एक सातामा ३८ अर्ब निक्षेप बढ्दा पनि बैंकिङ प्रणालीमा पैसाको हाहाकार



काठमाडौं । एकसातामा ३८ अर्ब रुपैयाँले निक्षेप बढेपनि बैंकिङ प्रणालीमा तरलता अभाव कायमै देखिएको छ ।

निक्षेपको तुलनामा कर्जाको माग बढी तथा उच्च आयातले भएको शोधानान्तर घाटाका कारण अहिले बैैंक तथा वित्तीय संस्थामा पैसाको अभाव कायमै रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुमा असोज १५ गतेसम्म ४२ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा ३९ खर्ब ४२ अर्ब रहेको छ ।

असोज ८ गतेसम्म बैंकहरुमा ४१ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने कर्जा ३९ खर्ब ३ अर्ब थियो । वाणिज्य बैंकहरुले एकसातमा ३८ अर्बले निक्षेप बढाएर ३९ अर्ब नै कर्जा बढाएका छन् ।

एकसाता बजेट पारित नभएको कारण सरकारले खर्च गर्न सकेको थिएन । दशैंको लागि सरकारी कर्मचारीले पाउने तलब र दशैं भत्ता तथा पेन्सन होल्डर तथा सामाजिक सुरक्षा भत्ता निकासा भएको छ । यसले बैंकिङ प्रणालीमा तरलता केही बढाएपनि उच्च मागको कारण अभाव भने कायमै रहेको छ ।

पछिल्लो केही दिनमा बैंकहरुमा निक्षेप बढेपनि कर्जाको उच्च मागको कारण तरतला सहज नभएको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन् ।

‘सरकारी खर्च बढेको छ, रेमिट्यान्सपनि साउन र भदौको तुलनामा बढी छ, रेमिट्यान्स भने अघिल्ला वर्षमा जस्तो आएको छैन, निक्षेपको तुलनामा कर्जाको माग नै अत्यधिक बढी छ,’माछापुच्छ्रे बैंकका सीइओ कोइरालाले क्लिकमाण्डूसँग भने ।

बैंकहरुसँग अब बल्ल असार मसान्तमा भएजति निक्षेप पुगेको छ । उच्च आयातको कारण ७८ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । उच्च आयात तथा रेमिट्यान्स नबढेको कारण साउन महिनामा शोधानान्तर घाटामा रहेको छ । भदौ महिनामा पनि आयात नघटेको हुँदा शोधाान्तर घाटा ५० अर्बभन्दा बढी हुने देखिन्छ ।

राष्ट्र बैंकले उच्च आयातको कारण शोधानान्तर घटेको तथा रेमिट्यान्स नआएको भन्दै विदेशी मुद्रा सटहीमा कडाइ गरेको छ । यस्तै मरिच, छोकडालगायतको वस्तुको आयातमा एलसी नखोल्ने निर्णय गरेको छ ।

दशैं केन्द्रित रेमिट्यान्स एकसातामा बढ्ने अनुमान बैंकरहरुको छ । आगामी सोमबारसम्म रेमिट्यान्स बढ्ने अनुमान छ ।


क्लिकमान्डु