नोटमा केरमेट र रंग नदल्नुहोस्, ३ महिना जेल परिएला !



काठमाडौं । दशैं सुरु भइसकेको छ । दशैंलाई लक्षित गरी राष्ट्र बैंकले बजारमा ३० अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याइसकेको छ ।

दशैंतिहार जस्ता चाडबाडमा पुजाआजामा नोटको प्रयोग गरिने हुँदा रङ लत्पत्याउने, मन्दिरमा दूध वा पानीसँगै नोट चढाउने गर्दा पनि नोट फोहोर हुने गर्छ । यसरी नोट फोहोर वा झुत्रो हुँदा देशलाई मोटो रकम नोक्सान हुन्छ ।

खासगरी दशैंतिहार र छठ जस्ता चाडका बेला नेपालमा धेरै नयाँ नोट चलनचल्तीमा आउँछन् । यसरी चाडबाडमा चलनचल्तीमा आएका नोट फोहोर वा झुत्रो भएर फर्किने समस्या छ ।

हिन्दु धर्ममा पुजाआजा गर्दा पैसा अत्यावश्यक चिज हो । हरेक पुजामा पैसा आवश्यक हुन्छ । त्यसैले पुजा गर्दा नोट फोहोर हुने, पानीले भिज्दा च्यातिने अवस्था आउने भएकाले राष्ट्र बैंकले नोटको सुरक्षा गर्नका लागि सर्वसाधारणलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालकाअनुसार नोटको सुरक्षा नहुँदा राष्ट्रलाई ठूलो घाटा पर्छ । पुराना भएका नोट राष्ट्र बैंकले जम्मा गरी काम नलाग्ने नोटलाई नष्ट गर्ने र त्यसको साटोमा नयाँ नोट छपाइ गर्नुपर्ने हुन्छ ।

त्यसैले, राष्ट्रलाई ठूलो आर्थिक नोक्सानी हुनबाट जोगाउनका लागि समेत नोटको सुरक्षा गर्नु आम नागरिकको कर्तव्य पनि हो । पुजाआजामा प्रयोग हुने नोटको सुरक्षामा ध्यान नदिँदा नोटको आयु कम हुन्छ । यसो हुँदा आयुभन्दा अगावै नष्ट गर्नुपर्ने बाध्यता राष्ट्र बैंकलाई छ ।

प्रत्येक वर्ष राष्ट्र बैंकले दशैंका लागि नै भनेर अर्बौको नयाँ नोट निष्कासन गर्ने गर्दै आएको छ । यो वर्ष पनि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको ५, १०, ५०, १००, ५०० र १००० दरका नयाँ नोट निष्कासन गरेको नेपाल राष्ट्र बैंकका ढकालले दिए ।

दशैंका लागि नै भनेर निष्कासन गरिएका यी नयाँ नोटको राष्ट्र बैंकले आफू र सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत् सटही पनि गरिरहेको छ । एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म सटही गरिरहेको हो ।

नेपाली नोटको गुणस्तर र आयु अन्य देशहरुको नोटको तुलनामा कम छ । राष्ट्र बैंकले हालसम्म चलनचल्तीमा ल्याएका ५ देखि १०० दरसम्मका नोटको २ वर्ष र ५०० र १००० दरका नोटको ३ वर्षभन्दा बढी आयु हुने राष्ट्र बैंकले जानकारी दिएको छ । नोटको सुरक्षणमा ध्यान दिएर नोटको प्रयोग गर्दा यसको आयु लम्बिने प्रवक्ता ढकालको भनाइ छ ।

नोटको आयू बढाउनका लागि राष्ट्र बैंकले नयाँ नोटको गुणस्तर बढाएको छ । गुणस्तर बढाइएका नोटलाई हिफाजत ढंगले चलाएमा त्यसको आयु ५ वर्षभन्दा बढी हुने ढकालले बताए ।

नोटको गुणस्तर बढाउँदा खर्च बढ्छ । गत वर्षसम्म १ सयदरका नयाँ नोट छपाउँदा २ रुपैयाँ १५ पैसा खर्च हुन्थ्यो भने गुणस्तर बढाउँदा खर्च बढेर २ रुपैयाँ ९९ पैसा पुगेको छ ।

‘हामीले नोटलाई होसियारीपूर्वक चलायौ भने यसको आयु ५ वर्षसम्म हुन्छ,’ उनले भने, ‘नोटको आयु लम्बिँदा वार्षिक अर्बौ रुपैयाँ नोट छपाइका लागि विदेशिनबाट रोकिन्छ ।’

हाल धेरै चलनचलतीमा आउने नोटहरुमा ५, १०, ५०, १००, ५०० र १००० दरका नोटहरु हुन् । ५ देखि १०० दरका नोटहरु छपाउँदा २ रुपैयाँ ९९ पैसासम्म र ५ सयदेखि १ हजार दरको नोट छपाउँदा ३ रुपैयाँभन्दा बढी खर्च हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

नोटको सुरक्षा गर्न राष्ट्र बैंकले बैंक तथा वित्त संस्थाहरु र सर्वसाधारणलाई सूचना जारी गर्दै आएको छ । नोट फोहोर बनाउने, केरमेट गर्ने, रंग लगाउने र स्टिच लगाउनेलाई ३ महिना जेल र ५ हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था भएको प्रवक्ता ढकालले बताए ।

हाल नेपाल राष्ट्र बैंकले ५ खर्ब रुपैयाँ बढी बराबरका नोट चलनचल्तीमा पठाएको छ । राष्ट्र बैंकले चीन, जर्मनी, स्वीडेन, बेलायत, नेदरल्याण्ड, क्यानडा, फ्रान्स, रसिया, इन्डोनेसियालगायतका मुलुकमा नोट छपाइ गर्दै आएको छ ।

छपाइवापत मात्रै प्रत्येक वर्ष ४ अर्ब रुपैयाँ बढी लागत लाग्ने राष्ट्र बैंकको भनाइ छ ।

अर्बौ खर्च गरेर बनाइएका नोटहरु प्रयोग गर्दा त्यसको सुरक्षणमा ध्यान नदिँदा राष्ट्र बैंकले दैनिक विभिन्न दरका नोटहरु बिग्रिएर दैनिक ३०० बन्डलभन्दा बढी नोट जलाउँदै आएको छ ।

यो वर्षमात्रै राष्ट्र बैंकले झन्डै ८० रुपैयाँ बराबरको झुत्रा नोट जलाइसकेको छ । राष्ट्र बैंकले जम्मा पारेका त्यस्ता नोटहरु पुनः बजारमा पठाउन मिल्ने र नमिल्ने गरी छुट्याउँछ ।

पुनः बजारमा पठाउन मिल्ने नोटमा सेतो स्टिकर टाँसिन्छ भने पठाउन नमिल्ने नोटलाई प्वाल पारी नष्ट गरिन्छ ।

सरकार तथा नियमक निकायले नीति नियम बनाए पनि प्रभावकारी रुपमा कार्यान्यवन नगर्दा नोटको हिफाजत नभएको सरोकारवालाहरुको भनाइ छ ।

विशेष गरी नोटमा रंग लगाउने, चिसो हातले छुने, तोडमोड बढी हुने, पानीमा भिज्ने, केरमेट हुने र बच्चाहरुलाई नोट जथाभावी खेलाउन दिँदा नोटहरु ब्रिगने गर्दछन् ।

राष्ट्र बैंकले कागजी नोट छिटो बिग्रने र त्यसवापत राज्यलाई ठूलो भार पर्ने भएकाले त्यसलाई कम गर्नका लागि धातुको मुद्राको प्रयोग बढाउने योजनामा छ ।

नोटको सुरक्षा तथा आयु बढाउनका लागि कागजी नोटको साटो धातु मुद्राको प्रयोग बढाउने राष्ट्र बैंकको योजना छ । धार्मिक कार्यमा नोटको प्रयोग बढी हुने र नोट नबिग्रियोस् भन्नका लागि धार्मिक पञ्चांग निर्णायक समितिसँग छलफल भइरहेको छ ।

हिन्दु धर्ममा पहिले पुजा पाठमा धातु मुद्राहरुको नै प्रयोग हुने गरेको र आगामी दिनमा पनि धातुको मुद्रालाई प्राथमिकता दिँदा यो क्षेत्रबाट नोटमा हुने क्षति कम हुने राष्ट्र बैंकको विश्वास छ ।

चाडपर्वमा नोटलाई लक्ष्मी अर्थात सम्पत्ति मानेर फूल अक्षता, रंग, अबीर आदिले पूजा गर्ने हिन्दूहरुको चलन रहेको छ । नोटमा पानी पर्दा रंग अक्षता, अबीर, केशरीआदिले नोट बिग्रन्छ ।

नेपालको प्रतिष्ठासँग नेपाली नोट जोडिएको र नोट सफा हुँदा सभ्य समाजको प्रतिकको रुपमा पनि विदेशीहरु माझ चिनिन्छ । राष्ट्रको चिनारी र गहनाको रुपमा रहेको नोटको सुरक्षणमा नीति निर्माण गर्ने निकायहरु नै संवेदनशिल नभएको धार्मिक पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले बताएका छन् ।

‘विदेशमा नोट फोहोर गर्ने वा बिगार्नेको अनुगमन नै गरेर कडा कारवाही गर्ने गरिन्छ, तर नेपालमा त्यो छैन्,’ उनले भने ‘ नोट राष्ट्रको पहिचान हो भने नोटको सुरक्षणमा राष्ट्र बैंक संवेदनशिल हुनैपर्छ ।


क्लिकमान्डु