताब्दीको सत्तल, जुन २०७२ वैशाख १२ मा आएको महाभूकम्पले भत्काएको थियो । गत वर्ष वैशाख ३१ गतेबाट पुनर्निर्माण थालिएको काष्ठमाण्डपले विस्तारै पुरानै आकार लिँदैछ ।

यस क्षेत्रको पुनर्निर्माणको काम विज्ञ सम्मिलित स्थानीय उपभोक्ता समितिमार्फत् भइरहेको हो ।

तीन वर्षको समयावधि पाएको यस समितिले पहिले चारवटा मुल थाम उठाउने काम सम्पन्न गरेको छ । अब क्रमशः दोस्रो, तेस्रो र चौथो घेरामा उसैगरी थाम उठाउने काम गर्ने पनि शाक्यले बताए ।

‘सिकर्मीहरुले हाल दोस्रो, तेस्रो र चौथो घेराको थाम र मेथको काम पनि सकाउन थालेका छन्,’ शाक्यले भने, ‘काठमाडौंकै माटो, काभ्रेको ढुंगा र बर्दिबास, सिन्धुपाल्चोक, पर्सालगायत ठाउँको काठ प्रयोग भइरहेको छ ।’

यस सम्पदाको काम सकिएको जस्तै छ । पुनर्निर्माणको अन्तिम चरणमा पुगेको यस ऐतिहासिक तथा संस्कृतिक सम्पदामा जम्मा १०० वटा ४ घेराका थामहरु राखिएका छन् । चार वटा मुल थामहरु पहिलो घेरा हुन । चार वटा मुल थाममध्ये एउटा थाम सय वर्ष पुरानै राखिएको पनि शाक्यले बताए ।

‘छानाको काम अलिकति बाँकी छ । त्यो पनि तीव्रगतिमा भइरहेको छ,’ शाक्यले भने ।

लागत हालसम्म महानगरपालिकाले साँढे एघार करोड दिएको हो त्यसमा पनि अलिकति अझैँ बाँकि रहेको शाक्यले बताए ।

शाक्यका अनुसार हालसम्म गरेको कामको प्रगति हेर्दा ग्राउण्ड फ्लोरमा टेलि इट्टा छाप्ने, बाहिरपट्टी चारै तिर्फको सिँडी बनाउने, काष्ठमाण्डप चढ्ने पेटी बनाउनेलगायतका काम मात्र बाँकी छन् ।

यो भनेको फिनिसिङ लेबलको काम हो, यसलाई धेरै समय पनि नलाग्ने शाक्यको भनाइ छ । धरहराको मूल संरचना भने ६ महिना अघिनै सम्पन्न भइसकेको थियो । तर, धरहराको पनि फिनिसिङको कामले गर्दा नै समय लागि रहेको छ । काष्ठमण्डपमा पित्तलको गजुरसमेत ल्याइसकिएको छ ।

‘काष्ठमण्डपको छानोमा झिँगटी प्रयोग गरिन्छ । अब झिँगटी र गजुर राख्न बाँकी छ,’ शाक्यले भने ।

अनुमानित लागतभन्दा साढे ६ करोड कम
काष्ठमाण्डप पुनर्निर्माण गर्न अनुमानित १८ करोड लाग्ने अनुमान गरिएको थियो । सोही अनुरुप यसको काम अघि बढेको थियो ।
काष्ठमण्डपको पुनर्निर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्न लागेको पनि शाक्यले बताए ।

साढे ११ करोड रुपैयाँमा नै यसको निर्माण कार्य सकिने पनि शाक्यले बताएका छन् । हाल यस पुनर्निर्माणमा ३५ जना कामदारले काम गरिरहेका छन् ।

काठमाडौं महानगरको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिबाट ०७५ कात्तिकदेखि काष्ठमण्डप पुनर्निर्माणको कार्यले गति लिएकोे थियो । पुनर्निर्माणमा हालसम्म ११ करोड ५० लाख रकम खर्च भएको छ ।

समितिका संयोजक राजेश शाक्यले हालसम्म ११ हजारभन्दा बढी क्युफिट काठ प्रयोग भएको पनि बताए । इन्द्रजात्राको बेला काष्ठमण्डप क्षेत्रमा पूजा गरिने भएकाले त्यतिवेलासम्म पुनर्निर्माण कार्य सक्ने लक्ष्य राखिएको शाक्यले जानकारी दिए ।

हालसम्मको समग्र पुनर्निर्माण प्रगति हेर्दा ९८ प्रतिशत काम सकिएको छ । बाँकी रहेको पुनर्निर्माण काम पनि तोकेको समयावधि भन्दा अघिनै सकिने शाक्यले बताए ।


क्लिकमान्डु