सुन वितरणमा संघको मनोमानी, राष्ट्र बैंकले माग्यो विवरण



काठमाडौं । राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायी महासंघसँग सुनको विवरण माग गरेको छ । राष्ट्र बैंकले करिब २ हप्ता अगाडि व्यवसायीसँग लिखित रुपमा कसरी सुन वितरण भइरहेको छ भनेर विवरण माग गरेको हो ।

सुनको आयात बढी भएकाले शोधान्तर घाटा चुलिएको छ । दुई महिनाको अवधिमा सरकारले व्यवसायीलाई १४ सय केजी सुन वितरण गरिसकेको छ । हालसम्म सुनचाँदीको सिजन नभएको अवस्थामा उच्च रुपमा सुनको खपत बढेको छ ।

दैनिक २० केजी सुन वितरण हुँदा पनि बजारमा सुनको अभाव भएको व्यवसायीहरूले बताउँदै आएका छन् । त्यसैले, बैंकले बजारमा व्यवसायीहरूलाई सुन कसरी वितरण गरेको छ त्यसको विवरण उपलब्ध गराउन पत्र पठाएको महासंघका महासचिव धर्म बज्रचार्य बताउँछन् ।

‘बैंकले लिखित रुपमा विवरण माग गरेको छ,’ उनले भने, ‘महासंघले देशभरका व्यवसायीसँग विवरण माग गरेर उपलब्ध गराउँछौं ।’

उनकाअनुसार बैंकले व्यवसायीलाई कति आवश्यक र कसरी वितरण गरिरहेको छ । हाल उक्त प्रदान गरेको सुनको कोटाले पुग्छ वा पुग्दैन भन्ने थाहा पाउनको लागि सो विवरण माग गरेको हो ।

व्यवसायीहरु भने संघका पदाधिकारीले आफू निकट व्यवसायीलाई मात्र सुन दिएको आरोप लगाउँछन् ।

महासंघमा देशभरका ७ हजार बढी व्यवसायी प्रत्यक्ष रुपमा आबद्ध छन् । उक्त आबद्धबाहेक अन्य विना दर्ताका साथ सञ्चालनमा ३ हजार बढी व्यवसायी छन् । सो व्यवसायीहरूलाई २० केजी सुन दैनिक रुपमा सरकारले वितरण गर्दै आएको छ । २० केजी सुनमा १० केजी बाग्मती प्रदेश र १० केजी अन्य देशका विभिन्न जिल्लामा बाँडफाँड हुने गर्दछ ।

‘महासंघले सुन कसरी बाँडफाँड गर्ने विषयमा कार्याविधि तय गरेको छ । उक्त कार्यविधिकोृ आधारमा सदस्यताको हिसाबले सुनचाँदी बाँडफाँड हुने गर्दछ,’ उनले भने । महासंघले कसरी बाँडफाँड भयो कहाँ सुनको अभाव भयो भन्नेबारेमा विवरण तयारी गरिरहेको उनको भनाई छ ।

साथै, देशभरका ६६ वटा जिल्लाबाट वितरण र विवरण माग गरेको छ । विवरण उपलब्ध भएमा आगामी एक हप्तापछि लिखित रुपमा जवाफ दिने तयारीमा रहेको महासंघले जनाएको छ ।


क्लिकमान्डु