धागोको निर्यातमा किर्तिमान, लक्ष्य पहिलो नम्बर



काठमाडौं । नेपाली उद्योगहरूले धागो (पोष्टिर, कटन र अन्य) मा कीर्तिमानी निर्यात गरेका छन् ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामै धागोको अप्रत्याशित निर्यात बढेकाले कीर्तिमानी व्यापार गरेको हो । कोरोना महामारीकै समय भए पनि उद्योगीहरूले धागो उत्पादन गरी पर्याप्त निर्यात गरेको सरकारी तथ्याङ्कले देखाउँदछ ।

चालु आव साउन महिनाको तथ्याङ्क हेर्ने हो भने एक महिनाको अवधिमा १ अर्ब बढीको धागो निर्यात गरेको छ । जुन हालसम्मकै उच्च निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

विभागको तथ्याङ्क अनुसार चालु आवको साउन मसान्तसम्ममा नेपालबाट १ अर्र्ब १० करोड ११ लाख रुपैयाँ बराबरको ४१ लाख ६४ हजार केजी धागो निर्यात गरेको छ । सोही अवधिमा गत वर्ष नेपालले ५५ करोड २५ लाख रुपैयाँको २५ करोड ७७ हजार केजी मात्रै धागो निर्यात गरेको थियो ।

गत वर्षको तुलनामा चालु आवमा ९९.३ प्रतिशतले बढेको देखिन्छ । चालु आवको पहिलो महिनामा निर्यात भएको हालसम्मकै उच्च रहेको छ ।

चालु आवको पहिलो महिनामा नेपालबाट मुख्य निर्यात भएका वस्तुहरूमध्ये तेस्रोमा धागो रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कले देखाउँदछ । नेपालबाट निर्यात हुने धागोको ठूलो हिस्सा भारतको छ । त्यसपश्चात साउनमा नेपालबाट निर्यात हुनेमा टर्की र दक्षिण कोरिया रहेको छ ।

नेपाली उद्योगीले उत्पादन गरेको धागाको ठूलो हिस्सा भारत रहेकाले एक महिनाको अवधिमा ८४ करोडको ३३ लाख ७ हजार केजी धागो भारततर्फ निकासा गरेको छ । भारतपश्चात उत्पादित धागो निर्यात गर्नेमा टर्की रहेको छ । टर्कीमा साउन महिनामा नेपालले २६ करोड रुपैयाँ बरारबरको ८ लाख ५६ हजार ५ सय केजी धागो निर्यात गरेको छ ।

साथै दक्षिण कोरियामा १ लाख ३९ हजारको मात्रै ९९ केजी धागो निर्यात गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ । धागोको निर्यातमा सीमित देशहरू भएपनि उल्लेखनीय निर्यात भएको सकारात्मक पक्ष रहेको व्यवसायीहरू बताउँछन् ।

नेपालले कोरोनाकै समयमा उल्लेखनीय निर्यात गरे पनि सिमित देशमा मात्रै निर्यात गर्दै आएकाले नेपाली उद्योगीहरूले अन्य देशमा पनि बजार खोज्ने प्रयास भइरहेको उद्योगीहरूले जनाएको छ ।

नेपाल धागो उत्पादक संघका अनुसार नेपालमा ७ वटा उद्योग रहेको भएपनि सरकारी लगानीसमेत भएको बुटवल धागो कारखाना बन्द भएपछि स्पिनिङ गरी धागो उत्पादन गर्ने हाल ४ वटा उद्योग सञ्चालनमा रहेको जनाएको छ ।

संघका आबद्धमध्ये रिलायन्स, त्रिवेणी, जगदम्बा र जय स्पिनिङ मिल्स रहेको छ । १५ अर्ब पूँजीगत लगानी रहेको उद्योगहरूको वार्षिक ७० हजार मेट्रिक टन क्षमता रहे पनि सो उद्योगीहरूले ४५ हजारदेखि ५० हजार मेट्रिक टन वार्षिक उत्पादन गर्दै आएका छन् ।

उत्पादित धागोमध्ये ७५ प्रतिशत निर्यात हुन्छ भने २५ प्रतिशत नेपालमा खपत हुने गर्दछ । स्वदेशमा उत्पादन हुने धागोको २५ प्रतिशत मात्र स्वदेशमा खपत हुने भएका कारण बिक्रीको लागि विदेशमा नै भरपर्नु पर्ने र विदेशमा ठूला–ठूला राष्ट्रका उत्पादहरूसँग प्रतिस्पर्धा गर्नु नेपाली उद्योगको बाध्यता रहेको जनाएको छ ।

‘विद्युतको समस्या नभएको भए निर्यातित वस्तुमा पहिलो नम्बरमा हुन्थ्यो’

पवन गोल्यान

नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले नेपालबाट निर्यातित वस्तुमध्ये धागोको ठूलो योगदान रहेको बताए । नेपालबाट वार्षिक ८ अर्ब बराबरको धागो निर्यात गर्दै आएको र सरकारलाई ठूलो महशुल बुझाउँदै आएको बताएका छन्

त्यस्तै गोल्यानले विद्युतको समस्या नभएको भए निर्यातित वस्तुमध्ये पहिलो नम्बरमा हुने बताएका छन् । गोल्यानले भदौ २२ गते आयोजना गरेको पत्रकार सम्मेलनमा धागो उद्योग निर्यातित उद्योगमध्ये एक रहेको भन्दै विद्युतको कारणले क्षमता बढाउन नसकेको बताएका थिए ।

‘२० वर्षदेखि निर्यात गर्दै आएको धागो उद्योगमा विजुलीको समस्या नआएको भए आज निर्यात हुने वस्तुमा धागो पहिलो नम्बरमा हुन्थ्यो,’ उनले भनेका थिए, ‘२०७६ सालदेखि बिजुलीमा समस्या आएपछि उत्पादनमा पाइपलाइनमा रहेको अगाडि बढायौं । तर अन्यलाई रोकेको अवस्था छ ।’

धागो उद्योगमा बिजुलीको निकै ठूलो योगदान रहेको छ । संघले डेडिकेटेड फिडर र ट्रंकलाइन सुविधा लिएका उद्योग तथा प्रतिष्ठानहरुबाट नेपाल विद्युत् प्राधिकरणले कुनै आधार र प्रमाण बिनै महशुल असुल्न खोजेको आरोप लगाएका थिए ।

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन सम्बन्धमा अव्यबहारिक र असान्दर्भिक निर्णय गरेको भन्दै संघले लोडसेडिङको समयमा उद्योगहरुले अतिरिक्त विद्युत् खपत गरेको विवरण देखाउन चुनौतीसमेत दिएका थिए । उक्त समस्याले गर्दा निर्यातित धागोमा समेत असर परेको उनको भनाइ थियो ।

पाँच वर्षमा कति निर्यात ?

भन्सार विभागको तथ्याङ्क अनुसार २०७३/७४ सालदेखि धागो निर्यात निरन्तर बढेको देखिन्छ । सो वर्ष नेपालले ६ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको नियात गरेको थियो । त्यस्तै आव २०७४/७५ मा निर्यात बढेर ८ अर्ब २६ करोड २३ लाखको र आव २०७५/७६ मा ९ अर्ब २६ करोड २३ लाखको निर्यात गरेको थियो ।

तर २०७६/७७ मा कोरोना महामारीका कारणमा उद्योग सञ्चालन गर्न नसक्दा उत्पादनमा प्रभाव परी निर्यात घटेको देखिन्छ । सो वर्ष नेपालबाट ७ अर्ब २५ करोड ९ लाखको निर्यात भएको तथ्याङ्कले उल्लेख गरेको छ । साथै गत वर्ष पनि कोरोनाको प्रभाव परे पनि उद्योगीहरूले आफ्नो क्षमता बढाएर ८ अर्ब ५२ करोड ९२ लाख रुपैयाँको निर्यात गरेको उद्योगीहरूले बताएका छन् ।


क्लिकमान्डु