राष्ट्र बैंकले हस्तक्षेप नगरे कात्तिकदेखि ब्याजदर बढ्ने



काठमाडौं । राष्ट्र बैंकले हस्तक्षेप नगरेमा बैंकहरुले कात्तिकदेखि ब्याजदर बढाउने तयारी गरेका छन् । बैंकिङ प्रणालीमा तरलता अभाव भएसँगै निक्षेप आकर्षण गर्नको लागि बैंकहरुले निक्षेपमा ब्याजदर बढाउने तयारी गरेका हुन् ।

साउनदेखि नै भएको उच्च आयातको कारण बैंकिङ प्रणालीमा लगानी योग्य रकम तरलताको अभाव छ । भदौ मसान्तसम्म ३ खर्ब १८ अर्ब रुपैयाँको आयात भएको थियो । तीन महिनामा करिब ४ खर्बको आयात भएको अनुमान गर्न सकिन्छ । उच्च आयात तथा गतवर्षको तुलनामा रेमिटेन्समा बृद्धि नभएको कारण बैंकिङ प्रणालीमा तरलता अभाव रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्म वाणिज्य बैंकहरुमा ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कर्जा ३९ खर्ब ६१ अर्ब रहेको छ । असोज लागेसँगै बैंकहरुमा निक्षेप बृद्धि भएपनि कर्जाको मागपनि उस्तै रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे स्रोत अभाव भएपछि ब्याजदर बढाउनु बाध्यता रहेको बताउँछन् ।
‘उच्च आयात भएको छ,रेमिटेन्स सो अनुसार नआएको हुँदा ब्याजदर बढाउनु बाध्यता हो,’पाण्डेले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकका अनुसार भदौ मसान्तमा े बैंकहरुको अहिले औसत निक्षेपको ब्याजदर ४.७६ प्रतिशत हो भने कर्जाको ८.४८ प्रतिशत रहेको छ । असार मसान्तमा निक्षेपको ४.६५ प्रतिशत निक्षेपको औसत ब्याजदर थियो भने कर्जाको ८.४३ प्रतिशत थियो । औसतमा नै हेर्दा निक्षेपको ब्याजदर ०.११ प्रतिशत बिन्दुले र कर्जाको ०.०५ प्रतिशत बिन्दुले बढेको छ ।

प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर प्रणालीमा पैसा अभाव भएको हुँदा कात्तिकदेखि ब्याजदर बढ्ने बताउँछन् ।

‘पैसा अभाव भएपछि ब्याजदर बढाउनु बाध्यता हो, केही समय तरलता अभाव हुने देखिन्छ,ब्याजदर केही न केही बढ्छ’मानन्धरले क्लिकमाण्डूसँग भने ।
तरलता अभावलाई हेरिरहेका बैंकरहरु यो पटक बैंकिङ प्रणालीमा बढी समस्या पार्न सक्ने बताउँछन् । खासगरी उच्च आयातले विदेशी विनिमय सञ्चिती घटेको कारण सरकारले कुन वस्तु आयात गर्ने र कुन वस्तु नगर्ने भन्नेमा आफै पहिचान गर्नुपर्ने धारणा बैंकरहरुको छ । दुई महिनामा आयात भएका वस्तुहरु हेर्दा नै नेपालमा कति उपभोग भएको छ कति भएको छैन हेनुपर्ने बैंकरहरु बताँछन् ।

‘राष्ट्र बैंकले हस्तक्षेप नगर्ने हो भने मंसिरदेखि नै मुद्दती निक्षेपमा १२ देखि १३ प्रतिशतसम्म बैंकहरुले ब्याजदर अफर गर्ने सम्भावना छ,यो पटक तरलता अभाव चैतसम्म नै जाने देखिन्छ,’एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । सरकारको विकास खर्च नहुने तथा आयात बढ्ने रेमिटेन्स बृद्धि कम हुने हो भने तरलता अभाव भइरहने हुन्छ ।

बजार अर्थशास्त्र अनुसार माग र आपूर्तिको आधारमा निक्षेप र कर्जाको ब्याजदर निर्धारण हुन्छ । तर,राष्ट्र बैंकले निश्चित प्रतिशतभन्दा बढी भने निक्षेपको ब्याजदर माथि लैजाने विगतमा दिएको थिएन । बैंकहरुलाई निक्षेपको ब्याजदरमा भद्र सहमति गर्न राष्ट्र बैंकले अनुरोध नै गर्ने गरेको थियो । यो पटकपनि तरलता अभाव बढ्दै गएमा मंसिरदेखि निक्षेपको ब्याजदरमा भद्र सहमति हुने देखिन्छ ।

राष्ट्र बैंकले असोजको पहिलो साता नै नियम विपरित निक्षेपको ब्याजदर बढाउने बैंकका सीइओलाई बोलाएर सञ्चाउन निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनपछि नियम विपरित ब्याजदर बढाउने सूचना जारी गरेका बैंकहरुले पछि सञ्चाएका थिए ।


क्लिकमान्डु