डाबरको आइपीओ ल्याउने रुक्म शमशेरको सपना अधुरै
काठमाडौं । जुद्ध शमशेर राणाले ‘बी’ र ‘सी’ क्लासका राणा परिवारलाई काठमाडौं उपत्यकाबाट बाहिर लखेट्ने नीति लिएपछि हिरण्य शमशेर राणा आफ्ना छोरासहित कलकत्ता पलायन भए ।
डा. यज्ञनाथ आचार्यद्वारा लिखित पुस्तक ‘सुवर्ण शमशेर राणा र अप्रकाशित दस्तावेज’ अनुसार सुवर्णको परिवार नेपालबाट कलकत्ता जाने बेला त्यहाँ भएका अंग्रेजहरु भारतमा रहेको आफ्नो सम्पत्ति बेचेर बेलायत जाने क्रममा थिए ।
अंग्रेजहरुले भारतमाथिको शासन छाड्ने क्रममा आफूसँग भएको सम्पत्ति सस्तो मूल्यमा बेचेर बेलायत फर्किँदै थिए ।
नेपाल छाड्दा आफूले लिएर गएको सम्पत्तिले सुवर्णले अंग्रेजका घरजग्गालगायतका सम्पत्ति निकै सस्तोमा किनेका थिए । त्यही सम्पत्तिले २००७ सालको क्रान्तिका लागि हतियार जुटाउने र उनको मृत्यु नहुँदासम्म निर्वासनमा रहेका कांग्रेस र नेता र कार्यकतालाई आर्थिक मद्दत गर्न ठूलो सहयोग पुग्यो ।
२००६ सालमा बिपी कोइरालाले क्रान्तिका लागि पैसा जुटाउने सोचमा थिए । कांग्रेसले सशस्त्र युद्ध गरेर राणा शासनलाई हटाउन चाहन्थे तर त्यसका लागि सबैभन्दा ठूलो अभाव पैसाको थियो ।
जगत नेपालद्वारा लिखित ‘पहिलो संसद् बीपी महेन्द्र टकराव’ पुस्तक अनुसार एकदिन सशस्त्र क्रान्तिकै प्रसंगमा कुरा गर्न विपी कोइराला र गणेशमान भएको स्थानमा उनी पुगेका थिए ।
कुराकानीकै क्रममा सुवर्णले ‘क्रान्तिका निम्ति हतियार किन्न कति रकम चाहिन्छ ?’ भन्ने प्रश्न राख्दा वीपीले ‘त्यही २५/३० लाख जति भए पुग्छ’ भनेका थिए । जवाफमा सुवर्णले ‘त्यतिले कहाँ क्रान्ति हुन्छ ? म १ करोड रुपैयाँ दिन्छु’ भन्ने जवाफ दिएका थिए । तत्कालीन समयमा उक्त रकमलाई सुनको मूल्यका आधारमा तुलना गर्दा यो रकम आजका दिनमा १५ अर्ब रुपैयाँभन्दा बढी हुन्छ ।
यी त भए राजनीतिका कुरा । सुवर्ण शमशेरको कलकत्ता निर्वासनले नै नेपालमा अहिले सफल मानिएको डाबर नेपाल भित्राउनका लागि मद्दत गरेको थियो ।
सुवर्णको परिवार कलकत्तामा बस्दा आयुर्वेदका डाक्टर एसके बर्मनसँग धेरैनै नजिक थियो । सन् १८८० को दशकमा एसके बर्मनले आयुर्वेदका विभिन्न औषधिको विकास गरेका थिए । भारतमा पनि लाइसेन्स राजका कारण डाबर उद्योग स्थापना गर्न करिब एक सय वर्ष लागेको थियो । सन् १९८४ मा डा एसके बर्मनका छोरा सिएल बर्मनले डाबर ब्राण्डमा आयुर्वेद क्षेत्रमा ठूलो उद्योग स्थापना गरेका थिए ।जुन अहिले ठूलो बहुराष्ट्रिय कम्पनी बन्न सफल भएको छ ।
२०१७ सालमा महेन्द्रले बिपी कोइराला नेतृत्वको सरकारलाई सैनिक कु गरेर शासन सत्ता आफ्नो नियन्त्रणमा लिएपछि सुर्वण शमशेर बसाई कलकत्तामा थियो ।
राजनीतिक माहोलमा हुर्केका कांग्रेस संस्थापक सुवर्ण शमशेरका कान्छा छोरा रुक्म शमशेरले कलकत्ता बसाइका क्रममा भएको सम्बन्धको आधारमा डाबर इन्डियालाई नेपालमा भित्राउन सफल भएका थिए ।
सन् १९८४ मा भारतमा उद्योग खोलेको ५ वर्षमा डाबर नेपालमा लगानी गर्न आएको थियो । नेपालमा सफल बहुराष्ट्रिय कम्पनी भित्राउने रुक्म शमशेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ ।
कलकत्ता बसाइको क्रममा भएको सम्बन्ध र नेपालमा प्रजातन्त्र स्थापना भएपछि डाबर नेपालमा आएको रुक्म शमशेर राणाका छोरी ज्वाईँ अनिल शाह बताउँछन् ।
‘प्रजातन्त्र ल्याउनका लागि कलकत्तामा निर्वासन बस्दा भएको सम्बन्धको कारण डाबर नेपालमा भित्रिएको हो, डाबरले भारतमा व्यवसायिक उत्पादन शुरु गर्ने र नेपालमा प्रजातन्त्र पुनःस्थापना भएपछि नेपालमा उद्योग खुलेको हो,’ शाहले आफ्ना ससुरा रुक्म शमशेर राणाले डाबरलाई भित्राएको स्मरण सुनाउदै क्लिकमाण्डूसँग भने ।
सन् १९८९ मा नेपालमा भित्रिएको डाबरले सन् १९९२ देखि व्यवसायिक उत्पादन शुरु गरेको हो ।
शुरुवाती वर्षमा ५३ लाख रुपैयाँको वार्षिक कारोबार गर्ने डाबर नेपालले अहिले वर्षमा १० अर्ब रुपैयाँको कारोबार गर्छ । नेपालबाट भारतमा सबैभन्दा बढी निर्यात गरेको भन्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले महत्वपूर्ण व्यवसायिक सम्मान(सीआईपी) ३ पटक पाएको छ ।
पब्लिक बनाउने सपना अधुरो
डाबर नेपाल प्रालिले सन् २००२ मा डाबर नेपालको सेयर पब्लिकलाई जारी गर्ने योजना बनाएको थियो । धितोपत्र बोर्डमा सन् २००२ मा प्रिमियम मूल्यमा सेयर जारी गरेर पब्लिक कम्पनी बन्ने योजना डाबरले लिएको थियो ।
धितोपत्र बोर्डले भने डाबरलाई प्रिमियम मूल्यमा सेयर जारी गर्न दिएन । धितोपत्र बोर्डमा त्योबेला काम गरेका कर्मचारीहरुका अनुसार रुक्म शमशेर आफैले पनि डाबरको सेयर पब्लिकलाई दिनको लागि योजना बनाएको बताउँछन् ।
तर, बोर्डको प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न नदिने नीतिका कारण डाबर नेपालले पब्लिकलाई सेयर जारी गरेन । अर्थात् राणाको पब्लिकलाई सेयर जारी गर्ने सपना भने पूरा हुन सकेन ।
व्यवसायदेखि खेलकुद तथा राजनीतिक रुपमा सक्रिय
सुवर्ण शमशेरको कान्छो छोरा भएको हुँदा स्वभाविक रुपमा रुक्म शमशेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । कलकत्ता विश्वविद्यालयबाट इतिहासमा स्नात्तोतर तह उत्तीर्ण उनी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य बनेका थिए । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको भूमिका समेत निभाएका राणाले नेपाल ओलम्पिक कमिटिमा दुई कार्यकाल अध्यक्षको रुपमा काम गरेका थिए । साथै राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका रुपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए । ,
नेपाल भारत उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा समेत काम गरेका राणाले सन् २००९ देखि २०११ सम्म भारतमा नेपाली राजदूतको रुपमा समेत काम गरेका थिए ।