गोदावरीमा सञ्चालनमा आयो ‘टू वे जिप लाइन’, शुल्क १ हजार रुपैयाँ



काठमाडौं । ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामूदायिक वनमा ‘टु वे जिपलाइन’ सञ्चालनमा आएको छ । सामूदायिक वनमा असोज १ गतदेखि जिपलाइन वाइल्ड वन्डर नेपाल प्रालिले औपचारिक रुपमा गोदावारी जिपलाइन सञ्चालनमा ल्याएको हो ।

ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दूरीमा रहेको गोदावारी नगरपालिको विशंखुनारायण मन्दिर अवस्थित उक्त सामूदायिक वनमा पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले जिपलाइन ५० लाख रुपैयाँ लगानी गरी शुरु गरेका हुन् ।

साहसिक खेल जिपलाइन सञ्चालनमा आएपछि विषेश गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्ने व्यवसायी श्रेष्ठको विश्वास छ । उनले उक्त जिपलाइन उपत्यकामा व्यस्त जीवन व्यतित गर्नेहरुलाई प्राकृतिक स्वच्छताको अवलोकन गराउँदै पर्यावरण र प्रकृतिको संरक्षण गर्ने लक्ष्यका साथ शुरु गरेको बताए ।

‘अन्य जिपलाइनभन्दा सस्तो र प्राकृतिक संरचनाको जर्गेना सहित शुरु गरिएको हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘यस्तो पर्यावरण पर्यटक लक्षित जिपलाइन विदेशमा खेलाएको देखेपछि नेपालमा पनि शुरु गर्ने चाहनाले चितवनबाट शुरु गरेँ ।’

नेपाल सरकारले प्रकाशित गरेको सामूदायिक वनमा पर्यापर्यटन कार्यविधि–२०७५ का आधारमा नियम कानून अन्तर्गत रहेर सामूदायिक वनले आशयपत्र आह्ववान गरेपछि बोलकबोलमार्फत् ठाउँ लिइएको श्रेष्ठले बताए । उनले नेपालका अन्य विभिन्न जिल्लाका सामूदायिक वनमा समेत शुरु गर्ने योजना उनले बनाएका छन् ।

विषेशगरी उनले गोदावारीको जिपलाइन भने पर्यापर्यटनलाई लक्षित गरी शुरु गरको हुन् ।

‘पर्यापर्यटन जिपलाइन सामूदायिक वनमा मात्र गर्न मिल्छ, सोही अनुसार सामूदायिक वन समितिसँग सम्झौता गरी वार्षिक ४ लाख रुपैयाँमा लिजमा लिएको हो’ उनले थपे, ‘यसबाहेक पनि अन्य २ ठाँउमा यस्तो जिपलाइन सञ्चालन गरेको छु तर सबै स्थानमा स्थानीयलाई रोजगारीको अवसरमा प्राथमिकता दिएको छु ।’

उनले कर्मचारीलाई आफैले तालिम दिएर २० जनालाई रोजगारी दिएका हुन् ।

गोदावारीको टु वे जिपलाइन एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटर रहेको सो जिपलाइन काठमाडौं, ललितपुर र भक्तपुरका आन्तरिक पर्यटकलाई लक्षित गरी शुरु गरिएको उनको भनाइ छ ।

टु वे जिपलाइनको शुल्क १ हजार रुपैयाँ निर्धारण गरिएको छ भने बच्चाहरुको लागि ३ सय रुपैयाँ तोकिएको छ । १२ जनाको समूहमा आउनेलाई भने २ जनाको लागि छुटको व्यवस्था गरिएको छ ।

जिपलाइन गर्ने खेलाडीको ७ लाख रुपैयाँसम्मको यात्रु बीमा र कर्मचारीको १० लाख रुपैयाँसम्मको बीमा गरिएको उनले जानकारी दिए । उपत्यका बासिन्दा लक्षित यसअघि नै अन्य स्थानमा पनि जिपलाइन सञ्चालनमा आएका छन् । उनले सबै जिपलाइनहरु जिपलाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरी सञ्चालनमा ल्याइएको दाबी गरेका छन् ।

उनले जिपलाइन व्यवसाय नेपालमा कोरोना संक्रमण शुरु हुनभन्दा अघि गरेका हुन् । उक्त समयमा व्यवसायबाट मासिक ३ लाख रुपैयाँ आम्दानी गरिरहेका थिए । तर, कोरोना संक्रमण शुरु भएपश्चात भने हालसम्म नोक्सानी मै रहेको उनको भनाइ छ ।

श्रेष्ठको जिपलाइन व्यवसाय
श्रेष्ठले यसअघि नै चितवनमा २०७५ असोजदेखि नै जिपलाइन सञ्चालन शुरु गरेका थिए । त्यसपछि उनले बुटबलमा र गोदावारीमा सञ्चालन गरेका हुन् । यसपछि उनले भक्तपुरको साँगा सञ्चालनमा ल्याउन तयारी गरेका छन् । चितवनमा उनले ६२ लाख रुपैयाँ लगानी गरी ४ वेको जिपलाइन सञ्चालन गरेका छन् । जसको शुल्क ७ सय रुपैयाँ रहको छ ।

यस्तै श्रेष्ठले बुटवलको हिल पार्कमा ६० लाख रुपैयाँ लगानीमा जिपलाइन सञ्चालन गरेका छन् । सो टु वे जिपलाइन साढे ६ सय र साढे ७ सय मिटरका छन् । जसको शुल्क उनले हजार रुपैयाँमात्र शुल्क निर्धारण गरेका छन् ।

साथै, उनले भक्तपुरको साँगामा ४० लाख रुपैयाँ लगानी गरी जिपलाइन सञ्चालन गर्ने तयारी गरेका छन् । निकट भविष्यमै दमौलीमा समेत सामूदायीक वनमा जिपलाइन सञ्चालन गर्ने उनको योजना छ ।


क्लिकमान्डु